राष्ट्रिय हाप्किडो प्रतियोगिताको तयारी पुरा
बिदुर– ग्रामीण खेल पर्यटनमा जोड दिदै नुवाकोटको वेलकोटगढीमा आयोजित मेयर कप तथा चौथो सहिद स्मृति राष्ट्रिय हाप्किडो प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगितामा विजेता तथा उपविजेताले नगद पुरस्कार प्राप्त गर्नेछन् । नुवाकोट जिल्ला हाप्किडो संघको आयोजनामा तथा बेलकोटगढी नगरपालिकाको व्यवस्थापनमा फागुन १ गतेदेखि दुई दिने “मेयर कप तथा चौथो सहिद स्मृति राष्ट्रिय हाप्किडो प्रतियोगिता–२०८२” आयोजना गरिएको हो ।

यस प्रतियोगितामा विभिन्न उमेर समूह र तौल वर्ग अन्तर्गत कुल ३० स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा विभिन्न टिमसहित तीनसय ५० जना खेलाडीहरूले सहभागिता जनाउने आयोजक संघका अध्यक्ष प्रवीण गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा स्थानीय तथा राष्ट्रिय खेलाडिहरु पदक जित्ने लक्ष्यसहित उच्च मनोबल, अनुशासन र खेलभावनाका साथ प्रतिस्पर्धामा उत्रनेछन् ।

उक्त प्रतियोगिता खेल पर्यटन तथा शारिरीक मजवुतीको लागि आयोजना गरिएको र खेलकुद कार्यक्रम मात्र नभई, स्थानीय नेतृत्वको खेलकुदप्रतिको प्रतिबद्धता र युवापुस्तालाई सकारात्मक दिशामा अघि बढाउने राष्ट्रिय अभियानको रूपमा स्थापित भएको मेयर जगतवहादुर गुरुङले जानकारी दिए । उनले वेलकोटगढी नपाको योजना अनुरूप आयोजित प्रतियोगिताले स्थानीय तहबाट राष्ट्रिय खेलकुदको विकास रहेकोे सन्देश प्रवाह गर्नुका साथै, खेलकुदमार्फत अनुशासन, आत्मविश्वास, देशप्रेम र सामाजिक एकता प्रवद्र्धन गर्ने मूल उद्देश्य रहेको छ । उक्त राष्ट्रियस्तरको प्रतियोगितामा नेपालका सातै प्रदेशबाट खेलाडिहरूको सहभागिता रहनेछ ।

हाप्किडो खेललाई राष्ट्रिय एकताको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको मेयर गुरुङले वताए । प्रतियोगिताले नयाँ खेल प्रतिभाको पहिचान, प्रवद्र्धन तथा उत्पादन, खेलाडीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, तथा अन्तर–प्रदेशीय खेल सद्भाव मजबुत बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा फाइट (क्योरुगी), हुसिनसुल, टिम डेमोन्स्ट्रेशन, हाइफल तथा लङफल गरी ५ विद्यामा प्रतिस्पर्धा हुनेछ ।

फाइट (क्योरुगी) तर्फ क्याडेट, जुनियर र सिनियर गरी उमेर समूह अनुसार तथा प्रत्येक डिभिजनभित्र तौल समूहका आधारमा प्रतिस्पर्धा सञ्चालन गरिनेछ, जसले खेललाई पूर्ण रूपमा निष्पक्ष, सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्न सहयोग पु¥याउनेछ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । टिमतर्फ उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ ।

प्रतियोगितामा टिम च्याम्पियनलाई नगद ३० हजार, उपविजेतालाई नगद २० हजार, तेस्रोलाई नगद १० हजार रुपैयासहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।प्रतियोगितामा खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूको योगदानलाई कदर गर्दै विशेष पुरस्कारहरूको पनि व्यवस्था गरिएको छ । बेस्ट फाइटर (महिला/पुरुष) दुवैतर्फ जनही नगद पांचहजार, राइजिङ फाइटर (महिला/पुरुष) दुवैतर्फ जनही नगद तीन हजार, बेस्ट कोच (महिला/पुरुष) दुवैतर्फ जनही नगद एकहजार, अनुशासन टिम पुरस्कार नगद दुईहजारका साथै उत्कृष्ट रेफ्री (महिला/पुरुष) दुवैतर्फ नगदका साथ ट्रफी पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा शुक्रवार हाप्किडो डेमोन्स्ट्रेशन प्रदर्शनसहित लाखे नाच, धामीझाँक्री, पञ्चे बाजा, तामाङ सेलो लगायत स्थानीय कला, संस्कृति र मौलिक पहिचान झल्काउने नृत्य, गीत तथा संगीत प्रस्तुत गरिनेछ, जसले खेलकुद र संस्कृतिको सुन्दर संगम प्रस्तुत गरिनेछ । “मेयर कप तथा चौथो सहिद स्मृति राष्ट्रिय हाप्किडो प्रतियोगिता–२०८२” ले खेलकुदलाई सम्मान, सहिदको सम्झनालाई प्रेरणा र युवाशक्तिलाई राष्ट्र निर्माणतर्फ उन्मुख गराउने सशक्त अभियानका रूपमा स्थापित हुने आयोजकको विश्वास रहेको वेलकोटगढी नपाले जनाएको छ ।












































