युवा, विद्यार्थी तथा जेन्जी पुस्ताको साथ मलाई छः एमाले उम्मेदवार मैनाली

– स्थायी विकासका लागि बलियो संगठन र स्पष्ट नीति आवश्यक
विशेष अन्तरवार्ता
२०८२ फाल्गुन १२, मंगलवार २२:५९

राजनीति, परिवर्तन र विकासमा तीन दशकदेखि नुवाकोटमाझ चर्चित नाम हो वद्री मैनाली । युवालगायत सवै समुदायमा घुलमिल हुन सक्ने र सवैलाई साथ लिएर अगाडि वढ्ने क्षमता भएकै कारण नुवाकोटको सुर्यगढी गाउंपालिकाका ४८ वर्षिय मैनाली नेकपा एमाले नुवाकोटको साधारण सदस्य हुदै हाल दोश्रो कार्यकाल अध्यक्ष विताइरहेका छन् । उनी एमाले क्षेत्रिय उपाध्यक्ष, जिल्ला उपाध्यक्ष हुदै अध्यक्षको जिम्मेवारीमा पुगेका हुन् । एमाले केन्द्रीय शिक्षा विभागको सदस्यको जिम्मेवारीसमेत निभाइसकेका मैनाली देश परिवर्तनका लागि युवा, जेन्जी, विद्यार्थी, सवै समुदायको भावना समेटेर आफुले कार्य गर्ने वताउंछन् । गत २०७४ सालको प्रदेश सभा सदस्य निर्वाचनमा नुवाकोट १ को २ वाट विजयी भई कृषि राज्यमन्त्रिको अनुभवसमेत वटुलेका मैनालीले आफुले कृषि र कृषकको क्षेत्रमा प्रत्यक्ष प्रभावकारी योजना ल्याउने वताउंछन् । आधुनिक र व्यवहारिक शिक्षाको पक्षमा रहेका मैनाली आफु र आफ्नो दललाई पछिल्लो पटक युवा तथा विद्यार्थी समुदायले साथ दिने क्रम वढेको दावी गर्दछन् । चुनावी अभियानका क्रममा गाउंघरमा मतदातामाझ पुगिरहेका व्यस्त मैनालीसंग लोकखवरका लागि गरिएको कुराकानीको सारसंक्षेपः

चुनावी अभियानमा के गर्दै हुनुहुन्छ?
–जनताको घरघर पुगिरहेको छु । उनीहरुको सवै समस्याहरु मलाई जानकारी छ । आफ्नो पक्षमा माहौल वनाइरहेको छु । तीन वर्ष अगाडिको निकटतम प्रतिष्स्पर्धालाई अव सवैको साथ लिएर जित निकाल्ने अभियानमा जुटेको छु । मलाई विस्वास छ, नुवाकोट–१ मा परिवर्तन र विकासको मुहान खोल्ने योजनामा आम मतदाताले मलाई साथ दिनुहुनेछ ।

नुवाकोट–१ मा  लामो समयदेखि पुराना दलहरूले नै प्रतिनिधित्व गर्दै आएका छन् । आफुलाई के चुनौती देख्नुहुन्छः
२०५१ सालदेखि एउटै धारका नेतृत्वले क्षेत्र सम्हाल्दै आएका छन् । संसदमा प्रतिनिधित्व भयो । तर, जनताको दैनिक जीवनमा अपेक्षित रूपान्तरण देखिएन भन्ने गुनासो व्यापक छ । कच्ची सडक, सिँचाइ अभाव, रोजगारी संकट, युवाको पलायन—यी समस्या अझै यथावत् छन् । म २०५५ सालदेखि संगठनको तल्लो तहबाट काम गर्दै आएको युवा व्यक्ति हुँ । जनताको पीडा नजिकबाट बुझेको छु । म परिवर्तनको नारा मात्र होइन, परिणाम दिने प्रतिबद्धता लिएर आएको छु । अब निरन्तरता होइन, परिणाम चाहिएको छ ।

तपाईं किन आफूलाई परिवर्तनको विकल्प मान्नुहुन्छ ?
–आफुलाई युवा, विद्यार्थीलगायत सवै प्रकारका समुदायको साथ रहेको र प्रदेश सभामासमेत सकारात्मक, रचनात्मक र जनपक्षिय कार्य गरेका कारण जनताले मलाई परिवर्तनका विकल्पका रुपमा यस पटक साथ दिने विस्वास लिएको छु ।

