फोहोर रोकिएपछि उच्च अधिकारीसहित वन्चरेडांडा पुगे मन्त्रि घिसिङ
बिदुर- पांच दिनदेखि स्थानीयवासीले फोहोर फाल्न रोक लगाएपछि आइतवार सहरी विकासमन्त्रि कुलमान घिसिङसहित उच्च सरकारी अधिकारी नुवाकोटको वन्चरेडांडिा पुगेका छन् । मन्त्रि घिसिङले ककनी गाउंपालिका १ मा रहेको फोहोर फाल्ने स्थानकोसमेत अवलोकन गरे । सरकारी पक्षले पहिले गरेको मागका सम्वन्धमा वेवास्ता गरेको जनाउंदै गत वुधवारदेखि काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा रोक लगाएका थिए । वन्चरेडांडामा काठमाडौ, ललीतपुर, भक्तपुर र काभ्रेकोसमेत फोहोर विसर्जन गरिदै आएको छ ।

फोहोर व्यवस्थापनमा दैनिक समस्या आएको र स्थानीयवासीले सरोकारवाला मन्त्रिसंग फोहोर प्रभावित स्थानमा वार्ता गर्न माग गरेपछि सरकारी अधिकारीसहित मन्त्रि घिसिङ बन्चरेडाँडा पुगेका हुन् । मन्त्री घिसिङले वन्चरेडांडाको अवलोकन गर्नुका साथै स्थानीयवासी, फोहोर प्रभावित जनता, सरोकारवाला, जनप्रतिनिधिसंग फोहोर व्यवस्थापनका सम्वन्धमा अन्र्तक्रियासमेत गरेका हुन् । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या आएपछि त्यसको समाधानको प्रयास गर्न शहरी विकासमन्त्री कुलमान घिसिङ बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमनमा पुगेका हुन् । बन्चरेडाँडा पुगेका मन्त्री घिसिङले सो क्षेत्रमा देखिएका समस्याबारे जानकारी लिएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए ।

उनका अनुसार मन्त्रि घिसिङले फोहोर प्रभावित स्थानीयवासीसंग सरकारी पक्षले विगतमा गरेको माग १५ दिनभित्र पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । मन्त्रि घिसिङको उक्त प्रतिवद्धतासंगै रोकिएको फोहोर व्यवस्थापन आइतवार मध्यान्हदेखि वन्चरेडांडामा फाल्न सुरु गरिएको छ । उपत्यकाको फोहर व्यवस्थापन हुने गरेको ल्यान्डफिल साइट नुवाकोटको पुर्वी भेग बन्चरेडाँडामा छ । तीन दिन अगाडि सरकार पक्ष र नुवाकोटको बन्चरेडाँडाका स्थानीयबीचको वार्ता बिना निष्कर्ष स्थगित भएको थियो ।

बन्चरे डाँडाका क्षेत्रका स्थानीयले फोहोर बोकेका गाडीहरू वुधवारदेखि रोकेपछि सहरी विकास मन्त्रालयले शुक्रवार छलफलका लागि ककनी गाउँपालिका, बेलकोटगढी नगरपालिका, धुनिबेसी नगरपालिका तथा स्थानीय सरोकारवालाई बोलाएको थियो । सरकारी पक्षले पहिलेको लिखित सहमति पालना नगरेको जनाउंदै जनप्रतिनिधि र स्थानीयवासीले सहरी विकास मन्त्री, काठमाडौँ महानगरका प्रमुख तथा अर्थ मन्त्रालयका प्रतिनिधिसहितको वार्ताको माग गरेपछि सो छलफल निष्कर्षविहीन भएको थियो ।

सोही मागको सुनुवाई गर्न सहरी विकासमन्त्रि कुलमान घिसिङ आइतवार वन्चरेडांडा पुगेका हुन् । छलफलमा जनप्रतिनिधि र स्थानीयहरुले विगत २० बर्षदेखिको समस्या समाधान नभएको भन्दै त्यसक्षेत्रका जनताको स्थानान्तरण र विभिन्न समयमा आन्दोलन गरेको भन्दै त्यहाँका स्थानीयलाई लगाइएको सार्वजनिक मुद्धा फिर्ता गरिनुपर्ने माग अघि सारेका छन । मन्त्रिसंग वार्ता भएर आफुहरुका माग कार्यान्वयन नभएसम्म फोहोरका गाडी प्रवेश गर्न नदिने उनीहरुले चेतावनी दिएका थिए । तीन दिन अगाडिको छलफल निष्कर्षविहीन भएपछि आइतवार फोहोर प्रभावित स्थलमै मन्त्रि घिसिङसहितको वार्ता भएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

उनका अनुसार बन्चरेडाँडा क्षेत्रका स्थानीयले गत २०७९ सालमा भएको १८ बुँदे सम्झौता काठमाडौँ महानगरपालिकाले कार्यान्वयन नभएको भन्दै फोहोर फाल्न रोकेका थिए । स्थानीयवासीसंग मन्त्रि घिसिङसहितको छलफलमा ककनी गापा अध्यक्ष सुमन तामाङ सज्जन, धुनीवेसी नपाका मेयर वालकृष्ण आचार्य, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, धादिङका प्रजिअ विजयराज सुवेदी, काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, बन्चरेडाँडा क्षेत्रका स्थानीय जनप्रतिनिधिहरुको सहभागिता थियो ।

काठमाडौंबाट फोहोर लिएर गएका गाडीहरू फोहोर विसर्जन गर्ने स्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध भएपछि पांच दिनदेखि बाटोमै रोकिएका थिए । पछिल्लो समय बञ्चरेडाँडा ल्यान्डफिल साइटका प्रभावित क्षेत्रका स्थानीय र महानगरपालिकाबीच विभिन्न सहमति भए पनि त्यसको पूर्ण कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर विसर्जनमा अवरोध गर्दै आएका हुन् ।

सिसडोलमा लामो समयदेखि सरकार र स्थानीयवासीवीच फोहोर विवाद रहँदै आएको छ । काठमाडौं महानगरपालिकाले स्थानीय बासिन्दासँग गरेका सम्झौता कार्यान्वयन नगरको जनाउंदै स्थानीय बासिन्दाले विगत पांच दिनदेखि आन्दोलन गरिरहेका थिए ।

मन्त्रि घिसिङसंगको छलफलमा १५ दिनभित्र विगतमा गरिएको सहमति र फोहोर व्यवस्थापनको समस्या दीर्घकालीन रुपमा समाधान नभए फेरी फोहोर रोक्ने चेतावनी दिएका छन् । फोहोरका कारण उक्त क्षेत्र दुर्गन्धित हुनुका साथै विभिन्न प्रकारका रोगहरुको समेत सामना गर्नुपरेको ककनी १ का वडाध्यक्ष पदमवहादुर वलामीले वताए ।

















































