तालिमले बनायो दक्ष डकर्मी
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ७, हात्तिखोला, छतिवनका दुर्गाप्रसाद घिमिरे अहिले २३ वर्ष भए । वि.सं.२०५३ साल पुष ३ गते जन्मिएका दुर्गाप्रसाद तालिम प्राप्त डकर्मी हुन् । मर्सिकोर नेपालसंगको सहकार्यमा बाल कल्याण समाज मकवानपुरले सञ्चालन गरिरहेको संकटासन्न घरधुरीका लागि भुकम्पीय पुनर्लाभ (सर्भ) परियोजना अन्तर्गत भुकम्प प्रतिरोधी संरचना निर्माण सम्बन्धि ५० दिने तालिममा उनी सहभागी भए। विगतमा अरुले गरेको निर्माण कार्य देखेको भरमा उनी घर निर्माण सम्बन्धि कार्य गदै आइरहेकोमा हाल तालिम प्राप्त डकर्मीका रुपमा आफ्नो परिचय फेरेका छन् ।
विगतमा काठमाडौं लगायत विभिन्न ठाउँमा घर निर्माणमा उनी गएका थिए । त्यो बेला पहिल्यै देखि अरुले गरेको देखेर निर्माण सम्बन्धि कार्य गरेकोमा मंशिर १ गतेबाट सुरु भएर पुष २५ गतेसम्म सञ्चालन गरिएको तालिममा उनले घर निर्माण सम्बन्धि शिप सिके । विगतमा तालिम विना गरिएको काम र अहिले तालिमप्राप्त पछि गरिएको काममा धेरै अन्तर लागेको उनको भनाई छ । ‘तालिम अघि पनि घर निर्माण त गरियो तर भूकम्पीय जोखिमबाट बचाउने खालको संरचना निर्माणका विषयमा खासै जानकारी थिएन ।’ दुर्गाप्रसाद भन्छन्,‘तालिमपछि दक्ष डकर्मीका रुपमा आफ्नो परिचय फेर्न पाउँदा औधी खुशी लागेको छ ।’आफ्नै ठाउँमा ५० दिनसम्म सञ्चालित डकर्मी तालिममा सहभागी बनेर उनी सहित दश जनाले स्थानीय टिकाबहादुर बस्नेत र नन्ददेवी सुवेदीको गरी दुई वटा घर निर्माण गरे ।
औपचारिक शिक्षाका रुपमा दुर्गाप्रसादले स्थानीय जनक माविमा ६ कक्षासम्म अध्ययन गरे । घरायसी आर्थिक अवस्था कमजोर भएका कारण औपचारिक शिक्षालाई रोकेर गाउँघरमा निर्माण सम्बन्धि काममा उनी लाग्न बाध्य भए । शिक्षालाई अघि बढाउन नसकेपनि आर्थिक आम्दानी गर्ने पेशाका रुपमा संरचना निर्माण सम्बन्धि कार्य गर्छु भन्ने उनले सोच बनाउँदै गाउँका अन्य डकर्मीहरुसंग काम माग्न थाले । निर्माण सम्बन्धि केही कार्य गरेपछि उनलाई एउटा राम्रो तालिम लिन पाए हुन्थ्यो भन्ने लागेको थियो । ‘निर्माणकै कार्यमा लागिपर्ने र आत्मनिर्भर बन्ने सोचमा रहेका बेला संस्थाबाट तालिम पाइयो ।’ दुर्गाप्रसाद भन्छन्,‘ व्यवसायिक रुपमा दक्ष डकर्मी बन्न तालिमबाट सघाउ पुग्यो ।’ निर्माण सम्बन्धि अल्पज्ञान भइहेको अवस्थामा तालिमले निर्माण सम्बन्धि धेरै जानकारी प्राप्त भएकाले अब निर्धक्कले आफूले रोजेको पेशामा लागिपर्ने उनी बताउँछन् ।
तालिमपछि उनले भुकम्प प्रतिरोधी आफ्नै घर निर्माण गरे । अहिले पनि उनी भूकम्पले क्षतिग्रस्त गरेको आफ्नै काकाको घर निर्माणमा व्यस्त छन् । ‘तालिमपछि दुई वटा घर निर्माणको अनुभव बटुल्न थालिसकेको छु ।’ उनी भन्छन्,‘अहिले त मेरो पारिश्रमिक पनि बढेको छ।’विगतमा उनले दैनिक पाँच सय रुपियामा काम गर्दै आइरहेका थिए भने तालिम पछि अहिले उनले दैनिक आठ सय देखि एक हजार रुपियासम्म पारिश्रमिक कमाइरहेका छन् । तालिमपछि उनलाई काम नपाएको खासै दिन पनि छैन । भन्छन्,‘तालिम पछि गाउँघरमा काम गर्न भ्याई-नभ्याई भएको छ । अहिले अरुले काम गर्न बोलाउँदा पनि काममा व्यस्त भएकाले भ्याउँदिन भन्नु परिरहेको छ ।’
दुर्गाप्रसादको परिवार खेतीपातीमा निर्भर छन् । उनका बाबुआमाले विगतमा घर परिवार चलाउन आवश्यक आर्थिक खेतीपाती र मेलापातबाट निर्वाह गर्दै आइरहेकोमा दुर्गाप्रसाद पनि घर परिवार चलाउन सहयोगी बनेका छन्–तालिम प्राप्त डकर्मीका रुपमा । आफूलाई दक्ष डकर्मीको परिचय दिलाउन मर्सिकोर नेपाल,बाल कल्याण समाज र तालिम सञ्चालनको जिम्मा लिने जिनियस मल्टिटेक इस्टिच्युट प्रालिलाई उनले धन्यवाद भनेका भन् । ‘गाउँमै तालिम नआएको भए मेरो परिचय फेरिदैन थियो ।’ उनी भन्छन्,‘गाउँमै तालिम, गाउँकै घर निर्माण गर्ने अवसर दिने संस्थालाई धन्यवाद भन्न चाहान्छु ।’ उनले निर्माण सम्बन्धि कार्यले आफ्नो भविष्य सुनौलो बनाउँने सपना देखेका छन् । ‘घर निर्माण सम्बन्धि कार्यमा व्यवसायिक रुपमा निरन्तर लागेर आर्थिक आम्दानी गर्नेछु ।’ भन्छन्,‘भोलि विवाह होला, बालबच्चा होलान् । घर निर्माण सम्बन्धि कार्यबाटै घरपरिवार चलाउने भविष्यको सपना छ ।’