लोपोन्मुख घाटु नांच मेलाको तयारी

स्थानीयवासी भए संस्कृति संरक्षणमा जागरुक
देवचन्द्र भट्ट
२०८२ बैशाख २८, आईतवार १९:३३

विदुर–सदियौं पुरानो संस्कृति संरक्षण जागरुकता देखाउंदै नुवाकोटको माझिटारमा घाटु नाच जात्रको विशेष तयारी गरिएको छ । चण्डि पूर्णिमाको अवसरमा गरिने घाटु नाचको छुट्टै पहिचान र विशेषता रहेको छ ।
प्रत्येक वर्ष विदुर नगरपालिका–५ माझिटारस्थित रक्तकाली मन्दिरमा घाटुनाच जात्रा हुने गरेको छ । स्थानीय युवा, वृद्धवृद्धा जागरुक भएर आफ्नो ठाउंको चिनारीमा जोडतोडले लागिरहेका छन् ।
रक्तकाली मन्दिर परिसरमा सदियौं वर्ष अगाडिदेखि प्रत्येक बर्ष चण्डीपूर्णिमाको अवसरमा तीन दिनसम्म भव्य रुपमा घाटु नांच हुने गरेको छ । विगतका वर्षहरूमा झै यसवर्ष पनि चण्डी पूर्णिमाका दिन विशेष रुपमा घाटुजात्रा जात्रा व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्र अर्यालले जानकारी दिए ।
यसवर्ष वैशाख २९ गते बेलुका चण्डी पुजा र ३० गते मंगलवार दिउँसो घाटु जात्रा हुने भएकाले विशेष रुपमा तयारी गरिएको उनले वताए । जात्राका लागि विदुर नगरपालिकाको सहयोगमा रक्तकाली मन्दिर परिसरको स्तरोन्नती र साजसज्जा गरिएको छ ।
जात्राका लागि आवश्यक घाटु नृत्यको अभ्यास भइरहेको उनले जानकारी दिए । चण्डीपूर्णिमाको अवसरमा स्थानीयवासीले सदियौं पहिले कसैलाई पनि रोग नलागोस् भन्ने उद्देश्यले दुईजना कन्यालाई राजारानी बनाएर १५ दिनसम्म लामो भाकामा बृद्धहरुले गीत गाउंदै किशोरी नचाउने नाँच नै घाटु नाँचको रुपमा लिइएको छ ।
घाटुनाँचका लागि गीतको लय जान्ने कोही पनि नभएका कारण यो परम्परा थमौती गर्न गाह्रो भएको स्थानीयवासी राजेन्द्र अर्यालको भनाई छ । मानिसहरुमा विभिन्न रोगव्याधि लाग्ने, मृत्यु समेत हुने, समयमा पानी नपर्ने जस्ता विभिन्न मानविय क्षतिको समस्यालाई न्युनिकरण गर्नका लागि घाटु जात्रासँगै विभिन्न देवीदेवताको पुजा आराधना गरि यो पर्व मनाउँदै आएको स्थानीय बताउँछन् ।
घाटु संस्कृति मगर, गुरुङ र माझी समुदायसँग जोडिएपनि माझिटारमा भने यसमा व्राम्हण क्षेत्री समुदायको सुाथमा सबैको समान सहभागिता रहने गरेको वडाध्यक्ष लीलानाथ न्यौपानेको भनाई छ । नुवाकोटकै लिखु गाउँपालिका–१ खानिगाउँमा पनि मगर समुदायले घाटु नाच मनाउँदै आइरहेका छन् ।


सर्वाधिक रुचाइएको