राष्ट्रियता, सार्वभौमिकता र स्वाधिनताका लागि एमालेलाई जनताले मत दिन्छन्ः उम्मेदवार पाण्डे
चार दशकदेखि नुवाकोटमा चिरपरिचित नाम हो केशवराज पाण्डे । नुवाकोटको साविक मदानपुर गाविस हाल वेलकोटगढी नगरपालिका १३ दाङ्मैमा जन्मेका पाण्डे स्कुले जीवनदेखि नै वामपन्थी विचारधारामा आकर्षित भए । एमालेको विद्यार्थी संगठन अनेरास्ववियुवाट आफ्नो राजनीतिक जीवन थालनी गरेका युवा पाण्डे हाल एमाले केन्द्रीय सदस्य तथा पार्टीको नुवाकोट इन्चार्जसमेत रहेका छन् ।
अनेरास्ववियु हुदै पार्टी संगठनमा क्रियाशील रहेकै वेला पाण्डे नेकपा एमालेको विदेश विभागको सचिवसमेत भएर कार्य गरिसकेका छन् । एमाले वागमति प्रदेश कमिटि अध्यक्ष हुदै हाल उनी दोश्रो कार्यकाल एमाले केन्द्रीय सदस्य रहेका छन् । गत २०७४ सालको प्रदेश सभा सदस्यमा उनी विजयी भएका थिए । अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्रिकालमा पाण्डे आन्तरिक मामिला मन्त्रि भएका थिए । शैक्षिक, विदेश नीति तथा सामाजिक विकासमा विशेष दख्खल राख्ने पाण्डे आसन्न प्रतिनिधि सभा सदस्यमा नुवाकोट २ का उम्मेदवार रहेका छन् ।
जनताको घरदैलो तथा कोणसभामा सक्रिय पाण्डे एमालेको नीति, विद्यि र कार्यप्रतिको विस्वास नै आफुलाई जनताले विस्वास गर्ने आधार भएको वताउंछन् । प्रस्तुत छ चुनावी अभियानमा मत माग्न व्स्त रहेकै वेला उम्मेदवार पाण्डेसंग लोकखवरका लागि गरिएको विशेष कुराकानीको सारसंक्षेपः

के गर्दै हुनुहुन्छ? कस्तो छ तपाइको चुनावी तयारी?
–चुनाव आइसक्यो, जनताकै माझ पुगिरहेको छु । म आफैं पहिले पनि जनताकै घरदैलामा पुगिरहेको हुनाले सजिलो भएको छ । जनताको साथ पाएको छु ।
आम मतदाताको प्रतिक्रिया कस्तो पाउनुभएको छ?
–हेर्नुस, अव सवै कुरोको टुंगो त निर्वाचनले गर्छ, यद्यपि एमालेप्रति जनताको विस्वास, भरोसा र आत्मियता रहेका कारण एमालेलाई उनीहरुले मतदान गर्ने छन् भन्नेमा म र मेरो दल विस्वस्त रहेको छ ।
चुनाव आईसक्यो, के छ तपाईहरुको अवस्था?
–नुवाकोट २ मा नेकपा एमाले बलियो शक्ति हो । यस क्षेत्रमा हाम्रो गाउं, टोल, वडा सवैतिर बलिया उपस्थितिसहितकोे संगठन छ । यहां हामी सहज अवस्थामा छौं ।

तपाई आफुलाई कसरी परिवर्तनको विकल्प मान्नुहुन्छ?
–यो देश, समाज र आफ्नो भुगोलमा आमुल परिवर्तन गर्नुपर्छ, त्यो हामिले नै गर्ने होर सकिन्छ भनेर नै युवा उमेर देखि नै म सक्रिय रुपमा विभिन्न भूमिकामा राजनीतिक गतिविधिमा सक्रिय छु । २०४५ सालमा अस्कल क्याम्पसको स्ववियु सभापति हुँदा मैले त्यस क्याम्पसमा धेरै सुधार र नयाँ कामको थालनी गरेको थिए । पछि अनेरास्ववियुको कोषाध्यक्ष, आसाको महासचिव, नेकपा एमाले केन्द्रीय विदेश विभागको सचिव हुँदै २०७० सालदेखि त म नुवाकोटबाट निर्वाचनमा नै उम्मेदवार भएको हो ।
यो निर्वाचनलाई के २०७९ को पराजयलाई तपाई आत्मवल ठान्नुहुन्छ?
–म आफु २०७९ को निर्वाचनमा थोरै मतले प्रदेश सभा सदस्यमा पराजित भएपनि मैले नुवाकोटको समग्र विकासमा निर्वाचितहरुको भन्दा बढी भुमिका निर्वाह गरेको छु । सदा जनताकै माझमा पुगिरहेको छु, आम जनताको समस्या मलाई जानकारी छ, जनतका हर समस्याको समाधानको कार्य गरिहेका् छु । त्यसको उदाहरणको रुपमा मैले २०७४ मा प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि गरेको कामलाई लिन सक्नुहुन्छ । गत २०७४ सालमा म निर्वाचित भएर पार्टीको सचेतक र बागमती प्रदेश सरकारको मन्त्री हुँदा गरेका जनताका काम र योजनालाई लिएर प्रतिपक्षहरु पनि प्रशंसा गर्न बाध्य भएका थिए ।
त्यतिमात्र हैन त्यसले जनताहरुमा पैदा गरेको आशा, उत्साह र एक जना सासंदले चाहे विकास त हुनेरैछ भन्ने परिस्थिति निर्माण गरेको थिए । शिक्षा, स्वास्थ्य, विद्युतिकरण, सिंचाई बाटोघाटोमा मात्र हैन डिपबोरिङ गरेर खानेपानी र सिंचाईको लागि पहाडका टुप्पाहरुमा पानी पु¥याएको र वितरण गरेको उदाहरण अहिले तपाई गाउँ गाउँमा भेट्नुहुन्छ । हिजोको त्रिशूली अस्पताल सम्झनुस र आज त्यहि अस्पताल हेर्नुस, त्यसले हामिलाई कति सहज भएको छ अहिले? त्यसले नुवाकोट मात्र नभई रसुवा र धादिङका जनताहरुले समेत प्रत्यक्ष स्वास्थ्य उपचारको लाभ लिन पाएका छन् । यी सबै क्षेत्रमा मैले सुरुवात मात्र गरेको हो । यसलाई अझै व्यवस्थित, अझ प्रभावकारी, सहज र पूर्ण क्षमतामा सञ्चालन गर्न पनि मेरो विकल्प रोज्नुपर्ने आवश्यकता अहिले नुवाकोटलाई छैन ।

