वृद्धवृद्धा तथा अशक्तलाई परिचय पत्र शिविर

– गाउंवासीलाई सुविधा
देवचन्द्र भट्ट
२०८२ भाद्र ६, शुक्रबार २१:२९

बिदुर–वृद्धवृद्धा तथा अशक्तहरुको सुविधाका लागि नुवाकोटको तादीमा राष्ट्रिय परिचयपत्र विवरण संकलन शिविर गरिएको छ । यसवाट सदरमुकाम विदुरसम्म जान नसकेका अशक्त, वृद्धवृद्धा तथा विरामीहरुलाई निकै सुविधा पुगेको छ ।

तादी गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको प्राविधिक सहयोगमा तादीको तामेमा दुई दिनसम्म वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र शिविर सम्पन्न भएको हो । यसवाट गाउंमै राष्ट्रिय परिचयपत्र शिविर गरिदा सामाजिक सुरक्षा वापतको भत्ता तथा अन्य कार्यका लागि सहज भएको छ ।

विशेष गरि ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरुलाई प्राथमिकता दिएर तादीमा राष्ट्रिय परिचयपत्र शिविर सम्पन्न गरिएको हो । सदरमुकाम पुग्न नसक्नेहरुका लागि शिविरमै विवरण संकलन गरिएको छ ।
तादी गापा ४ नं. वडा कार्यालय तामेमा सन्चालन गरिएको शिविरमा एक सय २८ जनाको राष्ट्रिय परिचय पत्र विवरण संकलन गरिएको वडाध्यक्ष अस्विनकुमार पाण्डेले जानकारी दिए । शिविरमा ६० प्रतिशत वृद्धवृद्धा, अपांगता भएका तथा अशक्त नागरिकहरुको सहभागिता रहेको थियो ।

यसका साथै हाल सामाजिक सुरक्षा भत्ताको नाम दर्ता र नवीकरण कार्य पनि भइरहेकाले वडामा सम्पर्क गर्न उनले आग्रह गरिएको छ । गाउँपालिकाले सहज, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न सन्चालित शिविरमा प्राविधिक तथा सेवाग्राहीहरुलाई आवश्यक सहयोग गरेको छ ।

सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता र यसको नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हुँदा अपांगता भएका र ज्येष्ठ नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय विदुरसम्म धाउनु नपरोस् भन्ने उद्धेश्यले सञ्चालन गरिएको शिविरवाट सर्वसाधारणले सुविधा पाएको तादी गापाकी उपाध्यक्ष सन्जु प्याकुरेलश्रेष्ठको भनाई छ ।

तादी गापाका सवै ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरुलाई लक्ष्यित गरि राष्ट्रिय परिचयपत्र शिविर सञ्चालन गरिसकिएको गापा अध्यक्ष सन्तमान तामाङले वताए । उनका अनुसार शिविरमा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूले विशेष प्राथमिकता दिइएको थियो भने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको बायोमेट्रिक प्रमाणिकरणबाट मात्र नवीकरण गर्ने कार्य तादी गापाको कार्यालय तथा ६ वटै वडा कार्यालयबाट सेवा प्रदान गरिएको थियो ।

 


सर्वाधिक रुचाइएको