बागमतिले जित्यो राष्ट्रिय हाप्किडोको उपाधि

– नगद पुरस्कार थापे
लोकखवर खेल संवाददाता
२०८२ फाल्गुन ४, सोमबार २३:४८

बिदुर– खेल पर्यटनमा जोड दिदै नुवाकोटको वेलकोटगढीमा आयोजित मेयर कप तथा चौथो सहिद स्मृति राष्ट्रिय हाप्किडो प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विजेता तथा उपविजेताले नगद पुरस्कार प्राप्त गरेका छन् । नुवाकोट जिल्ला हाप्किडो संघको आयोजनामा तथा बेलकोटगढी नगरपालिकाको व्यवस्थापनमा सम्पन्न दुई दिने “मेयर कप तथा चौथो सहिद स्मृति राष्ट्रिय हाप्किडो प्रतियोगिता–२०८२” का विजेता तथा उपविजेतालाई मेयर जगतवहादुर गुरुङले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा सर्वाधिक स्वर्ण पदक जितेर बागमती टिम उपाधि विजेता भएको छ । वागमतिले कुल १९ स्वर्ण, १३ रजत र ३४ कास्य पदकसहित प्रथम स्थान हासिल गरेको हो । प्रतियोतिमा ६ स्वर्णसहित लुम्बिनी टिमले दोस्रो पुरस्कार जितेको छ ।

लुम्विनीले १० रजत र १४ कास्य पदक जितेको हो । ५ स्वर्णसहित कर्णालीले तेस्रो स्थानको पुरस्कार जित्यो । कर्णालीले सात रजत र १६ कास्य पदक जितेको हो । दुई दिनसम्म सन्चालन भएको प्रतियोगितामा विभिन्न उमेर समूह र तौल वर्ग अन्तर्गत कुल ३० स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरिएको आयोजकले जनाएको छ ।

विजेता तथा उपविजेतालाई पुरस्कृत गर्दै वेलकोटगढी नपाका मेयर जगतवहादुर गुरुङले यस प्रतियोगिताले खेल पर्यटनवाट वेलकोटगढीको चिनारी अझै वढाउन मद्धत गरेको वताए । उनले खेलकुदको प्रवद्र्धन तथा विकासका लागि नगरपालिकाले विशेष कार्य गरिरहेकोसमेत वताए । उनले वेलकोटगढी नपाको योजना अनुरूप आयोजित प्रतियोगिताले स्थानीय तहबाट राष्ट्रिय खेलकुदको विकास रहेकोे सन्देश प्रवद्र्धन गर्नुका साथै, खेलकुदमार्फत अनुशासन, आत्मविश्वास, देशप्रेम र सामाजिक एकता प्रवद्र्धन गरेको वताए । उक्त प्रतियोगितामा विभिन्न टिमसहित तीनसय ५० जना खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा स्थानीय तथा राष्ट्रिय खेलाडिहरु पदक जित्ने लक्ष्यसहित उच्च मनोबल, अनुशासन र खेलभावनाका साथ प्रतिस्पर्धामा उत्रिएका थिए । उक्त प्रतियोगिता खेल पर्यटन तथा शारिरीक मजवुतीको लागि आयोजना गरिएको र खेलकुद कार्यक्रम मात्र नभई, स्थानीय नेतृत्वको खेलकुदप्रतिको प्रतिबद्धता र युवापुस्तालाई सकारात्मक दिशामा अघि बढाउने राष्ट्रिय अभियानको रूपमा स्थापित भएको उपमेयर शिवप्रसाद दाहालले वताए ।

उक्त राष्ट्रिय प्रतियोगितामा नेपालका सातै प्रदेशबाट खेलाडिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताले हाप्किडो खेललाई राष्ट्रिय एकताको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको आयोजकको भनाई छ । प्रतियोगितामा फाइट (क्योरुगी), हुसिनसुल, टिम डेमोन्स्ट्रेशन, हाइफल तथा लङफल गरी ५ विद्यामा प्रतिस्पर्धा गरिएको थियो । फाइट (क्योरुगी) तर्फ क्याडेट, जुनियर र सिनियर गरी उमेर समूह अनुसार तथा प्रत्येक डिभिजनभित्र तौल समूहका आधारमा प्रतिस्पर्धा गरिएको प्रतियोगिता संयोजक विकास गुरुङले जानकारी दिए ।

उत्कृष्ट खेल प्रदर्शन गरेका खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । टिमतर्फ उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई नगद पुरस्कार प्रदान गरिएको छ ।
प्रतियोगितामा टिम च्याम्पियनलाई नगद ३० हजार, उपविजेतालाई नगद २० हजार, तेस्रोलाई नगद १० हजार रुपैयासहित ट्रफी प्रदान गरिएको छ । प्रतियोगितामा खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूको लागि विशेष पुरस्कार प्रदान गरिएको छ ।

प्रतियोगितथामा बेस्ट फाइटर (महिला÷पुरुष) दुवैतर्फ जनही नगद पांचहजार, राइजिङ फाइटर (महिला÷पुरुष) दुवैतर्फ जनही नगद तीन हजार, बेस्ट कोच (महिला÷पुरुष) दुवैतर्फ जनही नगद एकहजार, अनुशासन टिम पुरस्कार नगद दुईहजारका साथै उत्कृष्ट रेफ्री (महिला÷पुरुष) दुवैतर्फ नगदका साथ ट्रफी पुरस्कार पाएका छन् ।

 


सर्वाधिक रुचाइएको