अस्पताल सन्चालनका लागि आयोजित महायज्ञ सम्पन्न
बिदुर-त्रिदेशीय मार्ग अन्र्तगत नुवाकोटको महादेवफाँटमा समुदायिक अस्पताल स्थापना र सञ्चालनार्थ आयोजित श्रीमद्भागवत सप्ताह पूर्ण ज्ञान महायज्ञ सम्पन्न भएको छ । उक्त महायज्ञवाट संकलित नगद तथा जिन्सीवाट अस्पताल निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ । वेलकोटगढी नगरपालिका ७ जरुवावगरमा सात दिनसम्म सन्चालित उक्त महायज्ञको मंगलवार समापन गरिएको छ । उक्त महायज्ञमा कुल एक करोड रुपैया नगद संकलन भएको आयोजकले जनाएको छ ।

विभिन्न ६ जना व्यक्तिहरुले अस्पताल सन्चालनका लागि जग्गादानसमेत गरेका छन् । महायज्ञमा सात दिनसम्म चर्चित भागवत वाचक राधिका दासीद्वारा श्रीमद् भागवत कथा प्रवचन गरिएको थियो । आयोजकहरुका अनुसार महायज्ञमा झन्डै १ करोड नगद र ५ रोपनीको हाराहारीमा जग्गा दान प्राप्त भएको छ ।

स्थानीय वृद्ध देवकी नेपालले ४० लाख रुपैया मुल्य वरावरको आठ आना क्षेत्रफलको जग्गा, कल्याण नेपालले ३५ लाख रुपैया वरावरको दुई रोपनी पांच आना जग्गा, ध्रुव नेपालले ३२ लाख रुपैया वरावरको दुई रोपनी जग्गा, चेतनाथ नेपालले नौ लाख रुपैया वरावरको ६ आना जग्गा, पवित्रा ओझाले ६ लाख रुपैया वरावरको चार आना जग्गा र पुरुषोत्तम भण्डारीले आठ लाख रुपैया वरावरको आठ लाख रुपैया अस्पताल सन्चालनका लागि महायज्ञमा आएर दान गरेको आर्थिक समितिका संयोजक शम्भुप्रसाद सिग्देलले जानकारी दिए । जग्गादान गर्नेहरुलाई आयोजकले विशेष सम्मान गरेको छ ।

महायज्ञमा कतिपय भक्तजनहरुले तुलादान गरेर पनि सहयोग गरेका छन् । महायज्ञमा बेलकोगढी नगरपालिकाले ३ लाख रुपैया सहयोग गरेको छ । मेयर जगतबहादुर गुरुङले आफ्नो एक वर्षको तलव सुविधाको रकम करिव साढे ४ लाख रुपैया सहयोगको प्रतिवद्वता जनाएका छन् ।

यता, महायज्ञमा विदुर नगरपालिकाबाट सामुदायिक अस्पताल स्थापनाका लागि २ लाख रुपैया सहयोगको प्रतिबद्धता भएको छ । बेलकोटगढी ७ महादेवफाँटमा निर्माणाधीन सामुदायिक अस्पतालको निर्माणका लागि सञ्चालन भएको श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ सप्ताहमा पुगेर मंगलवार विदुर नपाका मेयर राजन श्रेष्ठले विदुर नपाबाट २ लाख रुपैया सहयोग गरिने घोषणा गरेका हुन् ।

महादेवफाँटमा बन्ने अस्पतालबाट विदुर नगरवासीलेसमेत उपचार सेवा लिन पाउने भएकाले आगामी दिनमा थप सहयोग गर्दै जाने उनको भनाइ छ । उता, बेलकोटगढीको महादेवफाँटमा सामुदायिक अस्पताल निर्माणका लागि तारकेश्वर गापाले ५ लाख रुपैया सहयोगको घोषणा गरेको छ ।

गापा अध्यक्ष शिव अधिकारी अविरलले महायज्ञमा पुगेर उक्त घोषणाा गरेका हुन । अध्यक्ष अधिकारीले छिमेकी पालिकाको सीमावर्ती क्षेत्रमा निर्माण हुन लागेको र तारकेश्वर गापाका जनतासमेत लाभान्वित हुने भएका कारण गापाको तर्फबाट पांचलाख रुपैया सहयोग तत्काल उपलब्ध गराउने घोषणा गरेका छन् ।

अध्यक्ष अधिकारीले आफ्ना दिवंगत पिता ज्ञानकुमार अधिकारी र माता गौरादेवी अधिकारीको स्मृतिमा व्यक्तिगत रुपमा ५१ हजार एकसय १० रुपैया दान गरेको बताए । उनले अस्पताल निर्माणका आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् । महायज्ञको संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसीले समापन गरे । उनले सामुदायिक अस्पताल निर्माण आवस्यक रहेको र यसका लागि आफुहरुलेसमेत सहयोग गर्ने वताए ।

समापनमा यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसीले अस्पतालका लागि आवस्यक उपकरण तथा प्राविधिक पक्षको व्यवस्थापनमा आफुले सहयोग गर्ने वताए । यसैबीच, बेलकोटगढी नगरपालिकाका कार्यपालिका सदस्यहरुको सुविधा वापतबाट एकमुष्ट रुपमा ७७ हजार ७ सय ७७ रुपैया प्रदान गरिएको छ ।

महायज्ञ समापनमा उपमेयर शिवप्रसाद दाहालले उक्त रकम हस्तान्तरण गरेका हुन् । महायज्ञमा वेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङले त्रिदेशीय मार्ग अन्र्तगत वीरगन्ज–गल्छी–देवीघाट–रसुवागढी सडकमार्गको वीचमा रहेको महादेवफांटमा एउटा अस्पताल आवस्यक परेको अवस्थामा आयोजित महायज्ञवाट संकलित रकमवाट अस्पताल सन्चालन गरिने र यसका लागि नपाले अगुवाई गर्नेसमेत वताए ।

“स्वास्थ्यमा दान महान” भन्ने उद्देश्यसहित आयोजित महायज्ञमा चर्चित कथा वाचक राधिका दासीले सात दिनसम्म श्रीमद्भागवत कथा वाचन गर्नुका साथै विभिन्न झांकी तथा धार्मिक प्रदर्शन गरिएको महायज्ञ आयोजक भीमेश्वर सामुदायिक संस्थाका अध्यक्ष दामोदर नेपालले जानकारी दिए । महायज्ञ सफल भएको र संकलित नगद तथा जिन्सीको विवरण तयार गर्ने कार्य भइरहेको उनले वताए ।

महायज्ञलाई सफल भएका कारण महादेवफांटमा एउटा सामुदायिक अस्पताल सन्चालन गरिने वडाध्यक्ष भुवनेश्वर नेपालको भनाई छ । महायज्ञका लागि आयोजकसंग न्यू भिजन युथ क्लब तथा विभिन्न संघसंस्थाहरुको सहकार्य रहेको थियो ।

महादेवफांटमा अस्पताल निर्माण गरिए नुवाकोट र धादिङका पुर्वी भेगका नागरिकले समेत सेवा पाउन सहज हुने स्थानीयवासी गमला लामाको भनाई छ । सो स्थानमा त्रिदेशयि सडकमार्ग रहेकाले धेरै दुर्घटना हुँदै आएको र उक्त क्षेत्रमा अस्पताल नहुँदा धेरैले ज्यान गुमाउन परेको दुःखद् घटनाका कारण सामूहिक रुपमा अस्पताल निर्माणको योजना अघि सारिएको उनले वताइन् ।





















































