सिनेपाः स्टुडियोका लागि सम्झौता

बिदुर– सरकारले बनेपामा निर्माणाधिन ‘सिनेपाः’ स्टुडियोको निर्माण कार्य जारी रहेको छ । स्टुडियो निर्माणका लागि सरकारी अनुदान सम्झौता गरिएको छ ।
नेपाली चलचित्र उद्योगको पूर्वाधार सुदृढीकरणका लागि नेपाल सरकारले बनेपामा निर्माणाधीन अत्याधुनिक ‘सिनेपाः’ स्टुडियोका लागि प्रदान गर्ने तीन करोड रुपैयाँ अनुदानको शुक्रवार सूचना तथा संचार प्रविधि मन्त्रालयका द्विपक्षिय सम्झौता भएको छ । उक्त सम्झौतामा मन्त्रालयका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीबीच द्विपक्षिय सम्झौता भएको छ ।
अत्याधुनिक छायांकन, ध्वनि, सम्पादन र भिएफएक्स सुविधासहितको निर्माणाधिन उक्त स्टुडियोले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको छ । सम्झौतामा चलचित्र विकास बोर्डका लेखा अधिकृत प्रभाकर भट्टराई र योजना अधिकृत गिरीश शर्मालगायतको सहभागिता रहेको थियो ।
सरकारको अनुदानमा चलचित्र विकास बोर्डले वनेपा नगरपालिका–१०, जनगल, काभ्रेमा निर्माणाधिन अत्याधुनिक इन्डोर फिल्म स्टुडियो ‘सिनेपाः को निर्माण भइरहेको छ । सूचना तथा संचार प्रविधि मन्त्रालयका योजना, अनुगमन तथा मूल्याङ्कन शाखाका उपसचिव रामकृष्ण अर्याल र चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीवीच सम्झौता हस्ताक्षर र पत्र आदान प्रदान कार्यक्रम औपचारिक रूपमा सम्पन्न भएको हो।
नेपाली चलचित्रको विकास र विस्तार गर्ने उद्धेश्यले वनेपामा धमाधम वनेपामा ‘सिनेपाः’ इन्डोर फिल्म स्टुडियो निर्माण भइरहेको बोर्डका अध्यक्ष डिसीले जानकारी दिए ।उनका अनुसार, ‘सिनेपाः’ नेपालको ठुलो इन्डोर सुटिङ स्टुडियो रहेको छ । यसवाट चलचित्रको विकास र विस्तारमा योगदान पुग्ने लक्ष्य रहेको छ ।
नेपालमा हाल सरकारी स्वामित्वमा वनिरहेको उक्त स्टुडियो पहिलो रहेकोसमेत अध्यक्ष डिसीले बताए । कुल ४२ रोपनी क्षेत्रफलमा निर्माणाधिन उक्त स्टुडियोले स्वदेशी चलचित्रका निर्मातालाई आधुनिक प्रविधियुक्त, गुणस्तरीय र लागतमैत्री छायांकन स्थल उपलब्ध हुने जनाइएको छ ।
वर्षौंदेखि योजनामा रहेको उक्त कार्यको निर्माण चरण धमाधम भइरहेको छ । सिनेपाः को निर्माणले नेपाली चलचित्र उद्योगमा आधुनिक सुटिङ पूर्वाधारको खाँचो पुरा गर्दै अन्तर्राष्ट्रिय मापदण्डको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको चलचित्र विकास वोर्डले जनाएको छ ।