तारकेश्वरको गोरु जुधाई सांस्कृतिक पर्व
बिदुर– लामो समयदेखि गरिदै आएको तारुकाको माघे संक्रान्ति मेलालाई यस वर्षदेखि सांस्कृतिक पर्वका रूपमा मनाउन थालिएको छ । उक्त अवसरमा गरिने गोरु जुधाई मेलालाई सांस्कृतिक र मनोरन्जनात्मक गराइएको छ । तारुकाको पहिचान र मौलिकता वोकेको गोरु जुधाई मेलालाई तारकेश्वर गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरलले तारकेश्वरको गौरव रहेका कारण यसलाई सांस्कृतिक पर्वको रुपमा उठान गरिएको वताए ।

तारकेश्वर गोरु जुधाई मेला व्यवस्थापन र पुरस्कारका लागि तारकेश्वर गापाले चारलाख रुपैया बजेट विनियोजन गरेको छ । माघे संक्रान्ति मेलालाई राजनीतिक श्रृंखला र अतिथीहरुको भाषणबाजीबाट मुक्त गरी विशुद्ध सांस्कृतिक र मनोरञ्जनात्मक पर्वका रुपमा मनाउन आग्रह गरिएको अध्यक्ष अधिकारीको भनाई छ । तारकेश्वर गापा ३ स्थित चन्दनी कटरबोटमा सदियौंदेखि माघे संक्रान्तिका दिन गरिँदै आएको ऐतिहासिक गोरु जुधाई प्रतियोगितासहितको सांस्कृतिक मेलालाई भव्य, सभ्य, आकर्षक र राजनीतिमुक्त पर्वका रूपमा सम्पन्न गर्नका लागि अध्यक्ष अधिकारीले पहलकदमीसहितको चासो देखाएपछि तारुकाको गोरु जुधाईले यस वर्षदेखि सांस्कृतिमय हुने भएको हो ।

अध्यक्ष अधिकारीका अनुसार गोरु जुधाई मेलामा अतिथिहरूलाई प्रमुख, विशिष्ट, विशेष र साधारण भनेर विभाजन नगरी मेलामा उपस्थित सम्पूर्ण आगन्तुकलाई एकमुष्ट र समान हैसियतमा यथास्थानमा आतिथ्य ग्रहण गराउने, मेलामा गोरु जुधाइ प्रतियोगिता, सांस्कृतिक झाँकीहरू र सांस्कृतिक मनोरञ्जनात्मक प्रस्तुतिहरू मात्रै समावेश गरिने, भाषणको कार्यक्रम नराख्ने जनाएका छन् । उनले प्रतियोगितामा सहभागी गोरुधनीहरूलाई तत्कालै प्रतियोगिताकै बीचमा पुरस्कार प्रदान गर्ने, पुरस्कार वितरण र सांस्कृतिक झाँकी प्रदर्शनका लागि बनाइने मञ्च स्थानीय खाटहरूको प्रयोग गरी किफायती ढङ्गले निर्माण गर्ने, प्रतियोगिताको व्यवस्थापन किसानहरूसँगको समन्वयमा सम्बन्धित वडाले गर्ने, यसै वर्षदेखि प्रतियोगितालाई राजनीतिक छायाँबाट पूर्णरूपमा अलग राख्ने वताएका छन् ।

यसका साथै अध्यक्ष अधिकारीले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाएको तारकेश्वरको माघे संक्रान्ति गोरु जुधाई मेलामा पछिल्लो समय राजनीतिक विभाजन, दाउपेच तथा घोचपेच र दर्जनौं अतिथिहरूको राजनीतिक तथा अप्रसांगिक भाषणहरुले मनोरञ्जनात्मक सांस्कृतिक पर्वको उद्देश्यभन्दा टाढा पुगिरहेको गुनासो आउन थालेपछि सदियौं पुरानो गोरु जुधाई पर्वको मौलिकतालाई पुरानै ढाँचामा पुनःस्थापित गरी यस पर्वको एकात्मकता र सांस्कृतिक गरिमा कायम राख्ने प्रयास स्वरूप यस्तो विशेष पहलकदमी लिइएको वताए ।













































