इच्छा विपरित रंग नलगाउन प्रशासनको आग्रह

– कानून विपरितका कार्य नगर्न निर्देशन
लोकखबर
२०८२ फाल्गुन १७, आईतवार ०२:४७

बिदुर– मर्यादित रुपमा सभ्य तरिकाले होली मनाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटले आग्रह गरेको छ । होलीको दिन सार्वजनिक स्थान र खुल्ला स्थानमा होली मनाउंदा सभ्य, मर्यादित र सामाजिक रुपमा होली पर्व मनाउन प्रशासनले आग्रह गरेको हो ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाइले जारी गरेको सार्वजनिक सूचनामा सामाजिक सद्भाव र भाइचाराको सम्वन्ध कायम गर्ने पर्व होली भएको र पर्व मनाउने क्रममा अनावस्यक तडकभडक, खर्चिला तथा भड्किला क्रियाकलापहरु नगर्न सचेत गराइएको छ । यसका साथै सार्वजनिक शान्ति सुरक्षामा ध्यान दिदै सामाजिक व्यवहार सुधार ऐन २०३३ तथा सो को नियमावली २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरु मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको हुंदा सांस्कृतिक पर्वको अवसरमा शान्ति व्यवस्था र सुरक्षामा असर पर्ने गरि कुनै पनि कार्य नगर्न हुमागाइद्वारा हस्ताक्षतिर सूचनामा उल्लेख छ ।

होली पर्व मनाउने क्रममा कसैले सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थको सेवन गरि पारिवारिक तथा सामाजिक जनजीवन एवं सार्वजनिक मर्यादा र शान्ति व्यवस्थामा खलल पार्ने, कसैको इच्छा विपरित जवरजस्ती र।ंग दलिदिने तथा पानीको लोला, फोहरा हान्नेलगायतका अमर्यादित, उच्छृंखल, अवान्छित एवं गैह कानुनी क्रियाकलाप नगर्न नुवाकोट प्रशासनले आग्रह गरेको छ । कानून विपरितका ति कार्यहरु गरेको पाइएमा प्रचलित कानून अनुसार कारवाही गरिने जनाइएको छ ।

यस वर्षको होली नुवाकोटलगायत पहाडी जिल्लाहरूमा यहि फागुन १८ र तराई–मधेशका जिल्लाहरूमा फागुन १९ गते परेको छ । रंगहरुको पर्व होली सकारात्मक भावनको साथ मनाउन सरोकारवाला निकायको आग्रह रहेको छ ।


सर्वाधिक रुचाइएको