संघीयता कार्यान्वयनमा प्रदेश सरकारको भूमिका
संविधान देशको मूल कानून हो । संविधान सरकारका प्रमुख अङ्गहरू कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको शक्ति, क्षेत्राधिकार र कार्यहरूको व्याख्या गर्ने सर्वोच्च दस्तावेज हो । यसले राज्य र नागरिकबीचको सम्बन्ध निर्धारण गर्दै नागरिकका मौलिक हक तथा अधिकारहरूको सुनिश्चित गरेको छ । संविधानको सामान्य अर्थ राज्यको मूल कानुन बुझिन्छ । संविधान देशको कानूनहरुको दस्तावेज हो । नेपालमा हालसम्म ७ वटा संविधानहरु जारी भएको छ । नेपालको वर्तमान संविधान गत २०७२ साल असोज ३ गते जारी भएको हो ।
यो संविधानको अनुसूची ४ मा उल्लेख भए बमोजिम नेपाललाई ७ प्रदेश ७७ जिल्लाका साथै संविधानको धारा ५६ को उपधारा ४ अनुसार ७५३ स्थानीय तह र ६,७४३ वटा वडामा विभाजित गरी संघीयता स्थापना गरिएको हो । संघीयता राज्यको सम्पूर्ण शासन शक्ति केन्द्रमा मात्र सीमित नराखी केन्द्र, प्रदेश र स्थानीय तहमा बाँडफाँड गरी शासन सञ्चालन गर्ने पद्धति हो । नेपालको सन्दर्भमा राज्यको सार्वभौमसत्ता र राजकीय सत्तालाई संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा स्पष्ट रूपमा विभाजन गरिएको छ । नेपालमा राजतन्त्रविरुद्ध जनआन्दोलनपछि जनहितको संविधान निर्माण पार्ने होडबाजी चल्यो । गत २०६३ सालमा नेपालको अन्तरिम संविधान २०६३ जारी भयो ।
जसले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा परिणत गप्यो । नेपालमा केही वर्षपछि राजतन्त्रको अन्त्य भयो । लगातार दुई वटा संविधान सभा र जनताको वर्षोंको त्याग र परिश्रमपछि नेपालको वर्तमान संविधान २०७२ जारी भयो । यसले नेपाली जनतालाई संघीयता प्रदान गरायो । नेपालमा संघीयता स्वीकृत गर्नुका कारणहरु केन्द्रीकृत शासनको अन्त्य, बहुलताको सम्बोधन, उत्पीडित वर्गको उत्थान, आन्तरिक द्वन्द्व व्यवस्थापन, केन्द्रीकृत शासनको अन्त्य, पहुँच र प्रतिनिधित्व, स्वशासन रसाझा शासन, क्षेत्रीय असमानताको अन्त्य, स्थानीय सम्भाव्यताको उपयोगलगायत जनताले पाए ।
यसका साथै जनतामाझ सहज सेवा प्रवाह, जवाफदेहिता र सुशासनतथा राज्यमा उपलब्ध स्रोतसाधनको उचित प्रयोग र बाँडफाँड गर्नु हो । यहि उद्देश्यका साथ नेपालमा प्रदेश र स्थानीय तहको स्थापना भयो । नेपालको संविधानको धारा ५६ देखि ६० सम्म संघीयताको राज्यशक्तिको वाँडफाड प्रस्तुत गरिएको छ । संविधानमा धारा २३१ देखि २३८ सम्म संघीय, प्रदेश र स्थानीय तहको अन्तरसम्बन्ध प्रस्तुत गरिएको छ । यसैगरी अनुसूचि ५ देखि ९ सम्म संघ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकारको सूची प्रस्तुत गरिएको छ ।
संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकार्य, सहअस्थित्व, सहयोग र समन्वयको विचारमा आधारित हुनुपर्छ । यहि संघीयतालाई असलपूर्वक कार्यान्वयन गर्नुमा प्रदेशको महत्वपूर्ण भूमिका रहेको छ । प्रदेशले संघीयता कार्यान्वयन गर्न संविधानले प्रदान गरेको अनुसूचि ६, ७ र ९ का अधिकारको सूचीको पालना गर्नुपर्छ । प्रदेशले संविधान तथा ऐन कानुनलाई क्रियाशील बनाउन कडा नीति निर्माण गर्नुपर्छ । प्रदेशले संघ तथा स्थानीय तहहरुसँग हातेमालो गरी राजनीतिक एवम् प्रशासनिक स्वाधिनता प्रवद्र्धन गर्नुपर्छ ।
आर्थिक आत्मनिर्भरता र वित्तीय व्यवस्थापन, अन्तर–सरकार समन्वय र सहकार्य, जनमुखी सेवा प्रवाह र विकासमा विशेषा ध्यान पुरयाउनु पर्दछ । संघीयता कार्यान्वयन गर्न प्रदेशले शिक्षित तथा दक्ष जनशक्तिको उत्पादनमा लगानी गर्नुपर्छ । सरकारी तथा प्रशासनिक पूर्वाधारको संस्थागत विकास गर्नुपर्छ । प्रदेशले योजनाबद्ध तरिकाले विकासको काम गर्नुपर्छ । प्रदेशले स्थानीय तह र संघीय सरकारसँगको सहकार्यलाई अझ मजबुत बनाई संघीयतालाई सफलतापूर्वक कार्यान्वयन गर्नसक्छ । प्रदेश सरकारले जनतालाई आधारभूत सेवा–सुविधा पुर्यायउन स्वास्थ्य, शिक्षा, सडक, यातायात र कृषि जस्ता महत्वपूर्ण क्षेत्रहरूमा काम गरिरहेको हुन्छ ।
