लिखु गापाको केन्द्र गड्खार कायम
बिदुर-नुवाकोटको लिखु गाउँपालिकाको केन्द्र गड्खार कायम भएको छ । उक्त गापाको केन्द्र परिवर्तनसंगै कार्यालय भवनसमेत वनाइने तयारी भएको छ । लिखु गापाको केन्द्र वडा नं. ३ स्थित भलाद्मीडाँडाबाट वडा नं. ४ को गड्खारमा सार्ने निर्णय भएको हो । मन्त्रिपरिषदको वैठकले लिखुको केन्द्र परिवर्तन गर्दै गड्खार कायम गरेको हो ।

लिखु गापाले आफ्नो प्रशासकिन भवन उक्त स्थानमा बनाउने निर्णय गरिसकेको छ । गाउंपालिकाको आवस्यकता, मागको निर्णयसहित आवस्यक सिफारिसका आधारमासवैलाई पायक पर्ने गरि केन्द्र परिवर्तनको उपयुक्त निर्णय भएको गापा अध्यक्ष ध्रुव श्रेष्ठको भनाई छ । यसअघि केही महिना अघि मात्रै भलादमीडाँडामा रहेको विद्यालयको खाली भवनमा गापा कार्यालय सारिएको थियो । लिखु गाउँपालिका विगत २०७४ सालदेखि नै भाडामा बस्दै आएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले केन्द्र स्थानान्तरणको निर्णय गरेको हो । मन्त्रालयले गरेको प्रस्ताव अनुमोदन गर्दै मन्त्रिपरिषद्को बैठकले लिखु गाउँपालिकाको प्रशासनिक केन्द्र अब गड्खारबाट संचालन हुने व्यवस्था मिलाएको हो ।
केन्द्र स्थानान्तरणसँगै गाउँपालिकाका सेवा–सुविधा, प्रशासनिक कामकाज तथा विकास–निर्माण योजनाहरू गड्खारबाटै संचालित हुनेछन् । यस निर्णयले स्थानीय प्रशासनिक पहुँच अझ सहज हुने अपेक्षा गरिएको लिखु गापाका प्रवक्ता नरहरि पाण्डेको भनाई छ ।












































