बाढीपछिको विपद प्रतिकार्य पुर्नस्थापना कार्यक्रम

– बेलकोटगढी नपा र रेडक्रसवीच साझेदारी
लोकखवर विशेष संवाददाता
२०८३ मंसिर १२, शुक्रबार २१:२३

बिदुर – बाढी गएको तीन महिनापछि नुवाकोटको बेलकोटगढी नगरपालिकामा विपद् प्रतिकार्य पुनस्र्थापना कार्यक्रम सन्चालन भएको छ । यस सम्वन्धमा सम्वन्धित स्थानीय तह र रेडक्रसबीच साझेदारी सुरु भएको छ । बाढीबाट प्रभावित स्थान तथा समुदायको विपद् प्रतिकार्य, पुनर्लाभ र पुनस्र्थापनालाई प्रभावकारी रूपमा अगाडि बढाउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी र बेलकोटगढी नपाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

जसमा विपद् प्रतिकार्य, पुर्नलाभ तथा पुर्नस्थापनाका लागिसहकार्य सुरु भएको रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठले बताए । उनका अनुसार यस समझदारीले बाढीबाट प्रभावित नागरिकहरूको आवश्यकता पहिचान, राहत तथा मानवीय सहायता, जीविकोपार्जनमा सहयोग र प्रभावित समुदायको पुर्नलाभ तथा पुर्नस्थापनाका कार्यलाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । विपद्को समयमा स्थानीय सरकार र मानवीय सेवामा समर्पित संस्थाबीचको सहकार्य, समन्वय र साझेदारीले प्रभावित समुदायको जीवनलाई सामान्य अवस्थामा फर्काउन महत्वपूर्ण योगदान पु¥याउन उपमेयर शिवप्रसाद दाहालले वताए । यस कार्यलाई सरोकारवालाको सहयोग, समन्वय र सहकार्य आवस्यक रहेको उनले वताए ।

बेलकोटगढी नपाका जनप्रतिनिधि, कर्मचारी, रेडक्रस उपशाखा, रेडक्रस सोसाइटीका नेतृत्व, पदाधिकारी, कर्मचारी, स्वयंसेवक तथा सम्पूर्ण सहयोगी निकाय क्रियाशील रहने प्रतिवद्धता जनाइएको छ । मानवता नै धर्म हो, मानव सेवामा समर्पित बनौँ भन्ने मुल मर्मसहित गत भदौ १० गते वुधवार ल्हेन्देखोला हुँदै त्रिशूली नदीमा आएको प्रलयकारी बाढीबाट प्रभावित बेलकोटगढी नगरपालिकाका नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपाल रेडक्रस सोसाइटीले सहयोग गर्ने समझदारीमा उल्लेख गरिएको छ । बाढी प्रभावित नागरिकलाई लक्ष्यित गर्दै बेलकोटगढी नपा र नेपाल रेडक्रस सोसाइटीबीच स्वास्थ्य, शिक्षा, अस्थायी आवास निर्माण, जाडो मौसमका लागि आवश्यक सामग्री वितरण तथा नगद सहयोगलगायतका कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा समझदारी भएको छ ।

जसअनुसार संघीय सरकारको निर्णय र आवश्यक प्रक्रिया पूरा भएपछि बाढीबाट घर पूर्ण रूपमा क्षति भएका प्रभावित परिवारका लागि स्थायी आवास निर्माणमा समेत रेडक्रसले सहयोग गर्नेछ । बेलकोटगढी नपाका उपमेयर शिवप्रसाद दाहाल र रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठबीच सम्झौतामा सहमति आदानप्रदान भएको छ । कार्यक्रममा सो नपाका प्रमुख प्रशासकिय अधिकृत शंकर पाठक, अन्य कर्मचारी, रेडक्रसका पदाधिकारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।बेलकोटगढी नपा र रेडक्रसबीचको पछिल्लो सम्झौताले तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापना तथा स्थायी आवास निर्माणको प्रक्रियालाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । बाढीबाट बेलकोटगढी नपाको ५, ७ र ८ सबैभन्दा बढी प्रभावित भएका छन् ।


सर्वाधिक रुचाइएको