विदुरमा प्रविधियुक्त ठेगाना प्रणाली जडान

लोकखबर
२०८२ असार २१, शनिबार १५:३५

विदुर–नुवाकोटको विदुरमा प्रविधियुक्त ठेगाना प्रणाली जडान गरिएको छ । यसवाट घर पहिचानमा सुविधा पुग्ने जनाइएको छ ।

आधुनिक, छिटो, छरितो तथा सुरक्षित रुपमा सेवा दिएर नगरबासी तथा सेवाग्राहीको जीवनशैलीलाई थप सहज र आधुनिक बनाउने लक्ष्य अनुरुप विदुर नपाले सो कार्यको सुरुवात गरेको हो । हाल परीक्षणको रुपमा विदुरं ४ मा डिजिटल ठेगाना प्रणालीको सुरुवात गरिएको छ ।

विदुर नपाका मेयर राजन श्रेष्ठले विदुर नपाकै विदुरस्थित प्रमुख प्रशासकीय भवनमा डिजिटल ठेगाना प्रणालीको प्लेट टाँस गरेर यसको सुरुवात गरेका छन् । यस कार्यक्रम सञ्चालनमा आएसगैँ विदुर ४ मा रहेका घरवस्ती तथा समुदायहरु गुगलप्लसमा आधारित ठेगाना पहिचानका लागी प्रयोग भइरहेको ’कता हो’ मोबाइल एप्समा समावेश भएको छ ।
नुवाकोटको मदानपुरमा जन्मिएर दुई दशकदेखि प्रविधि अनुसन्धानमा संलग्न अनुसन्धानकर्ता रामलक्ष्मण रिमालले प्रवद्र्धन गरेको उक्त प्रविधिले विदुर नगरबासीको घरको पहिचान, विपतमा उद्धार, शान्ति–सुरक्षा तथा सरकारी सेवा प्रवाहमा सहजता आउने मेयर राजन श्रेष्ठले वताए । उक्त डिजिटल ठेगाना प्रणालीलाई निकै प्रभावकारी मानिएकाले विदुर ४ का आठसय ४० भन्दाबढी घरमा जडान गर्न सुरु गरिएको छ ।

डिजिटल ठेगाना प्रणाली कार्यक्रम सञ्चालनको अवसरमा विदुर नपाकी उपमेयर प्रभा बोगटी, प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, विदुर ४ का अध्यक्ष नीलमबाबु ढुङ्गेललगायत विभिन्न वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा निर्वाचित जनप्रतिनिधि, अनुसन्धानकर्ता लक्ष्मण रिमाललगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।


सर्वाधिक रुचाइएको