विद्यालय, शिक्षक, विद्यार्थीलाई एकैपटक सम्मान

– बेलकोटगढी नपाद्वारा शैक्षिक उपकरणसमेत प्रदान
लोकखवर शिक्षा संवाददाता
२०८२ चैत्र २१, शनिबार २२:४२

बिदुर – नुवाकोटको पुर्वी भेगमा रहेको बेलकोटगढी नगरपालिकाले एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय, शिक्षक तथा विद्यार्थीहरूलाई पुरस्कारसहित सम्मान गरेको छ । उत्कृष्ट नतिजा ल्याएका विद्यालयलाई शैक्षिक उपकरणसमेत प्रदान गरिएको छ । बेलकोटगढी नपाको कार्यालय बाघाखोरमा शुक्रबार आयोजित कार्यक्रमकाबीच एसइई परीक्षा २०८१ मा उत्कृष्ट नतिजा ल्याएका ९ वटा विद्यालयबाट शतप्रतिशत नतिजा ल्याउन सफल ६० जना विषयगत शिक्षकलाई विशेष सम्मान गरिएको छ ।

साथै उत्कृष्ट जीपीए हासिल गरेका ५ जना विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ । उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरु सबै महादेव मावि रातमाटेका विद्यार्थीहरू रहेका छन् । पुरस्कृत भएकाहरुमा कविशा रिमाल (प्रथम), दिपास्ना दाहाल (द्वितिय), हरिशरण न्यौपाने (तृतीय), निर्देश नेपाल र कृतना लामिछाने (चौंर्थो)लाई सम्मान गरिएको हो ।

कार्यक्रममा मेयर जगतबहादुर गुरुङ र उपमेयर शिवप्रसाद दाहाललगायतले विद्यालय, विद्यार्थी तथा शिक्षकलाई सम्मान तथा पुरस्कृत गरेका हुन् । गत वर्ष उत्कृष्ट नतिजा दिने विद्यालयहरूमा कल्याणी माविले ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै वेलकोटगढी नपामै प्रथम भएको थियो । सो विद्यालयलाई एक थान ल्यापटप र एक थान प्रिन्टरसमेत प्रदान गरिएको छ । पञ्चकन्या मावि बेलकोटगढी १० द्वितिय भएको थियो ।

बेलकोटगढी १ मा रहेको आरुखर्क मावि तेस्रो भएको थियो । बेलकोटगढी ९ मा रहेको महामाया मावि चौथो र बेलकोटगढी ५ मा रहेको पञ्चासे मावि पाँचौ उत्कृष्ट विद्यालयमा नतिजा ल्याएको थियो । नपाद्वारा पुरस्कृत हुने अन्य थप विद्यालयहरुमा महादेव मावि रातमाटे, सुर्यमती मावि रहेका छन् । कार्यक्रममा प्रमुख अतिथि मेयर जगतवहादुर गुरुङले शिक्षामा अव आधुनिकता र प्रविधियुक्त शैली आवस्यक रहेको वताए ।

उनले वेलकोटगढी नपाले शिक्षा क्षेत्रको विकासका लागि विभिन्न गतिविधहिरु गरिरहेको उल्लेख गर्दैै उत्कृष्ट विद्यालयहरुलाई गुणस्तरीयतामा अझै सुधार गर्नतर्फ लाग्न आग्रह गरे । कार्यक्रममा पुरस्कृत विद्यालय तथा शिक्षकहरुले नपा कार्यालयको सम्मानप्रति आभार व्यक्त गर्दै यसवाट हौसला मिलेको जनाउंदै आगामी दिनहरूमा पनि अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता जनाएका छन् ।

बेलकोटगढी नपाको शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा भएको कार्यक्रममा उपमेयर शिवप्रसाद दाहालले यस कार्यले सम्पुर्ण बिद्यालय र विद्यार्थीहरुमा शैक्षिक प्रतिस्पर्धाको भावना बढ्ने र अझै राम्रो नतिजाको लागि अगाडि बढ्ने बिश्वास सहितको अपेक्षा रहेको वताए । कार्यक्रममा उत्कृष्ट बेलकोटगढी नपाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरे, शिक्षा शाखाका प्रमुख, अन्य शाखाहरुका प्रमुख तथा कर्मचारी, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुसहित अनय जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।


सर्वाधिक रुचाइएको