निर्वाचन प्रहरीका लागि आवेदन दिनेहरुको भीड

युवाहरु धेरै
लोकखवर विशेष संवाददाता
२०८२ पुष २९, मंगलवार २३:१४

बिदुर– निर्वाचनका लागि खटाइने निर्वाचन प्रहरीका लागि नुवाकोटमा आवेदन अर्थात् दरखास्त दिनेहरुको भीड लागेको छ । दरखास्त दिनेहरुमा मिश्रित उमेर समूहका रहेका छन् ।

आगामी फागुन २१ गते घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माग गरिएको निर्वाचन प्रहरीका लागि नुवाकोटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा दरखास्त दिनेको भीड लागेको छ । नुवाकोटमा मंगलवारसम्म नेपाल प्रहरीतर्फ एकहजार ९० र सशस्त्र प्रहरीतर्फ एकसय ८३ जनाले आवेदन दर्ता गरिसकेका छन् ।

नुवाकोटमा नेपाल प्रहरीतर्फ एकहजार आठसय र सशस्त्र प्रहरीतर्फ एकसय ८९ जना निर्वाचन प्रहरी माग गरिएकोमा फाराम भर्नेहरु दैनिक वढिरहेका छन् । यहि अनुपातमा आवेदन भर्नेहरु आउने हो भने संख्या धेरै हुने जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

दैनिक रुपमा प्रहरी कार्यालय खुलेसँगै विदुरस्थित जिल्ला र प्रहरी सशस्त्र परिसर बाहिर निर्वाचन प्रहरीका लागि फर्म भर्नेको भीड लागेको छ । निर्वाचन प्रहरीमा भर्ना हुने युवाहरुको आकर्षण देखिएको छ ।

अनुभव र केहि आयआर्जन पनि हुने भएका कारण निर्वाचन प्रहरीका लागि दरखास्त दिनेहरुको भीड लागेको हो । नुवाकोटमा इलाका प्रहरी कार्यालय ककनी र खरानीटारमासमेत निर्वाचन प्रहरीको आवेदन दिने वयवस्था मिलाइएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले वताए ।

मागको संख्या पुगिसकेको सशस्त्र प्रहरी वल १९ नं. गुल्म विदुरले जनाएको छ । एकसय ८९ जना माग भएकोमा मंगलवारसम्म एकसय ८३ जनाले आवेदन दर्ता गराइसकेको गुल्म प्रमुख तथा प्रहरी नायव उपरिक्षक गंगा केसीको भनाई छ ।

साधारण लेखपढ गर्न जान्ने १८ वर्ष पूरा भइ ५४ वर्ष उमेर ननाघेका नेपाली नागरिकहरूले निर्वाचन प्रहरीमा भर्नाका लागि दरखास्त दिन सक्नेछन् । नुवाकोटमा नेपाल प्रहरी र सशस्त्र गरि चार वटा स्थानमा आवेदन फर्म दर्ता गर्ने कार्य भइरहेको छ ।

निर्वाचन प्रहरीले सेवा अवधिमा प्रतिदिन नेपाल प्रहरी जवानको शुरू तलब स्केल बराबर पारिश्रमिक पाउने छन् । निर्वाचन प्रहरीमा भर्ना हुन चाहनेहरूले आगामी माघ १ गते विहीवारसम्म आवेदन दिने सक्नेछन् ।

प्रहरी प्रधान कार्यालयले एकलाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी माग गरेको हो । वेरोजगारी समस्याका कारण पनि उक्त निर्वाचन प्रहरीमा आकर्षण वढेको जनाइएको छ ।


सर्वाधिक रुचाइएको