जन्मदिनको अवसरमा कलाकारले गरे विद्यार्थीलाई सहयोग

– न्यानो पोशाक र टोपी, जुत्तामोजा प्रदान
लोकखवर विशेष संवाददाता
२०८२ पुष २७, आईतवार ०१:२९

बिदुर– नुवाकोटको पश्चिमी भेगमा रहेको वर्सुन्चेतका विद्यार्थीहरुलाई न्यानो कपडा तथा टोपी, जुत्ता मोजा प्रदान गरिएको छ । यसवाट विद्यार्थीहरु अध्ययनका लागि उत्साहित भएका छन् ।

नुवाकोटको भौगोलिक हिसावले कोल्टे परेको स्थानका रुपमा रहेको म्यागङ गाउंपालिका १ वर्सुन्चेतको सीता आधारभुत विद्यालयमा अध्ययनरत सवै विद्यार्थीहरुलाई चर्चित कलाकारले न्यानो पोशाक प्रदान गरेका हुन् । आफ्नो ४५ औं जन्मदिनको अवसरमा चर्चित कलाकार सीपी पुडासैनी धतुरेले ४२ जना विद्यार्थीहरुका लागि एक/एक थान न्यानो पोशाक अर्थात ट्रयाक सुट उपलव्ध गराएका हुन् ।

यसका साथै नुवाकोटको म्यागङ घर भई वट्टारवजारमा व्यवसाय गर्दै आइरहेकी महिला अगुवा सन्तुमाया तामाङले अध्ययनरत सवै विद्यार्थीहरुका लागि एक/एक जोर जुत्ता र मोजा तथा एक/एक थान न्यानो टोपी उपलव्ध गराएकी छन् । उनले आफ्नो सानो सहयोगले विद्यार्थीहरुलाई जाडोमा सहज भएको र सहयोगलाई निरन्तरता दिने वताइन् ।

चर्चित कलाकार सीपी पुडासैनी धतुरेले सात वर्ष अगाडिदेखि आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा पुगेर विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामग्री सहयोग गर्दै आएका छन् ।  जन्मदिन महंगो रुपमा मनाउने चलनको अन्त्य र दुर्गम भेगको रुपमा रहेका विद्यार्थीहरुको शैक्षिक स्तर प्रवद्र्धनका लागि आफुले जन्मदिन मनाउने खर्च कटाएर सानो सहयोग गरेको वताए ।

उनले आफुले सात वर्ष अगाडिदेखि परिवर्तन आफु आफैवाट गरौं भन्ने मुल उद्धेश्य लिएर सवैको लागि म अभियान सन्चालन गरेको वताए ।  उनले आफ्नो लागि मात्र होइन, अरुको लागि पनि सोच्ने गरौं भन्ने मुल भावनाले अभिप्रेरित भई भविष्यका कर्णाधार विद्यार्थीहरुका लागि प्रत्येक वर्ष न्यानो पोशाक र शैक्षिक सामग्री वितरण गर्ने गरेको वताए ।

विद्यालयमै पुगेर कार्यक्रमसहित म्यागङ गापा अध्यक्ष आशावाहदुर तामाङ, म्यागङ १ का वडाध्यक्ष जीमावहादुर तामाङ, विद्यालयका अध्यक्ष लालवहादुर घले, प्रधानाध्यापक कुमार सिम्खडा, सामाजिक अगुवा तथा चर्चित कलाकार सीपी पुडासैनी धतुरे, महिला अगुवा सन्तुमाया घले, शिक्षाप्रेमी उद्धवप्रसाद घिमिरे, वसन्त चालिसे, विमला थापा, पुर्व वडाध्यक्ष दलसिहं तामाङ, कार्यपालिका सदस्य तथा वडा सदस्य, विद्यालयका शिक्षक शिक्षिकाहरुले विद्यार्थीहरुलाई न्यानो पोशाकका साथै जुत्ता मोजा हस्तान्तरण गरे ।  उक्त अवसरमा म्यागङ गापा अध्यक्ष आशावहादुर तामाङले शिक्षामा गुणस्तरियता, आधुनिकता र प्रविधिको मिश्रण जरुरी रहेको वताए ।

सामुदायिक विद्यालयमा शैक्षिक जागरणका साथै विद्यार्थीहरुलाई आकर्षण गराउन आवस्यक रहेको वताए । उक्त विद्यालयमा तामाङ तथा घले समुदायका वालवालिकाहरु अध्ययनरत रहेका छन् ।


सर्वाधिक रुचाइएको