मकवानपुरको अखबारमा बर्डफ्लु, प्रहरीको होली सुरक्षा, सहिद स्मृति गोल्डकप तयारी सम्बन्धि खबर

मकवानपुर । मकवानपुरको हेटौंडाबाट आज प्रकाशित अखबारमा विभिन्न विषय खबर बनेका छन् । हेटौंडा सन्देश दैनिकमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले स्थापना गरेको नागरिक सहायता कक्ष सेवामूलक कार्यमा भन्दा व्यापार गर्नमा केन्द्रित हुन थालेको समाचार छापेको छ । ‘व्यापार गर्दै नागरिक सहायता कक्ष, तोकिएको शुल्कभन्दा बढी असुली ’ शिर्षकमा मानवी बानियाले लेखेको खबर मुख्य खबरका रुपमा प्रकाशित छ ।
सन्देशमै हेटौंडा उपमहानगरपालिका ७ नागस्वतीका विभिन्न स्थानमा सोमबार प्राविधिकले आवश्यक पोशाक र रशायन जुटाउन कुखुरा नष्ट गर्ने कार्य स्थगन गरेको खबर छ । चित्लाङ केन्द्रबिन्दु बनाएर भुकम्पको धक्का महसुस गरिएको, मकवानपुर जिल्ला फुटबल संघले एघार वर्षपछि हेटौंडामा यही चैत ७ गतेबाट दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकप आयोजना गर्ने, जिल्ला प्रहरी कार्यालय मकवानपुरले १ सय ८४ किलो गाँजासहित कार नियन्त्रणमा लिएको, मकवानपुर प्रहरीले होलिमा सुरक्षा व्यवस्था कडा पारिएको खबर पनि हेटौंडा सन्देश दैनिकले आफ्नो प्रकाशनमा समेटेको छ ।
आजको साझाकुरा दैनिकमा ‘बर्डफ्लु भेटिएपछि ४१ हजार कुखुरा नष्ट, क्षतिपूर्तिको लागि मन्त्रिपरिषद्को निर्णय कुर्दै व्यवसायी ’ शिर्षकको समाचार मुख्य समाचार छापिएको छ । साझाकुरामै तीन महिनापछि चैतको दोस्रो साता प्रदेश ३ को प्रदेशसभा बैठक बस्ने, हेटौंडा औद्योगिक क्षेत्रमा रहेको गोर्खा लाहारी अनिश्चितकालका लागि बन्द, युवक छतबाट खसेको घटनाको छानविन माग लगायत शिर्षकका खबर छन् ।
प्रदेश दैनिकमा यही चैत ७ गतेबाट हेटौंडामा हुने मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मकवानपुर ११ र मच्छिन्द्र क्लव खेल्ने खबर मुख्य खबरका रुपमा प्रकाशित छ । जनमत पार्टीको अध्यक्ष सीके राउत बनेको लगायत स्थानीय तथा राष्ट्रिय खबर छ।