पुडासैनी प्रवेश गरे रास्वपा

– ‘राजनीतिक सुधारको आवस्यकता’
लोकखबर
२०८२ पुष ३०, बुधबार १५:४५

बिदुर– नुवाकोटको कुमरीका कम्युनिष्ट राजनीतिमा लागेका एक जना युवाले दल छाडेको केहि महिनापछि नयां दलमा प्रवेश गरेका छन् । उनले देशमा अव राजनीतिक सुधारको आवस्यकता ठानी त्यसवाट मात्रै जनताको मुहारमा खुसी ल्याउन सकिने जनाउंदै नयां दलमा प्रवेश गरेका हुन् । माओवादी केन्द्रमा लामो समय सक्रिय रहँदै आएको बेलकोटगढी नगरपालिका ३ कुमरीका युवा केशब पुडासैनी (बिमल) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका हुन् ।

उनले आफ्नो नयां राजनीतिक जीवन अव रास्वपावाट सुरु भएको वताए । राजनीतिक यात्रा क्रममा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका पुडासैनीले देशमा वैकल्पिक राजनीति आवश्यक भएको ठहर गर्दै रास्वपामा आवद्ध भएको बताएका छन् । उनले सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिक अभ्यासलाई प्राथमिकता दिने उद्देश्यका साथ नयाँ पार्टी रोजेको उल्लेख गरे ।

पुडासैनीलाई रास्वपा उपसभापति डिपी अर्यालले पार्टी प्रवेश गराएका हुन् । अर्यालले पुडासैनीजस्ता युवाहरुको पुराना दलहरुले सम्वद्र्धन गर्न नसक्नु देशकै लागि दुर्भाग्य भएको वताए । उनले रास्वपामा प्रवेशले राजनीतिक गतिविधिमा परिवर्तन आउने दावी गरे ।

कम्युनिस्ट आन्दोलनका अनुभवी व्यक्तित्व तथा साहित्यकारसमेत रहेका पुडासैनी लामो समय तत्कालीन माओवादी केन्द्रमा सक्रिय रहेका थिए । पुडासैनीको निर्णयलाई वैकल्पिक राजनीतिको खोजी र सुशासनको पक्षमा उठेको आवाजका रूपमा हेरिएको छ । गत २०३१ सालमा कुमरीमा जन्मिएका पुडासैनी नेपाली, हिन्दी र अंग्रेजी भाषामा दख्खल राख्छन् ।

उनको राजनीतिक यात्रा २०४४ सालबाट अनेरास्ववियुबाट सुरु भएको थियो । विद्यार्थीकालमा जिल्ला कमिटी सदस्य हुदै केन्द्रीय सदस्यसम्म पुग्दै उनले संगठन विस्तार र युवा जागरणमा उल्लेखनीय भूमिका निर्वाह गरेको वताएका छन् । माओवादी केन्द्रमा आबद्ध भएपछि युवा संगठन, जिल्ला तथा प्रदेश संरचनामा महत्वपूर्ण जिम्मेवारी सम्हालेका उनले जनसम्पर्क अभियान, संगठन सुदृढीकरण र राजनीतिक प्रशिक्षणमा सक्रियता देखाएका थिए ।

जनयुद्धको समयमा क्रान्तिकारी सपनाको उर्जा बोकेका पुडासैनी हजारौं युवामध्ये एक रहेका उनले व्यक्तिगत भविष्यभन्दा सामाजिक रूपान्तरणलाई प्राथमिकता दिएको वताउंछन् ।


सर्वाधिक रुचाइएको