झण्डै दुई सय चलचित्रकर्मीलाई एकैपटक परिचय पत्र प्रदान

– २० वर्ष वढि कार्यरतलाई परिचय पत्र
लोकखवर मनोरन्जन संवाददाता
२०८२ आश्विन ३१, शुक्रबार १९:०५

बिदुर- एकै पटक झण्डै दुई सय चलचित्रकर्मीहरुले परिचय पत्र प्राप्त गरेका छन् । चलचित्र क्षेत्रमा २० वर्षदेखि आवद्ध विभिन्न विद्यााका चलचित्रकर्मीहरुलाई परिचय पत्र प्रदान गरिएको हो ।

चलचित्र विकास बोर्डले शुक्रवार विशेष कार्यक्रमका बीच एकैपटक एकसय ७८ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरेको हो । २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका ति चलचित्रकर्मीहरूलाई बोर्डले सम्मानस्वरुप परिचयपत्र प्रदान गरेको हो ।

वोर्डको सभा हलमा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव कोषहरी निरौलालगायतले परिचयपत्र प्रदान गरेका थिए । यसअघि ३० वर्षभन्दा बढी समय चलचित्र क्षेत्रमा योगदान दिएका कलाकार, निर्देशक, प्राविधिक र अन्य क्षेत्रका ८८ जना व्यक्तिहरूलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’प्रदान गरिएको थियो ।

बोर्डले यसै आर्थिक वर्षदेखि विशिष्ट चलचित्रकर्मीहरूका लागि वार्षिक एकलाख ५० हजार रुपैया बराबरको स्वास्थ्य उपचार बीमा तथा सामान्य चलचित्रकर्मीहरूका लागि ७५ हजार रुपैया बराबरको स्वास्थ्य बीमा सुविधा सुरु गरेको छ । अध्यक्ष डिसीले नेपालको चलचित्र क्षेत्रमा आवद्ध विभिन्न विद्याका चलचित्रकर्मीहरुलाई एकैपटक परिचय पत्र प्रदान गर्न पाउनु एउटा सफलतासमेत भएको वताए ।

अध्यक्ष डिसीले चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गर्नु केवल औपचारिकता नभई पेशागत पहिचान र अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउने कदम भएको बताए । उनले अगाडि भने–चलचित्रकर्मीको पहिचान, सामाजिक सुरक्षा र प्रतिष्ठाको संरक्षणका लागि बोर्ड निरन्तर क्रियाशीलताका साथ चलचित्रको विकास, प्रवद्र्धन तथा पहिचानका लागि प्रतिबद्ध रहेको छ ।

उक्त अवसरमा चलचित्र क्षेत्रका वरिष्ठ कलाकार, निर्देशक, निर्माता तथा प्राविधिकहरूको सहभागिता रहेको थियो । हालसम्म ३० वर्ष चलचित्र क्षेत्रमा योगदान गरेका दुई सय ६० जना चलचित्रकर्मीहरुले उक्त कार्ड प्राप्त गरिसकेको चलचित्र विकास वोर्डले जनाएको छ ।

यस बर्षदेखि घटीमा २० वर्ष चलचित्र क्षेत्रमा योगदान गरेका चलचित्रकर्मीहरुले समेत वार्षिक ७५ हजार रुपैया वरावरको औषधी उपचार वीमा प्राप्त गर्ने गरी शुक्रवारसमेत गरि दुई सय ६८ जना चलचित्रकर्मीले परिचय पत्र प्राप्त गरिसकेका छन् । छुट भएका चलचित्रकर्मीले उक्त कार्ड प्रक्रिया पुरा गरेर निरन्तर प्राप्त गर्ने जनाइएको छ ।


सर्वाधिक रुचाइएको