न्यु भिजनले उचाल्यो अर्चले कप खुल्ला फुटवलको उपाधि
बिदुर-खेलको प्रवद्र्धन र खेलाडिहरुको उत्थान गर्ने उद्धेश्यले नुवाकोटको वेलकोटगढीमा आयोजित सेभेन ए साईड छैटौं देउराली अर्चले कप खुल्ला फुटबल प्रतियोगिता सम्पन्न भएको छ । गत असोज ३० गते विहीवारदेखि सुरु भएको प्रतियोगिता मंगलवार फाइनल खेलसंगै समापन भएको हो ।
खेलको विकास तथा विस्तार र खेलाडिहरुको संरक्षणका लागि नुवाकोटको पुर्वी भेग बेलकोटगढीको अर्चलेमा सन्चालित छैटौँ देउराली अर्चले कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि न्यु भिजन युवा क्लव रातमाटेले जितेको हो । आयोजक कन्चना देउराली युवा क्लबलाई घरेलु मैदानमा पराजित गर्दै न्यु भिजनले उपाधि उचाल्न सफल भएको हो ।

आकर्षक र प्रतिस्पर्धात्मक खेलमा न्यु भिजनले एकका विरुद्ध दुई गोल गरि आयोजक कन्चना देउराली युवा क्लवलाई उपविजेतामा सिमित गराउन सफल भएको हो । खेलमा विजयी न्यु भिजनका राजेन्द्र तामाङले निर्णायक गोल गरेका थिए ।
विजेता न्यु भिजनले नगद एकलाख २५ हजार र उपविजेता कन्चना देउरालीले ५० हजार रुपैया नगद पुरस्कार थापेका छन् । दुवै टिमले नगद पुरस्कार साथ ट्रफि, शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् ।

बेलकोटगढी नगरपालिका ६ स्थित अर्चलेमा कन्चना देउराली युवा क्लबको आयोजनामा दीपावलीं २०८२ को अवसर पारेर गत असोज ३० देखि कार्तिक ४ गते मंगलवारसम्म सेभन ए साइड छैटौं देउराली अर्चले कप खुल्ला फुटबल प्रतियोगितामा नुवाकोटका १६ वटा टिमको सहभागिता रहेको हो । प्रतियोगितामा आयोजक कन्चना देउरालीका समुन्द्र थापा सर्वोकृष्ट खेलाडि, उत्कृष्ट गोलरक्षकतर्फ सोही टिमका सुवर्ण वानिया, न्यु भिजनका राजेन्द्र तामाङले सर्वाधिक गोलकर्ता (आठ गोल), मालिका माविका राजेन्द्र तामाङले उदीयमान खेलाडि र समाज कल्याण युवा क्लवले अनुशासति टिमको पुरस्कार जितेको छ ।

विजेता तथा उपविजेता टिम तथा खेलाडिहरुलाई वागमति खेलकुद परिषदका सदस्य सचिव दीपक लामा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङ, वडाध्यक्ष अम्विका तामाङ, वेलकोटगढी नपाकी कार्यपालिका सदस्य गमला लामा, आयोजक कञ्चना देउराली युवा क्लबका संयोजक प्रशन्न थिङलगायतले पुरस्कार वितरण गरे । पुरस्कार वितरण गर्दै प्रमुख अतिथी वागमति खेलकुद परिषदका सदस्य सचिव दीपक लामाले यस प्रतियोगितावाट स्थानीय खेलाडिहरुको पहिचान र प्रवद्र्धनमा मद्धत पुगेको वताए ।

उक्त प्रतियोगिताका लागि १० लाख रुपैया खर्च भएको आयोजकले जनाएको छ । वागमति खेलकुद परिषदले ५५ प्रतिशत वजेट, वेलकोटगढी नपाले तीन लाख, ६ नं. वडा कार्यालयले दुई लाख र वेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङले व्यक्तिगत रुपमा २५ हजार रुपैया उपलव्ध गराएको आयोजक कञ्चना देउराली युवा क्लबका संयोजक प्रशन्न थिङले जनाए ।
उनका अनुसार यसअघि उक्त प्रतियोगिता असोज ९ देखि १३ गतेसम्म सन्चालन हुने तय भएकोमा जेनजी पुस्ताको आन्दोलन र विकसित घटनाक्रमका कारण स्थगित भएको थियो । बेलकोटगढी नगरपालिका ६ मा रहेको उक्त क्लबको आयोजनामा अर्चले खेलकुद मैदानमा प्रतियोगिता सम्पन्न भएको हो ।

क्लवले फुटवल खेललाई ग्रामीण भेगमा गराएर स्थानीय खेलाडिहरुको पहिचान र उत्पादन गर्ने उद्धेश्यले गत २०७५ साल असोजदेखि प्रतियोगिता गराउंदै आएको छ ।
नव प्रतिभाको पहिचान खेल खेलाडि र समुदाय जोड्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ सन्चालित प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ३ हजार, सर्वाधिक गोलकर्तालाई ३ हजार, उत्कृष्ट गोलरक्षकलाई ३ हजार, उदीयमान खेलाडीलाई २ हजार ५ सय र अनुशासित टोलीलाई ४ हजार नगदसहित ट्रफि प्रदान गरिएको संयोजक थिङले वताए । प्रतियोगिताको म्यान अफ दि म्याच राजेन्द्र तामाङलाई नगदसहित ट्रफी प्रदान गरिएको छ ।

प्रतियोगिता दुइपीपलको अर्चलेमा रहेको दरबार मल्लकालीन राजाहरुले शासन गर्ने गरेको इतिहासमा उल्लेख गरिएकाले यसको ऐतिहासिक महत्व दर्शाउन र स्थानीय खेलाडिहरुलाई प्रोत्साहन दिई नव प्रतिभाहरुको पहिचानका लागि क्लबले अर्चलेमै प्रतियोगिता आयोजना गरेर इतिहासलाई चिनाउने प्रयास गरिएको जनाइएको छ । खेलमार्फत खेलाडि, युवा र समाजलाई जोडेर फुटबल खेलको विकास गरि समाजलाई समारात्मक रुपमा अघि बढाउने सकिने स्थानीय खेलप्रेमी रविन दाहालको दावी रहेको छ ।

२०७६ सालमा स्थापना भएको उक्त क्लबले गत वर्ष पनि प्रतियोगिता आयोजना गरेको थियो । स्थानीय खेल पर्यटन, व्यवसाय चिनारी, सभ्य र अनुशासित युवा प्रवद्र्धन गरि युवाहरुलाई संगठित गर्नु प्रतियोगिताको उद्धेश्य रहेको अर्का स्थानीयवासी नारायण नेपालको भनाई छ ।
बेलकोटगढी नपा ६ मा रहेको उक्त खेल मैदान निर्माणका लागि क्लबले समाजिक सञ्जालमार्फत आर्थिक संकलन गरेको थियो । सोही रकमबाट खेल मैदान निर्माणको काम गरिएको थियो ।














































