मानव अधिकार चलचित्र महोत्सव सम्पन्न
बिदुर– मानव अधिकार संरक्षण र सचेतनामा जोड दिदै मानवअधिकार चलचित्र महोत्सव गरिएको छ । उत्कृष्ट चलचित्रहरुलाई अवार्ड तथा पुरस्कार प्रदान गरिएको छ ।
मानव अधिकार चलचित्र केन्द्रको आयोजना र चलचित्र विकास बोर्डको सहकार्यमा आयोजित १३ औं नेपाल मानवअधिकार चलचित्र महोत्सव सम्पन्न भएको हो ।

महोत्सवमा रिहाना (निर्देशकः सुरज पौडेल) ले नेपाली पानोरमा अवार्ड जित्न सफल भयो । ग्रामीण परिवेशमा छायांकन गरिएको सो चलचित्रले १३ वर्षीया बालिकाको कथामार्फत यस वर्षको मुख्य थिम ‘बालअधिकार’ लाई सशक्त रूपमा प्रस्तुत गरेको छ । यसैगरी, अनुष्का अर्यालले उत्कृष्ट नेपाली महिला निर्देशक र नानी सारा वाकरले जुरी मेन्शन अवार्ड प्राप्त गरेका छन् ।

महोत्सवअन्तर्गत उत्कृष्ट डकुमेन्ट्री सर्ट एल मिना, उत्कृष्ट फिक्सन सर्ट डन्ट बी लेट माइरा र उत्कृष्ट फिचर लाप्टिन घोषित भए । पांच दिनसम्म काठमाडौमा सन्चालित महोत्सवमा २६ देशका ५० भन्दा बढी चलचित्र प्रदर्शन गरिएका थिए । चलचित्र विकास बोर्ड तथा सहभागी चलचित्रहरु नेपाल टुरिजम वोर्डका हलहरूमा प्रदर्शन गरिएका थिए ।

चलचित्रहरूमा कान्स, बर्लिनाले, बुसान जस्ता विश्वचर्चित महोत्सवमा प्रदर्शित चलचित्रहरू समेत समावेश थिए । चलचित्र, मानवअधिकार र अन्तर्राष्ट्रिय सहकार्यलाई जोड्दै सम्पन्न सो महोत्सवले नेपाली सिनेमा र सामाजिक चेतनामा महत्वपूर्ण योगदान पु¥याएको चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीको भनाई छ । महोत्सव समापन कार्यक्रममा नेपालका लागि व्रिटेनका राजदूत रोव फेन्नलाई नेपाली चलचित्र छायांकनका सम्भावना र विवरण समेटिएको पुस्तक फिल्मिङ इन नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले उपहार प्रदान गरेका थिए ।

महोत्सवमा चलचित्रमार्फत मानवअधिकार, सामाजिक न्याय, समानता र मानवीय संवेदनाका कथाहरू दर्शकमाझ प्रस्तुत गरिएका थिए । चलचित्रमार्फत मानवअधिकारको आवाज बुलन्द गराउन उक्त महोत्सव फलदायी रहेको चलचित्र विकास बोर्डका सदस्य गणेशप्रसाद सुवेदीको भनाई छ ।

















































