नुुवाकोटमा खिचिएको ‘बयान’ रुचाइयो
बिदुर-नुवाकोटमा खिचिएको ‘बयान’ म्युजिक भिडियो रुचाइएको छ । चर्चित गायक प्रताप दास र लोकप्रिय गायिका समिक्षा अधिकारीको स्वरमा सजिएको उक्त गतिको म्युजिक भिडियो नुवाकोटको बिदुर नगरपालिकाको विभिन्न स्थानमा छायांकन गरिएको थियो ।

मनमोहक दृश्य र युवा भाव समेटिएको ‘बयान’ हाल दर्शक–श्रोता बीच अत्यन्त लोकप्रिय बन्दै गएको छ । भिडियो सार्वजनिक भएको डेढ महिनामै यस गीतले दर्शकहरूको उल्लेख्य माया पाएको छ । उक्त गीतले १ मिलियन भ्यूज पार गर्न सफल भएको छ । शुक्रवारसम्म १० लाख ६२ हजार जनाले उक्त गीतको म्युजिक भिडियो हेरिसकेका छन् ।

नुवाकोटको बिदुर, वट्टार, त्रिशूली, कोलोनीलगायत मनमोहक, आकर्षक तथा पर्यटकीय स्थलमा छायांकन गरिएको उक्त भिडियो वट्टार बजारस्थित शिवालय सिनेप्लेक्सबाट डेढ महिना अगाडि पहिलो पटक सार्वजनिक गरिएको थियो । म्युजिक भिडियोमा चर्चित कलाकार प्रियना आचार्य मुन्नी र विदुर नपा–१२ का युवक सन्तोषसरगम अधिकारीले मुख्य भूमिका निर्वाह गरेका छन् । अधिकारीकै शब्द–रचना र निर्माणमा तयार गरिएको उक्त गीतमा सरोज पोखरेलको संगीत रहेको छ ।

उक्त म्युजिक भिडियोको रोशन दासले निर्देशन गरेका हुन् । छायांकन नितेश घतान, सम्पादन बिनोद बम र पोस्ट–प्रोडक्सन रेज इन्टरटेन्मेन्टमार्फत गरिएको हो । गीतको सफलताका सम्वन्धमा कलाकार, रचनाकार तथा निर्माता सन्तोषसरगम अधिकारीले “आफ्नो यो मेरो पहिलो म्युजिक भिडियो हो, दर्शकको मन जित्ने अपेक्षा लिएको थिएँ, अहिलेको भ्युज र प्रतिक्रियाले निकै हौसला मिलेको छ” भने ।

भिडियोमा सन्तोष र प्रियनाको आकर्षक केमेस्ट्रीसँगै नारायण बिक, रुपा पुडासैनीलगायत कलाकारको अभिनय रहेको छ । सो म्युजिक भिडियोको निर्माण संयोजकमा पुर्णमानकुमार श्रेष्ठ रहेको छन् । ‘बयान’ म्युजिक भिडियो सरोज पोखरेलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो । नुवाकोटका रमणीय दृश्य, प्रेम–संघर्ष र भावनात्मक कथावस्तुले भरिएको सो भिडियोले नुवाकोटको सौन्दर्य र सम्भावनालाई पनि उजागर गरेको छ ।

उक्त अवसरमा म्युजिक भिडियो टिमले केक काटेर खुसीयाली मनाएको छ । कार्यक्रममा सहभागी कलाकार र निर्माताहरूले “जीवनमा संघर्ष, लगाव, मेहनत र त्यागलाई आत्मसात गर्न सके सफलता अवश्य आउँछ” भन्ने सन्देश भिडियोले प्रभावकारी रूपमा दिन सफल भएको बताए ।













































