माओवादी वेलकोटगढीले वुझायो ज्ञापनपत्र

मेयरलाई दिए सात वुंदे मागपत्र
लोकखबर
१ जेष्ठ २०८२, बुधबार १७:०७

विदुर–विभिन्न माग राख्दै माओवादी केन्द्र बेलकोटगढीले वाघखोरस्थित वेलकोटगढी नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । विभिन्न सात वुंदे मागसहित माओवादीको नगर कमिटिले मेयर जगतवहादुर गुरुङलाई ज्ञापनत्र पत्र वुझाएका हुन् ।
माओवादी केन्द्र बेलकोटगढी नगर कमिटीका उपाध्यक्ष हरि बजगाई र सचिव शम्भु सिग्देलको नेतृत्वमा मेयर जगतबहादुर गुरुङ, उपमेयर शिवप्रसाद दाहाल र प्रमुख प्रशासकीय अधिकृतलाई ७ बुँदे ज्ञापन पत्र बुझाएको हो । ज्ञापनपत्रमा विकास निर्माण, सामूहिक एकता, जनप्रतिनिधिको कार्यसम्पादसंग जोडिएका विषयलाई केन्द्रीत गरिएको छ ।
सो नपाकोे शिक्षा क्षेत्रमा बेथिति भएको, किसानलाई रासायनिक मलको सहज उपलब्धता नगराएको, कर्मचारीलाई निष्पक्ष रुपमा काम गर्ने वातावरण नदिएको, शिक्षकलाई गैह्रकानूनी रुपमा श्रोत व्यक्तिको रुपमा नगरपालिकाको कार्यालयमा कर्मचारीको रुपमा राखेर सट्टा शिक्षक मार्फत विद्यालय सञ्चालन गर्दै आएको लगायतका माग गरिएको छ । दुई पाटी काँग्रेस र माओवादी केन्द्र गठबन्धनवाट चुनाव भएको ३ वर्ष पुगेको दिनमा नै बेलकोटगढीमा माओवादीले ज्ञापनपत्र वुझाएको हो ।
माओवादी नगर कमिटिका पदाधिकारीहरुले हस्ताक्षर गरि बुझाइएको ज्ञापनपत्रमा विगतमा उपमेयर शिवप्रसाद दाहालका विषयमा सार्वजनिक भएको अडियोका विषयमा छानविन गर्दै सार्वजनिक सुनुवाईमार्फत सार्वजनिक गर्नुपर्ने, नगरक्षेत्रभित्र रहेका ढुंगा, बालुवाखानीलगायतका जनप्रतिनिधिले नै कमिशन मागेको, सरुवा भएका शिक्षकप्रतिनिधिलाई सरुवा हुनबाट रोक्ने प्रयास भएको, कर संकलन नभएको, बहुमतका आधारमा कांग्रेसले काम गर्न नदिएको लगायतका विषय समेटिएका छन् । माओवादीले शिक्षा शाखामा कार्यरत शिक्षक बद्रीप्रसाद शर्मा बढुवा भएसँगै स्वभाविक रुपमा भएको सरुवालाई कांग्रेसले रोक्न खोजेको आरोप लगाइएको छ ।
नगरपालिकाभित्र राहतमा कार्यररत शिक्षकहरुले स्थायीमा नाम निकालेपछि रिक्त स्थानमा शिक्षक नियुक्ति गर्ने विषयसमेत सोही घटनाबाट पेचिलो बनेको छ । माओवादीले कर संकलनका विषयमा पनि कुरा उठाएको छ ।
कांग्रेसले भने आफ्ना मान्छेलाई विना कर सडक निर्माणका नाममा गिटी, बालुवा उत्खननमा छुट दिएको आरोप लगाएको छ । कांग्रेसले विद्यालय व्यवस्थापन समितिमा माओवादीले आफ्ना मान्छे अध्यक्ष हुन नमिल्ने ठाउँमा अन्य दललाई नदिएर अल्झाएको आरोप लगाएको छ ।
माओवादी केन्द्रले बुझाएको ज्ञापनपत्र बुझ्दै मेयर जगतवहादुर गुरुङले आफूले यसअघि कांग्रेसलाई व्यक्त गरेको प्रतिवद्धता अनुसार नै आफूले नगरपालिकाले गरेका कामलाई सार्वजनिक सुनुवाईमार्फत सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् । तनि वर्ष अगाडिको स्थानीय तहको निर्वाचनमा वेलकोटगढीमा मेयर माओवादी र उपमेयर कांग्रेसले लिने सहमति अनुसार भागबण्डा भएको थियो ।
सोहि आधारमा मेयरमा माओवादीका गुरुङ र उपमेयरमा कांग्रेसका शिवप्रसाद दाहालले जितेका थिए । तर, पछिल्लो समय केन्द्रीय राजनीतिको फेरबदलका कारण स्थानीय तहमा पनि कांग्रेस माओवादीबीच द्वन्द्व सुरु भएको छ ।
आफ्नै पार्टी र पार्टीको समर्थनमा चुनाव जितेका जनप्रतिनिधिको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै दुबै पाटीको नगर कार्यसमितिको आयोजनामा सो नगरपालिकामा छुट्टाछुट्टै ज्ञापन पत्र बुझाइएका हुन् । कुनैबेला सँगै निर्वाचन लडेर जनताको मत लिएका कांग्रेस र माओवादी पछिल्लो समय एकअर्काप्रति कटाक्ष गर्न थालेका छन् ।
बेलकोटगढी नगरपालिकामा गत निर्वाचनमा गठबनधन गरेका दुईदलबीच पछिल्लो समय देखिएको विवादका कारण विकास निर्माणको काममा समेत प्रभाव पर्न थालेको छ । कांग्रेसले मेयर गुरुङले कार्यकारी भूमिका प्रयोग गर्दै बहुमतप्राप्त नेतृत्वलाई वेवास्ता गरेको र नगरपालिकालाई उचित रुपमा सञ्चालन गर्न नसकेको लगायतका विभिन्न माग राखेर ध्यानाकर्षणपत्र बुझाएको केही घण्टापछि माओवादीले पनि कांग्रेसले बहुमतका दम्भका आधारमा मेयरलाई काम गर्न नदिएको भन्दै ज्ञापनपत्र बुझाएको हो ।
कांग्रेसले मेयरले कार्यकारी अघिकार प्रयोग गर्दै बहुमतलाई दवाव राख्न खोजेको आरोप लगाएको छ भने माओवादीले बहुमतको दम्भ देखाउँदै मेयरलाई काम गर्नबाट रोक्न खोजेको आरोप लगाएको छ । कांग्रेस माओवादीको द्वन्द्वका कारण वेलकोटगढी नपामा विकास निर्माणलगायतका विभिन्न कार्य प्रभावित हुन नहुने सर्वसाधारणको माग रहेको छ ।