क्यानको छैटौं साधारण सभा
बिदुर– कम्प्युटर एसोशिएसन अफ नेपाल महासंघ (क्यान) नुवाकोटको छैटौं वार्षिक साधारणसभा बट्टारमा सम्पन्न भएको छ । साधारण सभाले पछिल्लो समय अपरिहार्य वनिरहेको सूचना प्रविधिको विकास, विस्तार र डिजिटल साक्षरता अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएको छ ।
साधारण सभाको महासंघका बागमती प्रदेश समितिका सचिव पवन नेपालले उद्घाटन गरेका हुन् । उनले सूचना प्रविधिले विश्व परिवेश नै नजिकिएको र यसको दायरालाई प्रभावकारी वनाउनु पर्नेमा जोड दिए ।

उनले डिजिटल प्रविधिले मानिसको जीवनशैली, कार्यालय सुशासन र व्यवसाय सञ्चालनमा ठूलो सहजता ल्याएको बताए । नेपालले प्रविधिको प्रयोग बढेसँगै चुनौतीहरू पनि थपिएको उल्लेख गर्दै नुवाकोटमा डिजिटल साक्षरता र साइबर सुरक्षासम्बन्धि जनचेतना फैलाउनु अपरिहार्य रहेको वताए ।
कार्यक्रममा महासंघ नुवाकोट अध्यक्ष नारायणकुमार घलेले प्रविधिको क्षेत्रमा कार्यरत सबैलाई एकजुट हुन आग्रह गरेका छन् । उनले आगामी दिनमा सञ्चालन हुने कार्यक्रमहरूमा जिल्लास्थित प्रविधि व्यवसायी, सेवाग्राही, लगानीकर्ता र उद्यमीहरूलाई सक्रिय सहभागिता र सहकार्यका लागि आह्वान गरेका छन् ।

साधारण सभाले महासंघ शाखाका सचिव सुनील श्रेष्ठद्वारा प्रस्तुत वार्षिक सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष अजयबाबु नगरकोटीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरेको छ । साथै आगामी ‘आईसीटी दिवस’ को अवसरमा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।
क्यान महासंघ नुवाकोटको सञ्जाल विस्तार गर्न साधारण सदस्य बन्न इच्छुकहरूका लागि सदस्यता आवेदन खुल्ला गर्ने निर्णय समेत गरिएको छ । हाल महासंघको नुवाकोट शाखामा ३६ जना आवद्ध छन भने नुवाकोट भरी उक्त पेशा, व्यवसायमा ६० जना रहेको जनाइएको छ ।













































