चलचित्र अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान
बिदुर– चलचित्र विकास बोर्डद्वारा चलचित्र अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । वोर्डका पदाधिकारीहरुले छात्रवृत्ति प्रदान गरेका हुन् । नेपाली चलचित्र शिक्षाको स्तर उकास्ने दीर्घकालीन उद्धेश्यसहित चलचित्र विकास बोर्डले गत २०८१ सालका लागि विभिन्न तहमा अध्ययनरत २३ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको हो ।
यस वर्ष माध्यमिक तह (+२) मा चलचित्र विषय लिएका विद्यार्थीलाई वार्षिक १५ हजार रुपैयाका दरले छात्रवृत्ति प्रदान गरिएको वोर्डले जनाएको छ । विद्यालय तहमै चलचित्र–सम्बन्धी अध्ययनलाई प्रोत्साहित गर्न बोर्डले विगत वर्षदेखिसहयोग गर्दै आएको छ । यसवाट युवाहरूलाई प्रारम्भिक उमेरमै चलचित्र शिक्षाप्रति आकर्षित गर्न मद्दत गरेको छ ।

स्नातक तहमा चलचित्र–सम्बन्धि विषय लिएर अध्ययनरत विद्यार्थीहरूलाई वार्षिक ५० हजार रुपैयाको छात्रवृत्ति प्रदान गरिएको छ । खुल्ला, महिला र समावेशी (मधेसी, दलित, आदिवासी, जनजाति) समूह समेटिने गरी वितरण गरिएको उक्त छात्रवृत्ति सहयोगले चलचित्र शिक्षामा पहुँच विस्तार र विविध समुदायका प्रतिभालाई अघि बढाउने लक्ष्यलाई सुदृढ गरेको बोर्डले जनाएको छ ।
उच्च शिक्षामा आर्थिक कारणले पछि पर्न सक्ने विद्यार्थीका लागि उक्त कार्यक्रम विशेष प्रोत्साहन बनेको छ । त्यसैगरी, स्नातकोत्तर तहमा चलचित्रसम्बन्धी अनुसन्धान गरिरहेका विद्यार्थीलाई २५ हजार रुपैयाका दरले शोध अनुदान प्रदान गरिएको छ । चलचित्रका सामाजिक, सांस्कृतिक, सौन्दर्यशास्त्रीय तथा नीतिगत पक्षमा आधारित अनुसन्धानलाई प्रोत्साहन दिन यसले महत्वपूर्ण उत्प्रेरणा दिएको वोर्डले जनाएको छ । अनुसन्धानमै आधारित नीतिगत सुधारका लागि आवश्यक सामग्री उत्पादनमा पनि बोर्डका उक्त कार्यक्रम प्रभावकारी मानिएका छन् ।

स्नातकोत्तर तहमै चलचित्र ऐन–नियम, नीतिगत अध्ययन तथा शोधपत्र लेखन गर्दै आएका विद्यार्थीलाई समेत २५ हजार रुपैयाको छात्रवृत्ति दिइएको छ । चलचित्र नीति तथा संरचनागत सुधार र नयां चलचित्र निर्माणमा बोर्डको उक्त सहयोग भविष्यका चलचित्र योजनाकार, विश्लेषक तथा नीति निर्माताका लागि आधार निर्माण गर्ने किसिमले उपयोगी हुने अपेक्षा गरिएको वोर्डका अध्यक्ष दिनेश डिसीको भनाई छ ।
उनका अनुसार, चलचित्र उद्योगको दिगो विकास शिक्षा, अनुसन्धान र समावेशी प्रतिभा विकास मार्फतै सम्भव हुने भएकोले बोर्डले यसलाई दीर्घकालीन कार्यक्रमका रूपमा अघि बढाइरहेको छ । छात्रवृत्ति कार्यक्रमले नेपाली चलचित्र क्षेत्रका भावी पेशेवरलाई प्रेरित गर्ने, प्रतिभा भित्राउने र क्षेत्रलाई व्यवस्थित बनाउँदै लैजान सहयोग गर्ने बोर्डको विश्वास रहेको वोर्डका सूचना अधिकारी सन्तोषवावु लोहनीको भनाई छ ।

चलचित्र–सम्बन्धि विषयमा अध्ययन, अनुसन्धान तथा शैक्षिक प्रगतिको लागि नियमित रूपमा सञ्चालन गर्दै आएको उक्त कार्यक्रम बोर्डको शैक्षिक क्षेत्रप्रतिको प्रतिबद्धताको महत्वपूर्ण उदाहरणका रूपमा लिइएको छ । वोर्डले चलचित्र अध्ययन गरेर नेपालमै प्रभावकारी रुपमा चलचित्र उत्पादन गर्न विद्यार्थीहरुलाई सुझाव दिएको छ ।













































