वन्दीहरुले एकआपसमा भाइटिका कारागारमै लगाए

सामूहिक भोजभतेर र देउसीभैलो खेले
लोकखवर विशेष संवाददाता
२०८२ कार्तिक ६, बिहीबार २२:२५

बिदुर– केन्द्रीय कारागार नुवाकोटका कैदीवन्दीहरुले एक आपसमा खुशीयाली साटासाट गर्दै सामूहिक रुपमा यस वर्षको तिहार पर्व मनाएका छन् । विदुर नगरपालिका ६ खम्पाक्याम्पमा रहेको केन्द्रीय कारागार नुवाकोटमा वन्दी जीवन व्यथित गरिरहेका वन्दीहरुले विहीवार एकआपसमा भाइटीका लगाउनुका साथै सामूहिक रुपमा देउसी भैलो खेलेर यस वर्षको तिहार मनाएका हुन् ।

विभिन्न मुद्धामा कैद सजाय पाएका तथा मुद्धा फैसला नहुन्जेल सम्मका लागि वन्दी जीवन विताइरहेकाहरुले कारागारभित्रै आपसमा रमाइलो गर्दै तिहार मनाएको कारागार कार्यालयले जनाएको छ । कारागारमा वन्दी जीवन व्यथित गरिरहेकाहरुले नै दाजुभाई र दिदीवहिनी मानेर एकआपसमा भाइटीका लगाएको कारागार प्रशासनले जनाएको छ ।
केन्द्रीय कारागारमा रहेका कैदीवन्दीहरुलाई कारागारमै पुगेर विहीवार दिनैभर आफ्ना दिदीवहिनी तथा दाजुभाइले भाइटीका लगाइदिएको केन्द्रीय कारागार प्रमुख तथा जेलर भेषवहादुर कुंवरले जानकारी दिए । कतिपय वन्दीहरुले कारागारमै दाजुभाई तथा दिदीवहिनी मानेर सप्तरंगी टिका लगाए भने वन्दीहरुका दिदीवहिनी पनि कारागारमै आएर भाइटिका लगाइदिएको कुंवरले वताए ।

खम्पाक्याम्पस्थित केन्द्रीय कारागार नुवाकोटमा रहेका ३७ महिलासहित आठसय ८९ जना कैदीवन्दीहरुले एकआपसमा खुसी साटासाट गर्दै दिदीवहिनीसंग भाइटीका लगाएर तिहार पर्व मनाएका हुन् । जेलर कुवरका अनुसार कारागारमा तीन वटा व्लकमा रहेका वन्दीहरुका लागि त्रिपाल हालेर टिका लगाउने प्रवन्ध गरिएको थियो ।
वन्दीहरुले दिनैभर टिकाटालो गर्दै खुशीयालीका साथ मिठा/मिठा परिकारहरु कारागार भित्रै पकाएर बांडीचुडी खांदै र देउसीभैलो खेलेर तिहार मनाएको कारागार कार्यालय नुवाकोटले जनाएको छ । वन्दीहरुले आफ्नो सिदा रकमवाट संकलित रकम संकलन गरेर एउटा रांगो काटेर भोजभतेरसमेत गरेको जेलर कुवरले वताए ।

चाडपर्वका बेला वन्दी जीवन विताइरहे पनि कारागार भित्रै तिहार मनाउंन पाउंदा कैदी वन्दी निकै खुशी भएको नुवाकोट कारागार प्रशासनले जनाएको छ । कारागार परिसरमा सुरक्षाकर्मीको घेरा भित्र कैदी वन्दीहरुलाई आफन्तजनसंग टिका लगाउने व्यवस्था मिलाइएका कारण कतिपय कैदीवन्दीका दिदीवहिनी तथा दाजुभाइले कारागार परिसरमै आएर कतिपयले साइत तथा कतिपयले साइत भन्दा पछाडिको समय वेलुकी रात पर्दासमेत कैदी वन्दीहरुलाई भाइटिका लगाई दिएका हुन् ।
उता, नुवाकोटको छिमेकी रसुवामा वन्दीहरुले तिहारमा भोजभतेर र देउसीभैलो खेलेर रमाइलो गरे । धुन्चेस्थित जिल्ला कारागारमा रहेका एक आश्रित वालक, आठ महिलासहित ९८ जना वन्दीहरुले सिदा वापतको रकमवाट एउटा खसि काटेर भोजभतेरसहित रमाइलो गरेको कारागार प्रशासनले जनाएको छ ।


सर्वाधिक रुचाइएको