माघेसंक्रान्ति गोरु जुधाइ मेलाको तयारी

तारुका, वेत्रावति र पन्चकन्यामासमेत जुधाइने
देवचन्द्र भट्ट
२०८२ पुष २९, मंगलवार २३:०१

बिदुर– माघे संक्रान्तिको अवसरमा नुवाकोटको विभिन्न स्थानहरूमा हुने गोरु जुधाईको मेलाको तयारी पुरा भएको छ । गोरु जुधाई मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । नुवाकोटको मात्रै नभई नेपालकै एकमात्र गोरु जुधाई गरिने नुवाकोटको तारुकालगायत बिभिन्न स्थानमा गरिँदै आएको गोरु जुधाई मेलाको लागी गोरु दर्ता गराउने काम सवै स्थानमा सकिएको छ ।

माघ १ गते विहीवार नुवाकोटको तारुका (तारकेश्वर गाउँपालिका), बेत्रावती (विदुर नगरपालिका), पञ्चकन्या, लिखु, तादी गाँउपालिका लगायतका स्थानमा गोरु जुधाई प्रतियोगिता हुँदै आएको छ । नुवाकोटको तारुकाको चन्दनी, वेत्रावति, र पन्चकन्यामा गोरु जुधाउन तयारी गरिएका छन् । तीनै स्थानमा २८ हल गोरु जुधाइने तयारी रहेको छ भने र विजेतालाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

गोरु जुधाई मेला अन्य स्थानको भन्दा नुवाकोटको तारुका, चन्दनीको गोरु जुधाई मेला विशेष र चर्चित छ । यस पटक तारुकमा गोरु जुधाई महोत्सव र बेत्रावतीको गोरु जुधाईलाई मेलालाई आयोजकहरूले विशेष रुपमा तयारी गरिएको जनाएका छन् । सदियौंदेखि माघे संक्रान्तिको दिन गोरु जुधाई हुने नुवाकोटको तारुकामा यस वर्ष तारुकाको पौरख, नेपालको गौरव भन्ने मुल नाराका साथ १२ हल गोरु जुधाउन लागिएको छ ।

यस वर्ष तारुकाको चन्दनीमा ऐतिहासिक सांस्कृतिक जगेर्ना र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले गोरु जुधाई सांस्कृतिक महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । जुधाइने गोरु दुई हजार रुपैया पछि फिर्ता हुने गरि शुल्क लिइएको छ भने गोरुको वर्गिकरण गरि क, ख र ग वर्ग अनुसार पुरस्कार दिइने आयोजकले जनाएको छ । गत वर्ष विजेता गोरुका धनीहरुलाई प्रोत्साहन स्वरुप वर्गिकरण अनुसार १०, ८ र ६ हजार पुरस्कार प्रदान गरिएको थियो ।

जुधाइने गोरुको औषधि उपचार तथा विमाको व्यवस्था गरिएको छ । गोरु जुधाइलाई यस पटक महोत्सवसहित मनोरञ्जनात्मक कार्यक्रमसमेत रहेको आयोजकले जानकारी दिएको छ । तारुकामा यस वर्ष १२ हल गोरु दर्ता भएका छन् भने उक्त दिन अन्य गोरुसमेत जुधाइने तयारी भएको छ ।

तारुका गोरु जुधाई महोत्सव आयोजक समितिले तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसंक्रान्ति मेलाको अवसरमा जुधाउन गोरु दर्ता भएको जनाएको छ । ‘माघे संक्राान्ति गोरु जुधाई ’ व्यवस्थापन समितिका अनुसार समितिले किसानलाई मेलालाई विशेष मनोरन्जनात्मक वनाइएको छ । यस वर्ष गोरु जुधाई मेलालाई ‘पहिचानसहितको मनोरन्जन’का रूपमा सञ्चालन गरिने तयारी भएको तारकेश्वर ३ का वडाध्यक्ष सुर्यमान श्रेष्ठको भनाई छ ।

