राष्ट्रिय हाप्किडो प्रतियोगिता सुरु

– खेल पर्यटनमा विकास
लोकखवर खेल संवाददाता
२०८२ फाल्गुन १, शुक्रबार २३:३८

बिदुर– खेल पर्यटनमा जोड दिदै नुवाकोटको वेलकोटगढीमा आयोजित मेयर कप तथा चौथो सहिद स्मृति राष्ट्रिय हाप्किडो प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा विजेता तथा उपविजेताले नगद पुरस्कार प्राप्त गर्नेछन् । नुवाकोट जिल्ला हाप्किडो संघको आयोजनामा तथा बेलकोटगढी नगरपालिकाको व्यवस्थापनमा शुक्रवारदेखि सन्चालित दुई दिने “मेयर कप तथा चौथो सहिद स्मृति राष्ट्रिय हाप्किडो प्रतियोगिता–२०८२” को मेयर जगतवहादुर गुरुङले उद्घाटन गरे ।

उनले खेल पर्यटनवाट वेलकोटगढीको चिनारी अझै वढाउने वताए । मेयर गुरुङले खेलकुदको प्रवद्र्धन तथा विकासका लागि नगरपालिकाले विशेष कार्य गरिरहेकोसमेत वताए । यस प्रतियोगितामा विभिन्न उमेर समूह र तौल वर्ग अन्तर्गत कुल ३० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएको छ ।

उक्त प्रतियोगितामा विभिन्न टिमसहित तीनसय ५० जना खेलाडीहरूले सहभागिता जनाएको आयोजकले जनाएको छ । प्रतियोगितामा स्थानीय तथा राष्ट्रिय खेलाडिहरु पदक जित्ने लक्ष्यसहित उच्च मनोबल, अनुशासन र खेलभावनाका साथ प्रतिस्पर्धामा उत्रिएका छन् । उक्त प्रतियोगिता खेल पर्यटन तथा शारिरीक मजवुतीको लागि आयोजना गरिएको र खेलकुद कार्यक्रम मात्र नभई, स्थानीय नेतृत्वको खेलकुदप्रतिको प्रतिबद्धता र युवापुस्तालाई सकारात्मक दिशामा अघि बढाउने राष्ट्रिय अभियानको रूपमा स्थापित भएको उपमेयर शिवप्रसाद दाहालले वताए ।

उनले वेलकोटगढी नपाको योजना अनुरूप आयोजित प्रतियोगिताले स्थानीय तहबाट राष्ट्रिय खेलकुदको विकास रहेकोे सन्देश प्रवद्र्धन गर्नुका साथै, खेलकुदमार्फत अनुशासन, आत्मविश्वास, देशप्रेम र सामाजिक एकता प्रवद्र्धन गर्ने वताए । उक्त राष्ट्रियस्तरको प्रतियोगितामा नेपालका सातै प्रदेशबाट खेलाडिहरूको सहभागिता रहेको छ । हाप्किडो खेललाई राष्ट्रिय एकताको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको आयोजकको भनाई छ।

प्रतियोगिताले नयाँ खेल प्रतिभाको पहिचान, प्रवद्र्धन तथा उत्पादन, खेलाडीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, तथा अन्तर–प्रदेशीय खेल सद्भाव मजबुत बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा फाइट (क्योरुगी), हुसिनसुल, टिम डेमोन्स्ट्रेशन, हाइफल तथा लङफल गरी ५ विद्यामा प्रतिस्पर्धा भइरहेको छ । फाइट (क्योरुगी) तर्फ क्याडेट, जुनियर र सिनियर गरी उमेर समूह अनुसार तथा प्रत्येक डिभिजनभित्र तौल समूहका आधारमा प्रतिस्पर्धा भइरहेको छ । यसले खेललाई पूर्ण रूपमा निष्पक्ष, सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्न सहयोग पु¥याउने छ ।

उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । टिमतर्फ उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ । प्रतियोगितामा टिम च्याम्पियनलाई नगद ३० हजार, उपविजेतालाई नगद २० हजार, तेस्रोलाई नगद १० हजार रुपैयासहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूको लागि विशेष पुरस्कारहरूको पनि व्यवस्था गरिएको छ ।

बेस्ट फाइटर (महिला/पुरुष) दुवैतर्फ जनही नगद पांचहजार, राइजिङ फाइटर (महिला/पुरुष) दुवैतर्फ जनही नगद तीन हजार, बेस्ट कोच (महिला/पुरुष) दुवैतर्फ जनही नगद एकहजार, अनुशासन टिम पुरस्कार नगद दुईहजारका साथै उत्कृष्ट रेफ्री (महिला/पुरुष) दुवैतर्फ नगदका साथ ट्रफी पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा शुक्रवार हाप्किडो डेमोन्स्ट्रेशन प्रदर्शनसहित लाखे नाच, धामीझाँक्री, पञ्चे बाजा, तामाङ सेलो लगायत स्थानीय कला, संस्कृति र मौलिक पहिचान झल्काउने नृत्य, गीत तथा संगीत प्रस्तुत गरिएको छ । उद्घाटन कार्यक्रममा सहभागी वडाध्यक्षहरुले खेलकुद र संस्कृतिको सुन्दर संगम गराई खेलकुदलाई सम्मान, सहिदको सम्झनालाई प्रेरणा र युवाशक्तिलाई राष्ट्र निर्माणतर्फ उन्मुख गराउने सशक्त अभियानका रूपमा स्थापित हुने वताए ।


सर्वाधिक रुचाइएको