खेलकुद तथा रचनात्मक कार्यक्रम

– पृथ्वी जयन्तीको सन्दर्भमा आयोजना
लोकखबर
२०८२ पुष २७, आईतवार ०१:००

बिदुर– नुवाकोटमा ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिएका छन् । खेलकुद तथा रचनात्मक कार्यक्रम गरिएका छन् ।
कार्यक्रमका लागि नुवाकोटमा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठको संयोजकत्वमा मूल समारोह समितिको गठन गरि उपसमितिमार्फत विभिन्न खेलकुद, विद्यार्थी सचेतना, अतिरिक्त क्रियाकलाप तथा रचनात्मक कार्यक्रमहरू गरिएका छन् ।

कार्यक्रमअन्तर्गत विदुर वडास्तरीय ४० वर्षमाथि उमेर समूहको भेट्रान फुटबल प्रतियोगिता सम्पन्न भएको छ । विदुर ५ स्थित देवीघाट जालपा क्लबको व्यवस्थापनमा सम्पन्न प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा विदुर ५ ले विदुर ६ लाई एकका विरुद्ध ३ गोलले पराजित गर्दै विजेता भएको छ । सो फुटवल प्रतियोगितामा विदुर नपाका विभिन्न वडावाट खेलाडिहरुको सहभागिता रहेको थियो ।

भेट्रान कपको समापन कार्यक्रममा मूल समारोह समितिका संयोजक तथा विदुर नपाका मेयर राजन श्रेष्ठ, विदुर ३ का वडाध्यक्ष बद्रीप्रसाद रिमाल, विदुर ५ का वडाध्यक्ष लीलानाथ न्यौपाने, एन्फाका पदाधिकारीहरू तथा खेलप्रेमी, सर्वसाधारण तथा नुवाकोटबासीको सहभागिता रहेको थियो । पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाउने सन्दर्भमा दौड प्रतियोगिता सम्पन्न भएको छ ।

विदुर नपा–२ स्थित जिपलाइनदेखि नुवाकोट दरबार परिसरसम्म आयोजित एकहजार मिटर दौड प्रतियोगितामा माविस्तरीय कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई विदुर नपाका मेयर राजन श्रेष्ठले आभार व्यक्त गर्दै यस कार्यक्रमले विद्यार्थीहरूमा राष्ट्रिय एकता, अनुशासन र स्वस्थ्य जीवनशैलीको सन्देश प्रवाह गरेको धारणा राखे ।

“पृथ्वी जयन्ती हाम्रो गौरव, एकताको दौड हाम्रो प्रतिबद्धता! भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा शैक्षिक प्रतिस्पर्धाअन्तर्गत माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पृथ्वी मावि प्रथम, शहीद जगतप्रकाशजंग शाह संस्कृत मावि द्वितीय, च्वाडी पब्लिक मावि तृतीय र त्रिभुवन त्रिशूली माविले सान्त्वना स्थान जितेका छन् ।

विजेता तथा सहभागीहरूलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मुल समारोहमा पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने कार्यक्रम तय भएको छ । पृथ्वी जयन्तीकै अवसरमा नुवाकोटको साततले दरबार परिसर तथा भैरवी मन्दिरदेखि देवीघाटस्थित जालपा मन्दिरसम्म साइकल ¥यालीसमेत सम्पन्न गरिएको छ ।


सर्वाधिक रुचाइएको