मतदाताले किन तपाईंलाई विश्वास गर्ने? तपाईंको संगठनात्मक पृष्ठभूमि कति बलियो छ ?
–म कुनै भीडमा आकस्मिक रुपमा देखिएको अनुहार होइन । क्षेत्रीय उपाध्यक्ष, जिल्ला उपाध्यक्ष हुँदै दुई कार्यकाल जिल्ला अध्यक्षको जिम्मेवारी सम्हालिसकेको छु । आफ्नो दल नेकपा एमालेको शिक्षा तथा मानवस्रोत विकास विभागको केन्द्रीय सदस्यको रूपमा पनि काम गरिसकेको छु । पार्टीभित्र निरन्तर जिम्मेवारी पाउनु मप्रति भरोसाको संकेत हो । तीन वर्ष अगाडिको चुनाव हार्दा पनि जनताको क्षेत्र नछोडी जनतामाझ बसेको व्यक्ति हुं । जनताका हर समस्या सुनेको छु, समाधानको पहल गरेको छु । हरेक क्षेत्रमा सकेको सहयोग गरेको छु । क्षमता अनि साधनश्रोतले सकेको विकास गरेको छु । म कहिले पनि चुनावका बेला मात्र देखिने नेता होइन । यसर्थ, मलाई मतदाताले विस्वास गर्ने आधार अरु पनि छन् ।

२०७४ सालमा प्रदेश सभा सदस्य र कृषि राज्यमन्त्री हुँदा के अनुभव लिनुभयो ?
–त्यो समय छोटो थियो, तर प्राथमिकता स्पष्ट थियो—कृषि । नुवाकोट किसान बहुल जिल्ला हो । सिँचाइ विस्तार, अनुदान, आधुनिक उपकरण, किसान समूह सशक्तीकरण र नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न लागि पहल र मानब र बन्यजत्तु द्वन्द्व निवारण जस्तै (बादँर, बदेल, दुम्सी ) लगायत नियन्त्रण लागि आश्यक कानून निर्माण प्रकिया अगाडि बढाउन प्रदेस सभामा भुमिका निर्वाह गरेँ । सयौं योजना नुवाकोटमा पारेको छु । छोटो अवधिमा पनि जनताको काम गर्न सकिन्छ भन्ने सन्देश दिएको छु । अब जनताले चुनेर संघीय सांसदको रूपमा अवसर पाएँ भने कृषि आधुनिकीकरण, प्रशोधन उद्योग र बजार सुनिश्चिततामा ठोस योजना ल्याउनेछु । किसानको उत्पादनले मूल्य पाउने वातावरण बनाउनु मेरो पहिलो प्राथमिकता हुनेछ । समृद्ध नुवाकोट बनाउन निरन्तर लागि पर्नेछु ।

२०७९ सालको चुनावमा झण्डै दुई हजार बढी मतले पराजित हुनुभयो । यसलाई कसरी हेर्नुहुन्छ ?
–त्यो वेलाको चुनाव गठबन्धन र एक्लो दल एमालेबीचको प्रतिस्पर्धा थियो । पाँच दलसँग म एक्लै चुनाव लडेको थिएँ । त्यस्तो अवस्थामा पनि २३ हजारभन्दा बढी मत प्राप्त गर्नु संगठनात्मक र व्यक्तिगत कार्यको प्रमाण हो । समानुपातिक मत परिणामले एमालेको संरचनागत आधार अझ बलियो देखाएको छ । त्यो पराजयले मलाई निराशा होइन, अझ परिपक्व, अनुभवी अनि उत्साही बनायो । यसपटक रणनीति स्पष्ट छ—युवा, तटस्थ र परिवर्तन खोज्ने मतलाई एकताबद्ध गर्ने । राष्ट्र र राष्ट्रियता जोगाउँदै दिगो विकास र समृद्धि गर्न सक्ने पार्टीलाई जनताले मत दिनेछन् भन्ने विश्वास छ ।

परम्परागत नेतृत्वप्रति असन्तुष्टि बढेको भनिन्छ । यसमा तपाईंको भनाई के छ ?
–हो, जनताको प्रश्न जायज छ—“यतिका वर्ष प्रतिनिधित्व हुँदा पनि किन अपेक्षित परिवर्तन भएन?” पटक–पटक अवसर पाउँदा पनि क्षेत्रले समुचित प्राथमिकता नपाउनु दुर्भाग्य हो । म कसैको व्यक्तिगत आलोचना गर्न चाहन्न । तर, परिणामको आधारमा मूल्यांकन हुनुपर्छ । नुवाकोट–१ अब प्रयोगशाला बन्नु हुँदैन । अब परिणाममुखी नेतृत्व चाहिन्छ । धेरै पटक मन्त्री भएर, धेरै पटक सांसद भएर मात्र हुँदैन । काम गर्न सक्ने इच्छाशक्ति, नीति, विचार र योजना हुनुपर्छ । आफुमा त्यो क्षमता रहेको र त्यसलाई प्रमाणित गर्न जनताको मत चाहिन्छ ।

चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता नयाँ शक्तिको उदयले चुनावी गणित कसरी बदल्छ ?
–नयाँ शक्तिको उदय लोकतन्त्रका लागि स्वभाविक हो । पुराना दलले केहि गरेनन् भन्ने भाष्य वनाइएको छ । तर, त्यो सत्य होइन् । देशका हरेक परिवर्तन र जनताको आवाजमा एमालेले सदै साथ दिइरहेको दल हो । देशमा स्थायी विकासका लागि बलियो संगठन र स्पष्ट नीति आवश्यक हुन्छ । यदि मत विभाजन परम्परागत दलमा भयो र हाम्रो आधार स्थिर रह्यो भने परिवर्तनको नेतृत्व हामीले गर्न सक्छौं । हाम्रो लक्ष्य अंकगणित मात्र होइन—जनताको विश्वास जित्नु हो । अनुहार नयाँ हुनु मात्रै पर्याप्त हुँदैन, काम गर्ने क्षमता र दीर्घकालीन दृष्टि चाहिन्छ ।

तपाइले मतदातामाझ तादी र लिखु खोलालाई थुनेर ताल बनाउने, माछा पाल्ने कुरा गर्नुभएको छ ? यो के सम्भव छ र ?
–हेर्नुस, गरे अनि इच्छाशक्ति भए असम्भव भन्ने के छ र? मन र मस्तिष्कले काम गर्नुपर्छ, दृढ इच्छाशक्ति हुनुपर्छ—सबै सम्भव छ । मैले तादी, लिखु र सिन्दुरे खोलामा तटबन्धन गरी कृषि योग्य जमिन र बस्तीलाई असर नपर्ने गरी कृत्रिम ताल निर्माण गर्ने सम्भावनाको कुरा गरेको हुँ । जल पर्यटनको कुरा गरेको हुं, सम्भावनाको उजागर गरेको हुं । कृषि पर्यटन, जल पर्यटन र माछापालनमार्फत स्थानीयलाई रोजगारी सिर्जना गर्न सकिन्छ । विशाल ताल बनाउने होइन, सम्भाव्यता अध्ययन र लागत अनुमान गरेर सुरक्षित संरचना बनाउने कुरा गरेको हुं । कृषियोग्य जमिन अझ संरक्षित हुने गरी तटबन्धन गर्ने, बस्ती व्यवस्थित बनाउने र आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने योजना हो । यसले पर्यटन, प्रवद्र्धन र रोजगारी सिर्जना गर्छ भन्ने मेरो विश्वास छ ।

ज्नतामाझ पुगिरहनु भएको छ, मतको आंकलन कस्तो गर्नुभयो?
हेर्नु, सवै चुनाव जित्न भनेर नै जनतामाझ जाने हो । जनसमथर्न हेर्दा एमालेको पक्षमा माहौल अवस्य देखिएको छ । यसलाई मैले यसरी भन्छु, भोलि नै चुनाव भयो भने पाँच हजार फरक मतले जित्छु, मतलाई संरक्षण गर्न जरुरी देखेको छु ।

पहिलेको निर्वाचनको आधार मान्नु भएको हो?
हेर्नुस, त्यो पनि आधार नै हो । अहिले पनि जनसर्थन वेग्लै छ । अघिल्लो निर्वाचनमा ठूला दलहरूको महागठबन्धन हुँदासमेत मैले २३ हजार मत ल्याएको हो । गठवन्धनसंग केहि मतान्तरले पराजित भएको कारण अहिले एकल प्रतिस्पर्धामा आफू विजयी हुने विश्वास छ । क्षेत्र नं. १ को कुरा गर्दा एमालेको सबैभन्दा बढी समानुपातिक मत १६ हजार रहेको भन्दै पार्टी संगठन बलियो रहेको र जनमत एमालेको पक्षमा रहेको छ ।

अन्त्यमा, मैले सोध्न र तपाइले केहि भन्न वांकी छन् ?
–हेर्नुस, अढाई दशकको प्रतिक्षा अब अन्त्य गरौं । विकास, रोजगारी, कृषि आधुनिकीकरण र युवा, विद्यार्थीको भविष्य सुनिश्चित गर्ने समय आएको छ । म सधैं भेटिने, काम गर्ने र परिणाम दिने प्रतिनिधि बन्न चाहन्छु । जुन कार्य व्यवहारमै प्रमाणित गरिसकेको छु । तपाइ आम समुदायको एक/एक मतले नुवाकोटको नयाँ अध्याय सुरु गर्न सक्छ । सोचेर, मूल्यांकन गरेर, भविष्यका लागि निर्णय लिन म सबै आम मतदातासँग आग्रह गर्दछु । प्रस्तुतीः देवचन्द्र भट्ट


सर्वाधिक रुचाइएको