तपाईंको संगठनात्मक पृष्ठभूमि कति बलियो छ ? मतदाताले किन तपाईंलाई विश्वास गर्ने ?
–अघिको प्रश्नमा नै तपाईले यसको धेरै उत्तर पाईसक्नु भयो । यद्यपी म २०३६ सालदेखि आजसम्म राजनीतिको माध्यमबाट जनताको निरन्तर सेवामा छु । निर्वाचनमा मात्र हैन, म हरेक दिन जनताको घरदैलोमा उपस्थित भएको छु । आजसम्म मैले जनताको अहित हुने कुनैपनि काम गरेको छैन । हित र सहयोग नै गरेको छु ।
जनताका हरेक सुख, दुखमा साथ दिएको छु । नुवाकोटको विकासलाई नै आफ्नो मुख्य जिम्मेवारी मानेको छु । व्यक्तिगत रुपमा मेरो केही स्वार्थ छैन, मैले जति पनि गर्ने हो जनताकै पक्षमा, जनताकै हितको लागि गर्ने हो । जनप्रतिनिधिको रुपमा मैले यसअघिको कार्यकालमा गरेका कामहरु नै जनताले मलाई विश्वास गर्ने आधार हो । म जनताको त्यो विश्वासलाई अझ बलियो गरी साथ दिनेछु ।
७४ मा प्रदेशसभा सदस्य र आन्तरिक मामिलामन्त्री हुँदाको तपाईको अनुभव कस्तो थियो ?
–हामीले त्यतिबेला प्रदेशसभा सदस्यको रुपमा धैरै कानूनहरु निर्माण गनुपर्ने थियो । त्यो कतिपय निर्माण गरेका छौ । विभिन्न रणनितिक कामहरु सुरु गरेका थियौ । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यलगायत समग्र प्रदेशको संरचानाको व्यवस्थित गर्नेमा हामी बढी केन्द्रीत थियौ ।

मुख्यमन्त्रीको दाबेदारको रुपमा २०७९ को निर्वाचनमा आफुलाई उभ्याउनु भएको थियो, थोरै मतले पराजित हुनुभयो, त्यसलाई कसरी लिनुभएको छ?
–हेर्नुस, तपाईहरु सवै थाहा छ, त्यो चुनाव कांग्रेस–माओवादी गठबन्धन र एक्लो एमाले वीचको प्रतिस्पर्धा थियो । पाँच दलसँग एमाले एक्लै चुनाव लडेको थियो । त्यस्तो अवस्थामा पनि साढे ११ हजारभन्दा बढी मत प्राप्त गरी करिब चारसय मात्र मतले निर्वाचित हुन सकिन । यसले पनि मलाई आतवल दियो, हतोत्साही होइन, उत्साहित वनायो । अव जनताले एमालेलाई साथ दिन्छन् । निर्वाचनमा सहभागि भएपछि हुने हार जितलाई स्वभाविक रुपमा नै लिनुपछ । त्यो पराजयले निर्वाचनमा हुने विभिन्न चलखेल र जालसाझीको बारेमा मलाई सचेत गराएको छ । यसपटक त्यस्तो कमजोरी हुन दिनैछैन । त्यस प्रति म र मेरो पाटी सजग छ ।
जेनजी पुस्ताको आन्दोलन पछि परम्परागत दलप्रति जनताको असन्तुष्टि बढेको चर्चा छ । यसमा तपाईको धारणा के छ ?
– सर्वप्रथम यसलाई यसरी लिदा उपयुक्त होला । त्यो सांच्चिकै आन्दोलन थियो या यो केवल एमाले विरुद्ध जेनजी पुस्तालाई वदनाम गर्न रचिएको षडयन्त्र? जे होस, त्यहि वलमा अहिले निर्वाचन हुदैछ, देशको विकासका लागि सवैको मर्म, भावना र आवस्यकता अनुसार अगाडि वढ्नु पर्ने अवस्था आएको छ । एमालेले राष्ट्रियता, सार्वभौमिकता र स्वाधिनताका लागि लिएको अडान नै चुनाव जित्ने वलियो आधार हो ।

