नेविसंघद्वारा अक्स्फोर्ड कलेजमा तालाबन्दी : विद्यार्थीको भविष्यमाथि खेलवाड !
गैंडाकोट। अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्ट,गैंडाकोट-२ नवलपुरमा आज नेपाल बिद्यार्थी संघ(नेबिसंघ) ले प्रेस विज्ञप्ति निकाल्दै तालाबन्दी गरेको छ। बीइ सिभिल २०१४ ब्याचका विद्यार्थीहरूको तेस्रो र पाँचौं सेमेस्टर का विषयहरू क्रमशपोजेक्ट १ र प्रोजेक्ट २ को विद्यार्थीहरूको नतिजा तोकिएको समयमा पोखरा विश्वविद्यालय मा नपठाई कलेजले चरम लापरबाही गरेकाले तालाबन्दी गरिएको अक्स्फोर्ड कलेज नेबिसंघका सचिव सुजल गिरीले बताए। नतिजा प्रकाशन नहुँदा सबै विद्यार्थीहरू अनुत्तीर्ण भएका र कोहीपनि विद्यार्थीहरू दीक्षान्त समारोहमा सहभागी हुन नपाउने भएका छन्। यस अघि कलेज प्रशासन ले भने पटकपटक नतिजा आइसकेको भन्दै विद्यार्थीहरुलाई झुटो आश्वासन देखाउँदै आएको थियो। नतिजा पोखरा विश्वविद्यालयमा नपठाउँदा तीन जना विद्यार्थी हरूले आज सोमबार हुने मौका परिक्षामा समेत सहभागि हुन पाएका थिएनन् । कलेजको लापरबाहीका कारण ८४ जना विद्यार्थीको भविष्य अन्योलमा परेको छ। प्रेस विज्ञप्ति मार्फत कलेज प्रशासनलाई कडा कारबाही हुनु पर्ने र सबै विद्यार्थी हरुको जिम्मा कलेज प्रशासनले लिनुपर्ने अन्यथा जस्तो सुकै कदम चाल्न बाध्य हुने अक्स्फोर्ड कलेज नेविसंघ का सभापति निरज तिवारीले चेतावनी दिए। कलेजले गल्ती गरेको थाहा हुँदाहुँदै पनि युनिभर्सिटीलाई दोष लगाएर आफू पन्छिन खोजेको आरोप समेत लगाए । उता कलेज प्रशासनले भने यस गल्ती लाई कलेजको नभएर विश्वविद्यालयको लापरबाही भएको तर त्यो समस्या समाधानका लागि कलेज लागिपरेको बताए ।