किस्पाङमा अनिवार्य रुपमा कुकुर तथा विरालो दर्ता

– निःशुल्क खोप र रेविज कार्ड प्रदान
लोकखवर विशेष संवाददाता
२०८२ मंसिर १६, मंगलवार २२:४०

बिदुर–  पशु तथा मानव स्वास्थ्य सुरक्षामा जोड दिदै नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङ गाउँपालिकाले कुकुर र बिरालो दर्ता अनिवार्य गरेको छ । कुकुर र विरालो पालक गाउंवासीले धमाधम दर्ता गरिरहेका छन् ।

किस्पाङ गापाले स्वास्थ्य सुरक्षामा नयाँ पहल गरेको हो । घरपालुवा कुकुर र बिरालोहरूलाई व्यवस्थापन गर्न उक्त नियम लागू गरिएको गापाले जनाएको छ । “घरपालुवा कुकुर तथा बिरालो व्यवस्थापन सम्बन्धि कार्यविधि–२०८०“ अनुसार घरपालुवा जनावरहरू अनिवार्य दर्ता गर्नुपर्ने नियम जारी भएपछि सर्वसाधारणले सम्वन्धित वडा कार्यालयमा पुगेर “घरपालुवा कुकुर तथा बिरालो दर्ता गरिरहेको गापा उपाध्यक्ष अर्जुनप्रसाद न्यौपानेको भनाई छ ।

उनका अनुसार चालु आर्थिक वर्षको मंसिरको १५ गतेसम्म तीनसय चार थान कुकुर र विरालो दर्ता भएका छन् भने एकसय १४ वटा घर पालुवा कुकुर विरालो नवीकरण भएका छन् । आफुले पालेको कुकुर तथा विरालो दर्ता गरेपछि सम्बन्धित धनीले दर्ता प्रमाणपत्रका साथमा रेविज कार्ड र निःशुल्क रेविज भ्याक्सिनसमेत प्राप्त गरिरहेका छन् ।

सम्वन्धित कुकुर तथा विरालोधनीको जिम्मेवारीवोधका लागि दर्ताको एकसय र नवीकरणको ५० रुपैया शुल्क राजश्वका रुपमा वुझाउने गरेका छन् । यसका साथै, घरपालुवादेखि सामुदायिक रूपमा छाडा रहेका कुकुर र बिरालोलाई रेबिज विरुद्धको खोप निःशुल्क उपलब्ध गराइएको पशु चिकित्सक डा. प्रेम जिएमको भनाई छ ।

उनका अनुसार किस्पाङको सो अभियानले जन तथा पशुस्वास्थ्य सुरक्षा, जनावरको हेरचाह र नियन्त्रणमा उल्लेखनीय भूमिका र महत्व रहने विश्वास गरिएको छ ।

पशु प्राविधिकहरु गाउं तथा टोलमा पुगेरसमेत कुकुर तथा विरालो दर्ता, नवीकरण तथा भ्याकिसन लगाउने कार्य गरेको प्राविधिक श्रीकृष्ण वजगाइले जानकारी दिए । उनका अनुसार उक्त अभियानमा गाउंवासीलेसमेत साथ दिएका छन् ।


सर्वाधिक रुचाइएको