सुशासन र भ्रष्ट्राचारको अन्त्य हाम्रो मुख्य उद्धेश्य हो । देशमै युवा पुस्तालाई रोजगारी, गुणस्तरिय शिक्षा, स्वास्थ्यको व्यवस्था हुनुपर्छ यो हाम्रो चाहना हो । अझै पनि साथीहरु गुगलमा भेटिनुहुन्छ, भूगोलका टोल–टोल र बस्तीहरुमा हाम्रा नेता, कार्यकर्ताहरु जनसेवामै निरन्तर छन् । यद्यपी, जनताको प्रश्न, अपेक्षा र जेन जी पुस्ताको माग अस्वभाविक थिएन । अहिले स्थापित दलहरुका विरुद्धमा जनतामा भ्रम पैदा गर्न खोजिएको छ, त्यसलाई यो निर्वाचनले सहि बाटोमा ल्याउछ ।
हामीले हाम्रो सामथ्र्यले भ्याएसम्मकोकाम गरेका छौं । देशमा अहिले केहि दलहरुका न कुनै एजेण्डा छन्, न कुनै विचार, न देश निर्माणका खाका नै छ, स्थापित दलहरु माथि नियोजित रुपमा गाली गलौजको जगमा उभिएर पपुलारिजमको मतबाट केहि सिट सहित सदनमा उपस्थित दलले सत्ताको स्वादपान गरिसकेपछि अझै अरुलाई खराब भन्नु आफैमा हास्यास्पद छ । हाम्रो राजश्व प्रणालीले चालु खर्च पनि धान्न नसक्ने अवस्थामा छ, हामीले आन्तरिक र बाह्य ऋणको भरमा पुँजीगत खर्च गरिरहेका छौं, त्यसमा पनि सुधार गर्दै अब पनि हामीले नै गर्नेहो । हामी गछौं, आम जनतालाई विस्वस्त पार्छौं।

अहिले देशमा नयां शक्तिको उपस्थितिले चुनावी गणित कसरी वदलछ?
–नयाँ शक्तिको उदय लोकतन्त्रको सुन्दरता हो । तर, दिगो विकास र मजबुद अर्थतन्त्रको लागि बलियो र निर्णायक राष्ट्रिय शक्तिको आवश्यकता हुन्छ । त्यो शक्ति अहिले पनि एमाले हो । अहिले नयाँ र स्थापित दलहरु आ–आफ्नो सामथ्र्यले निर्वाचनमा सहभागि भएका छन् । त्यसो हुँदा मत संख्यामा थोरै परिवर्तन भएता पनि परिणाममा त्यसले खासै असर गर्दैन । हामीले जनताको विश्वासको जगमा काम गरेका छौ र त्यसकै भरोसामा फेरी जनताको घरदैलो गएर मत मागिरहेका छौं र जनताहरुले हामीलाई साथ र हौसला प्रदान गरिरहनुभएको छ ।
अन्त्यमा आम मतदाताहरुलाई भन्न वांकी केहि छन कि?
– नुवाकोटलाई देशको राजधानीसँग जोडिएर पनि बत्ती मुनिको अध्याँरो भन्ने जुन भाष्य निर्माण गरिएको छ त्यो बदल्ने विश्वास दिलाउन चाहान्छु । जतिखेर पनि म तपाइहरुकै साथमा छु । मैले जनताको शिर झुक्ने काम गरेको छैन, संघीय ससदमा तपाइहरुले पठाएर विकाससहित देशको नीति निर्माण जनअपेक्षा अनुसार गर्नेछु । यसको लागि तपाइहरुले फागुन २१ गतेको मतदानमा साथ दिनुहोस, ममसहित एमालेका उम्मेदवारहरुलाई आगाडि वढाइदिनुहोस यहि नै सम्पूर्ण नुवाकोटबासी आमाबुबा, दाजुभाई दिदिबहिनीहरुमा हार्दिक अनुरोध गर्दछु । साथै नुवाकोटको सन्दर्भमा मैले मेरो व्लूप्रिन्ट र प्रतिवद्धता पत्र मार्फत योजना अगाडि सारेको छु, त्यसलाई अध्ययन अवलोकन गरी सुझाव दिन पनि अनुरोध गर्दछु । प्रस्तुतीः देवचन्द्र भट्ट












