माघे संक्रान्ति पर्व तारुकामा विदेशिएका युवा जनशक्ति घर फर्कन पर्व भएका कारण विशेष रुपमा रहेको श्रेष्ठले वताए । तारुकाको गोरु जुधाइ प्रतिस्पर्धालाई व्यवस्थित, आकर्षक, रोचक र थप मनोरञ्जनात्मक गतिविधिसमेत सन्चालन गराइने आयोजकले जनाएका छन् । ‘अघिल्ला वर्ष मेलाका रूपमा मनाइने गरिएको भए पनि यो वर्ष विशेष रूपमा मनाउन लागिएको छ ।’

तारकेश्वर गापाले गोरु जुधाई मेलालाई सम्पन्न गर्न गापाले विशेष रुपमा अपनत्व ग्रहण गरेको अध्यक्ष शिव अधिकारी अविरलले वताए । तारुकाको चन्दनीको गोरु जुधाई नेपालको एकमात्र स्थानमा हुने गोरु जुधाई भएको कारण यसको संरक्षण र सम्वद्र्धनमा विशेष योजना रहेको उनले वताए । ‘गोरुलाई समय निर्धारण नगरी एकआपसमा जुधेसम्म जुधाइने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारमार्फत लोकदोहोरीलगायतका अन्य मनोरञ्जनका गतिविधिसमेत समावेश गराउन लागिएको छ’–मेला सन्चालन समितिले जनाएको छ ।

माघे संक्रान्तिको अवसरमा जुधाउन दर्ता भएका गोरुलाई एकले अर्कोसँग (वान भर्सेज वान) प्रतिस्पर्धा गराउन लागिएको छ । प्रतिस्पर्धामा विजेता हुने गोरु, धेरै समयसम्म जुध्ने गोरु, उत्कृष्ट प्रस्तुतिका साथ जुध्ने गोरुलगायतका शिर्षकमा गोरुधनी किसानलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ । नुवाकोटको तारकेश्वर–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा जुधाइने गोरुले स्पेनी बुलफाइटको झल्को दिने र नेपालका लागि बिल्कुलै नयाँ प्रतियोगिताका रूपमा परिचित छ ।

तारुकाको गोरु जुधाइलाई अनुसरण गर्दै अहिले नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाउन थालिएको भए पनि उपयुक्त स्थान, आकर्षक गोरु, रोमाञ्चक प्रतिस्पर्धा, ऐतिहासिक महत्वलगायतका कारण तारुकाको गोरु जुधाइको आकर्षण र महिमा सबैभन्दा उत्कृष्ट रहेको समितिका वडाध्यक्ष सुर्यमान श्रेष्ठले बताए । ‘पशु जुधाएर मनोरञ्जन लिन हुँदैन भनेर अधिकारकर्मीहरुवाट विरोधका आवाज उठ्नेदेखि धेरैपटक कार्यक्रम रोक्न पनि खोजियो ।’ विगतलाई स्मरण गर्दै उनी भन्छन्, ‘गोरु जुधाइको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई बचाउन र उनीहरूको जुध्ने रहेर पूरा गर्न निरन्तरता दिइएको हो ।’

तारुकाको चन्दनीको गोरु जुधाई मेलाको अवलोकन गर्न नुवाकोटका साथै काठमाडौं, धादिङ तथा रसुवावाटसमेत सर्वसाधारण पुग्ने गरेका छन् । कार्यक्रममा विभिन्न कलाकारहरुसहितको साँस्कृतिक कार्यक्रम पनि राखिएको छ । तारुकाको मौलिक परम्परा र इतिहास जीबन्त बनाउने गोरु जुधाई मेलामा पछिल्लो समय आन्तरिक र वाह्य पर्यटकहरू समेत आकर्षित हुन थालेका छन् ।

नुवाकोटको विदुर नगरपालिका १० वेत्रावति उत्तरगया धाममासमेत ११ हल गोरु जुधाई मेलाकोे तयारी गरिएको अध्यक्ष सुवास डंगोलले जानकारी दिए । बेत्रावतीको गोरु मेलाको तयारीसमेत पुरा भएको छ । गोरु जुधाइने स्थलको निर्माण तथा बजारलाई सिंगार्ने काम भइरहेको गोसाइँकुण्ड युवा क्लब बेत्रावतीले जनाएको छ ।

