चैते दशैंमा देवी मन्दिरहरुमा भक्तजनहरुको भीड
बिदुर – चैते दसैँको अवसरमा नुवाकोटका विभिन्न देवदेवी मन्दिरहरुमा दर्शनार्थीको भीड लागेको छ । विभिन्न स्थानमा आन्तरिक तथा वाह्य पर्यटकहरुसमेत पुगेका छन् । नुवाकोटको प्रसिद्ध भैरवी, जालपादेवी, पन्चकन्या, सामरीलगायतका मन्दिरहरुमा विहीवार भक्तजनहरुको निकै घुइँचो लागेको थियो ।

विदुर नपा २ स्थित भैरवी, देवीघाटस्थित जालपादेवी, बेलकोटगढीको निरन्जना र म्यागङ गापा ५ सामरीमा रहेको मन्दिरमा दिनैभर हजारौं भक्तजनहरु पुगेका थिए । चैते दसैँका अवसरमा नुवाकोटको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक महत्वको भैरवी, जालपादेवी, सामरीस्थित सरस्वतीलगायत विभिन्न मन्दिरहरुमा दर्शनार्थीको ठुलो घुइँचो लागेको थियो । भक्तजनहरुले मन्दिरमा पुजाआजा गर्नुका साथै नरिवलसमेत चढाएका थिए ।

नुवाकोटका विभिन्न देवदेवी मन्दिरमा दर्शन र पूजाआजाका लागि भक्तजनहरु दिनैभर लाइनबद्ध भई पुजाआजामा व्यस्त रहेका थिए । विभिन्न मन्दिरहरुमा एकैदिन हजारौं भक्तजनहरुले दर्शन गरेको पुजारीहरुले वताए । १० वर्ष अगाडिको विनासकारी भूकम्पले क्षति पु¥याएको भैरवी मन्दिर पुनःनिर्माण गरिएसँगै दर्शनार्थीको सख्या बढेको स्थानीय युवा सामाजिक अगुवा महेन्द्र श्रेष्ठको भनाई छ ।

मन्दिरमा पूजाआजा र दर्शनका लागि नुवाकोटसहित रसुवा, काठमाडौँ, धादिङ, सिन्धुपाल्चोक, चितवन र मकवानपुरलगायतका विभिन्न जिल्लाबाट भक्तजन आएको स्थानीयवासीले वताए । चैत्राष्टमी अर्थात् चैतेदसैँमा नुवाकोटका विभिन्न देव देवी मन्दिरहरुमा विशेष रुपमा पूजाआजा तथा बलि हुने गर्दछ । देवी मन्दिरमा बोका, राँगा, कुखुरालगायतका बलि चढाउने परम्परासमेत रहेको छ ।

चैते दशैंको अवसरमा एतिहासिक बेलकोटगढी १० मा अवस्थित निरन्जना भगवतीमा विभिन्न कार्यक्रम गरिएको छ । चैत्रे दशैंबाट नया नगरा र वानाको विधिवत् शुभारम्भ समेत गरिएको छ । सामरीको भ¥याङभुरुङस्थित सरस्वती मन्दिरमा गत वर्षको भन्दा यस वर्ष धेरै भक्तजन आएको स्थानीयवासीले वताए ।

मन्दिरमा भक्तजनहरुको सुरक्षा प्रवन्धका लागि सुरक्षाकर्मी परिचालन गरिएको थियो । सो मन्दिर सदियौं पुरानो रहेको र प्रत्येक वर्षको चैत्र र कार्तिक दुई महिना विशेष मेला लाग्ने गरेको स्थानीयवासी जगतवहादुर तामाङले वताए । मन्दिरमा पुजाआजा गर्नका लागि हिन्दु तथा वौद्ध धर्म मान्ने सर्वसाधारण पुगेका थिए ।


















































