एकैपटक ६० वटा चलचित्र हल निरीक्षण

बिदुर–चलचित्र विकास बोर्डले काठमाडौ वारिहका विभिन्न चलचित्र भवनको स्थलगत निरीक्षण गरेको छ । अनुगमन टोलीले बक्स अफिस प्रणालीकोसमेत अनुगमन गरेको छ ।
बोर्ड सदस्य गणेश सुबेदीसहितको टोलीले विभिन्न जिल्लामा गरी ६० वटा चलचित्रघर निरीक्षण गरेको हो । अनुगमनका क्रममा अधिकांश हलले बक्स अफिस प्रणाली अनुसार टिकट बिक्री गरिरहेको पाइएको जनाइएको छ ।
दुई वटा सिंगल थिएटरमा भने ‘सिस्टम बिग्रिएको’ जनाउंदै म्यानुअल टिकट बिक्री भइरहेको फेला परेको हो । बोर्डलाई जानकारी नदिई म्यानुअल टिकट बिक्री गरेकाले ती हललाई नियमानुसार दण्ड–जरिवाना गरिएको बोर्डले जनाएको छ ।
यसअघि, गत २०८१ साल मंसिरमा १४ जिल्लामा गरिएको अनुगमनका क्रममा अवैधानिक रूपमा सञ्चालन भइरहेका ९ हल कारबाहीमा परेका थिए । त्यस वेला ३ हलमा जिल्ला प्रशासनको समन्वयमा ताला लगाइएको थियो ।
बोर्डका अनुसार नियमित अनुगमनले चलचित्रघर नियमनमा रहने, शुल्क समयमै बुझाउने र बक्स अफिस प्रणालीको कार्यान्वयन प्रभावकारी हुने देखिएको छ । एक सातासम्म चलचित्र घरमा गरिएको अनुगमनमा टोलीले सरकार र वोर्डले वक्स अफिसलगायत चलचित्रको विकास र प्रवद्र्धनका लागि गरेको निर्णयहरु कार्यान्वयन गर्न निर्देशन दिइएको अध्यक्ष दिनेश डिसीको भनाई छ ।