यसले संघीयताको सिद्धान्त अनुरूप नीति निर्माण तथा निर्णय प्रक्रियामा जनताको प्रत्यक्ष भागीदारी बढाउन मद्दत पु¥याउनुका साथै स्थानीय पहिचान, भाषा र संस्कृतिको संरक्षणमा समेत महत्वपूर्ण योगदान दिन्छ । यसरी प्रदेश सरकारले देशको समग्र विकास र समृद्धिमा ठोस भूमिका खेल्दछ, जसले मुलुकमा राजनीतिक स्थिरता र उत्तरदायी व्यवस्थापन कायम राख्न सघाउँछ । तसर्थ, संघीयताको सफल कार्यान्वयनमा प्रदेश सरकारको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ, जसले विविधतायुक्त देशलाई एकसूत्रमा जोड्दै दिगो विकासतर्फ उन्मुख गराउँछ ।
प्रदेशले आफूसँग उपलब्ध स्रोत साधनको समान रुपले बाँडफाँड गर्नुपर्छ । प्रदेशले प्रत्येक क्षेत्र, जाति, हार्म तथा समुदायलाई समभाव प्रदान गर्ने नीति तथा योजना निर्माण गर्नुपर्छ।प्रदेशले एउटालाई काखा अर्कालाई पाखा गर्नु हुन्न । प्रदेशका आर्थिक क्रियाकलापमा पारदर्शी हुनुपर्छ । प्रदेशले गरेको आयआर्जन तथा खर्च प्रदेशले जनतासामु प्रस्तुत गर्न सक्नुपर्छ । प्रदेशमा भइरहेका विकासका कार्यहरूमा प्रदेश सरकारले सङ्घ तथा स्थानीय तहहरुलाई पनि सहभागी गराउनुपर्छ । साथै स्थानीय तहहरुमा भइरहेका विकासका कार्यहरूमा प्रदेशले चासो देखाई त्यस कार्यमा सहभागी हुनुपर्छ ।
संघका योजनाहरूसँग पनि समन्वय गर्नुपर्छ । संघ, प्रदेश र स्थानीय तहबीच सद्भाव र समन्वय भएमा संघीयता अझ बलियो हुन्छ । प्रदेशले स्थानीय तथा मौलिक उद्योगधन्दा, व्यापार व्यवसायलगायतलाई आर्थिक सहयोग तथा प्रोत्साहन दिनुपर्छ । यो प्रदेशको सदरमुकामसम्म मात्र सीमित नभएर समग्र प्रदेशमा क्रियाशील हुनुपर्छ । प्रदेशले प्रत्येक स्थानीय तहलाई सदरमुकाम जति नै महत्व र सहयोग दिनु पर्छ।प्रदेशलाई राजनीतिक रुपमा स्थिर बनाउनु पर्छ।प्रदेश स्थिर नभएमा राज्य टुक्रिने अवस्था सृजना हुन्छ । नेपालको सन्दर्भमा संघीयता अपेक्षाकृत रूपमा प्रभावकारी ढंगले कार्यान्वयन हुन सकेको छैन ।
यसको सफलतापूर्वक कार्यान्वयन नहुनुका पछाडि विभिन्न कारणहरू जिम्मेवार छन् । जसमा संघ तथा प्रदेश तहमा देखिएको राजनीतिक अस्थिरता, सत्ता समीकरण छिटो–छिटो फेरबदल भइरहनु र प्रतिपक्ष दलको भूमिका कमजोर हुनु प्रमुख छन् । यसका साथै, प्रदेशहरूबीच स्रोत–साधनको न्यायोचित बाँडफाँड नहुनु, संघीय संरचना अनुकूलको बलियो प्रशासनिक पूर्वाधारको अभाव रहनु र देशको आर्थिक क्षमताभन्दा ठूलो आकारको मन्त्रिमण्डल निर्माण गरिनु पनि मुख्य चुनौती हुन् । त्यसैगरी, धार्मिक, साम्प्रदायिक तथा वैचारिक मुद्दाहरूमा हुने अस्वस्थ राजनीतिले समाजमा तनाव र द्वन्द्व सिर्जना गरेको छ ।
अन्त्यमा, नेपाली राजनीतिमा नयाँ विचार, परिवर्तन र युवा नेतृत्वलाई सहज रूपमा स्वीकार गर्न नसक्ने प्रवृत्तिका कारण पनि संघीयताले अपेक्षित गति लिन नसकेको देखिन्छ । विगतका वर्षहरूमा नेपालका आम नागरिकमाझ निराशा बढ्दै गएको देखिन्छ । संघीयता कार्यान्वयन गर्ने एक प्रमुख प्रशासनिक एकाइका रूपमा प्रदेश सरकारलाई लिइन्छ । तसर्थ, प्रदेशले संविधानको अधीनमा रही आफूलाई प्राप्त अधिकारको कुशलतापूर्वक प्रयोग गर्दै आफ्नो दायित्व पूरा गर्नुपर्छ ।
यसका साथै, प्रदेशले संघ र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्यको भावना विकास गर्नुपर्छ भने आफ्ना विकास योजनाहरूमा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्छ । प्रदेश सरकारहरूले यी कार्यहरूलाई व्यवहारमा उतार्न सकेमा नेपालको संविधान र संघीयताको सही कार्यान्वयन सम्भव छ । यद्यपि, संघीयतालाई सफल बनाउने जिम्मेवारी प्रदेश सरकारको मात्र नभई संघ, स्थानीय तह र आम नागरिकको पनि उत्तिकै रहन्छ । सार्वभौम सम्पन्न नेपाली जनताका हैसियतले संविधान र संघीय प्रणालीको मर्मलाई आत्मसात् गर्दै पालना गर्नु हामी प्रत्येक नागरिकको कर्तव्य हो ।
–लेखक कानून अधिकृत हुन् ।











