गोरु जुधाउनका लागि मैदान सम्याउने काम पुरा भएको छ । यस पटक गोरु जुधाइका साथै दर्शकहरूको थप मनोरञ्जनका लागि बेत्रावती बजारको नेवार समुदायको लाखे नाच, जिबजिबे रसुवाको ब्राम्हण समुदायको बालनभजन, मगर समुदायको सोरठी नाच, तामाङ सेलो र तामाङ जातीको झाँक्री नाच, पञ्चेबाजा सहितको झाँकी प्रर्दशन गरिने छ । क्लबका अनुसार राष्ट्रिय स्तरका कलाकारहरुको सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको छ ।

गोरु जुधाइका अवसरमा नुवाकोट, रसुवाका लोक गायक/गायिकाहरुको प्रस्तुती समेत रहने छ । जुधाई जित्ने विजेता तथा उपविजेता गोरु धनी किसानहरुलाई नगद रुपैयाँ पुरस्कारको ब्यवस्था गरिएको वेत्रावति माघे संक्रान्ति गोरु जुधाई मेला आयोजक समितिले जनाएको छ । जुध्ने क्रममा चोटपटक लाग्ने गोरुको बीमा समेत भएको छ ।

गोरु जुधाई हेर्नका लागि नुवाकोटको तारुका र बेत्रावतीसम्म पुग्नका लागि सहज सडकका कारण यातायातसजिलो भएपछि पनि दर्शकहरूको उपस्थिति बर्षेनी बढ्दै गइरहेको छ । तारुकाको गो्रु जुधाई मेला हेर्न विदेशी पर्यटकहरुसमेत आउने गरेको स्थानीयवासी वताउंछन् । नुवाकोट र रसुवाको सिमा क्षेत्र एतिहासिक एवं धार्मिक तिर्थस्थल बेत्रावतीमा गोरु जुधाउने परम्परा छ ।

वेत्रावतिको गोरु जुधाई माघे संक्रान्तिका दिन बेत्रावतीका जुडिफाँट, साम्राटाफाँट, ढाडेबगरफाँट, दहफाँट, सिम्लेफाँटहरूमा घ्यू चाकुको भोज खाई दिउँसो गोरु चराउन खेतका फाँटहरूमा लैजादा बेत्रावतीका किसानहरूले आ–आफ्नो गोरु जुधाएर मनोरञ्जन लिने गर्दथे । उता, नुवाकोटको पुर्वी भेग पन्चकन्या गापामा पनि गोरु जुधाइने तयारी भएको छ । यस वर्ष पन्चकन्यामा पांच हल गोरु जुधाई तयारी भएको आयोजक पन्चकनया गोरु जुधाई मेला समितिका अध्यक्ष शिवहरि विष्टको भनाई रहेको छ ।

गोरु जुधाईमा प्रथम हुने गोरुका धनीलाई प्रोत्साहनस्वरुप नगद ३० हजार, द्वितिय हुने गोरुका धनीलार्य नगद २० हजार र तृतीय हुने गोरुका धनीलाई नगद १० हजार रुपैया पुरस्कार प्रदान गरिने अध्यक्ष विष्टको भनाई छ । गाउंको पहिचान र विशेषताको प्रवद्र्धनका लागि गोरु जुधाइने समितिको भनाइृ छ ।

गोरु जुधाई हेर्न नुवाकोट, रसुवा, धादिङ, काठमाडौ, चितवन, मकवानपुर, गोरखावाटसमेत सर्वसाधारण आउने गरेका छन् । माघे संक्रान्ति गोरु जुधाई महोत्सव समितिका अनुसार यसपटक चन्दनीको कटहरबोट पाटामा १२ हल गोरु जुधाउने तयारी गरिएको छ ।


सर्वाधिक रुचाइएको