बिदुर ६ मेयर कपको उपाधि बिजेता

– तेज उत्कृष्ट खेलाडि, खेलाडिको पहिचान र प्रवद्र्धनमा मद्धत
लोकखवर खेल संवाददाता
२०८२ फाल्गुन ९, शनिबार २३:४१

बिदुर – नुवाकोटको इनारपाटीमा सन्चालित प्रथम वडास्तरीय मेयर कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको फाइनल खेल शनिवार समपन्न भएको हो । फाइनल खेलको उपाधि विदुर नगरपालिका–६ ले जितेको छ । निकै आकर्षक, प्रतिस्पर्धात्मक, रोमान्चक र सनसनीपूर्ण फाइनल खेलमा संघर्षपुर्ण चुनौतीका वीच घरेलु मैदानमा विदुर ६ ट्राइब्रेकरमार्फत विजयी भएको हो ।

घरेलु मैदानमा विदुर–६ ले विदुर–९ लाई ट्राइब्रेकरमा चारका विरुद्ध पांच गोलले पराजित गर्दै उपाधि उचालेको हो । इनारपाटी खेल मैदानमा भएको खेलमा निर्धारित समयमा दुवै टोलीले एक÷एक गोल गरि खेल वरावरीमा भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पहिलो हाफमा विदुर–९ का तेजबहादुर घलेले फ्रिकिकमार्फत आकर्षक गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए ।

खेल सकिन केही समयमात्र बाँकी रहँदा विदुर–६ का विक्रम लामिछानेले गोल फर्काएपछि खेल वरावरीमा पुगेको थियो । उक्त खेलमा खेल बराबरी वनाउन गोल फर्काएका विक्रम लामिछाने ‘म्यान अफ द म्याच’ को पुरस्कृत भए । विजेता विदुर–६ ले नगद एकलाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पायो ।
उपविजेता विदुर–९ ले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र थापेको छ ।

प्रतियोगिता अवधिभर खेलका अन्य विद्यातर्फ विदुर–९ का तेज घले उत्कृष्ट खेलाडि पुरस्कृत भए । विजेता विदुर–६ का उमेश कुमाल उदीयमान खेलाडी भए भने उत्कृष्ट गोलरक्षकमा समर श्रेष्ठ र उत्कृष्ट डिफेन्डरमा सन्तोष केसी पुरस्कृत भए । विदुर–९ का ईमान तामाङले सर्वाधिक गोलकताको पुरस्कार थापे । यि सबै विद्याका विजेताले जनही ५ हजार रुपैयाँसहित प्रमाणपत्र पाएका छन् ।

विजेता तथा उपविजेतालाई बिदुर नपाका मेयर राजन श्रेष्ठले पुरस्कृत गरे । उनले खेलाडिहरुको पहिचान र प्रवद्र्धनको उद्धेश्यले सन्चालित यस प्रतियोगिताले खेलाडिहरुको खेल कौशल प्रदर्शनको अवसरसमेत भएको वताए । विदुर नपाले खेललाई विशेष प्राथमिकतामा राखेकोसमेत उनले वताए ।

कार्यक्रममा विदुर नपाकी उपमेयर प्रभा बोगटीले लगायतले खेल क्षेत्रलाई बिदुर नपाले प्राथमिकता दिइरहेको बताउँदै स्थानीय सरकारसँग सहकार्य गर्न आग्रह गरिन् ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिजय गुरुङ, न्यु इनारपाटी युथ क्लबका अध्यक्ष धिरज सापकोटा, आयोजक तथा बिदुर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसे, अखिल नेपाल फुटवल संघ बागमती प्रदेशका सहमहासचिव सुरजप्रसाद श्रेष्ठ, बागमती प्रदेश फुटबल सङ्घका सदस्य रामकुमार कोइराला, फुटबल संघका उपाध्यक्ष सनी चित्रकार र अच्युतराज महन्तगिरी, महासचिव विष्णु चालिसलगायतले विजेता तथा उपविजेताहरुलाई पुरस्कृत गर्दै खेल क्षेत्रको महत्वका सम्वन्धमा चर्चा गरे ।

न्यु इनारपाटी युवा क्लबको आयोजनामा तथा विदुर नगरपालिकाको संरक्षकत्वमा भएको प्रतियोगितामा ११ टोली सहभागी थिए । खेलहरू विदुर–६ महारानीडिहीस्थित खेल मैदानमा सञ्चालन गरिएको थियो । १० टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा विभिन्न स्थानीय संघसंस्थाले सहयोग गरेका थिए ।

 


सर्वाधिक रुचाइएको