शिवपुरीमा शिक्षामा साविक कार्यतालिका नै तय
बिदुर– शिक्षामा साविककै कार्यतालिका मजवुत रहेको ठहर गर्दै नुवाकोटको शिवपुरी गाउँपालिकाले पठनपाठन गर्न निर्देशन दिएको छ । चालु शैक्षिक सत्र २०८३ का लागि वैशाख १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन सुरु गर्न गापाले सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको हो ।

नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार गरिएको शैक्षिक कार्य अनुसार शैक्षिक सत्र ढिलो सुरु हुने र सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्थाले विद्यालयको शैक्षिक गतिविधिमा असर पर्ने देखिएको उल्लेख गरिएको शिवपुरी गापा अध्यक्ष गोविन्दप्रसाद थपलियाद्वारा जारी सूचनामा उल्लेख छ । संघीय सरकारको निर्णयका कारण शिक्षक, विद्यार्थी तथा अभिभावकबीच अन्योलता सिर्जना भएको जनाइएको छ ।

उक्त अवस्थालाई मध्यनजर गर्दै गाउँ शिक्षा समितिको बैठकले यहि वैशाख १५ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने तथा आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । गाउँपालिकाले सबै सामुदायिक विद्यालयलाई भर्ना प्रक्रिया तत्काल सुरु गरी नियमित रूपमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।











































