पर्यटन प्रर्वद्धनका लागि कार्यक्रम

विदुर–आन्तरिक पर्यटन प्रवद्र्धनको मुल उद्धेश्यसहित नुवाकोटको वट्टारमा लायन्स क्लबको विशेष कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई नेपालको चौथो क्याबिनेट वैठक सम्पन्न भएको हो ।
लायन्स क्लब इन्टरनेशनलका एलसिआइएफ एरिया लिडर लायन राजन लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख वक्ता पशुपतिनाथ मन्दिरका पूर्व मूलभट्ट प्रा. डा. बिष्णु दाहालले जीवन दर्शनको बारेमा आफ्नो प्रवचन व्यक्त गरे । उनले सामाजिक सेवावाटै जीवन सफल हुनेसमेत धारणा राखे ।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा बोगटी, विदुर ४ का वडाध्यक्ष नीलमबाबु ढुङ्गेलको उपस्थितिमा लायन्स क्लबका डिष्ट्रिक्ट गभर्नर लायन विनोद ढुङ्गानाको अध्यक्षतामा क्याबिनेट बैठक सम्पन्न भएको हो । देशभरबाट करिब सातसय लायन लिडरहरु र क्लबका पदाधिकारीहरु बैठकमा सहभागी हुन नुवाकोट आएका थिए ।
कार्यक्रम अगाडि सहभागीहरुले प्रभातफेरी गरि बट्टारबजार परिक्रमा गरेका थिए । लायन्स क्लबको क्याबिनेट मिटिङ नुवाकोटमा हुदा नुवाकोटको पर्यटन प्रबद्र्धनमा टेवा पुगेको लायन्स क्लबका डिष्ट्रिक्ट कोर्डिनेटर तथा चौथो क्याबिनेट मिटिङका संयोजक अनुजकुमार श्रेष्ठले बताए ।
यस प्रकारको कार्यक्रमहरुबाट आन्तरिक पर्यटन प्रवद्र्धन भई व्यवसायिक चलायमान हुने भएकोले नियमित रुपमा यस्ता कार्यक्रमहरु जिल्लामा भित्राउन सबै क्रियाशील हुनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीहरुले नुवाकोटको साततले दरवार, प्रसिद्ध देवीघाट, त्रिशूलीलगायतका स्थानको पर्यटकिय यात्रासमेत गरेका छन् ।