महादेव माविले जित्यो रनिङशिल्डको उपाधि
बिदुर– विद्यार्थी खेलाडिहरुको पहिचान र खेल प्रवद्र्धनका लागि नुवाकोटको बेलकोटगढी नगरपालिकामा सन्चालित राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । महादेवफांटमा सम्पन्न उक्त प्रतियोगितामा सोमवार विजेता तथा उपविजेतालाई पुरस्कार प्रदान गरिएको हो ।

बेलकोटगढी नपाको आयोजनामा महादेवफांटमा सम्पन्न दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि घरेलु मैदानमा वेलकोटगढी ७ को महादेव माविले जितेको छ । कार्यक्रमकावीच बेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा बेलकोटगढी १३ को सुर्यमति माबि उपविजेता र बेलकोटगढी ३ को लक्ष्मेश्वरी माबि तृतीय भएको छ । प्रतियोगितामा प्रथम भएको महादेव माविले नगद २५ हजार, द्वितिय भएको सुर्यमतिले नगद १५ हजार र तृतीय भएको लक्ष्मेश्वरीले नगद १० हजार रुपैयाका साथ शिल्ड, मेडल, ट्रफि र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ ।

पुरस्कार प्रदान गर्दै मेयर गुरुङले विद्यार्थीहरुलाई उत्कृष्ट खेल कौशल प्रदर्शन गरेकोमा प्रसंसा गरे । उनले विजेतालाई वधाई र अन्य विद्यालयलाई निरन्तर खेल कौशल प्रदर्शन गर्न आग्रह गरे ।

उपमेयर शिवप्रसाद दाहालले खेलकुदवाटै मानव जीवनमा सकारात्मक परिवर्तन हुने वताए । प्रतियोगिता समापन कार्यक्रममा विभिन्न वडाका वडाध्यक्षहरू, विद्यालयका शिक्षक–शिक्षिका, खेलाडिहरु, नपाका कर्मचारी, विद्यार्थीहरू तथा खेलप्रेमीहरूको सहभागिता रहेको थियो ।

उक्त तियोगितामा बेलकोटगढी नपाभित्रका १९ वटा विद्यालयका दुई सय ५५ जना विद्यार्थी खेलाडिहरूको सहभागिता रहेको थियो । सम्पन्न उक्त प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रतिको प्रवद्र्धन, विकास, अनुशासन, प्रतिस्पर्धा, रुचि र आपसी सद्भाव प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।
































































