उत्तरगयामा वडा कार्यालय निर्माण

– भवनको उद्घाटन, दैनिक कार्य सुरु
लोकखबर
२०८३ जेष्ठ २, शनिबार ००:०३

बिदुर – नुवाकोटसंगै जोडिएको रसुवाको उत्तरगया गाउँपालिका ५ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । माझगाँउमा नवनिर्मित उत्तरगया ५ वडा कार्यालयको भवनको उद्घाटन गरिएको हो । नवनिर्मित भवनबाट दैनिक कार्य सम्पादन सुरु गरिएको छ ।

यसवाट सर्वसाधारणलाई सुविधाका पुगेको भवनकोे उद्घाटन गर्दै उत्तरगया गापा अध्यक्ष माधवप्रसाद अर्यालले वताए । अध्यक्ष अर्यालले स्थानीय सरकारलाई नागरिकमैत्री, व्यवस्थित र प्रभावकारी बनाउने अभियान अन्तर्गत आधुनिक सुविधा सम्पन्न भवन निर्माण गरिएको बताए ।

नयाँ भवन सञ्चालनमा आएपछि वडा कार्यालयबाट प्रदान गरिने प्रशासनिक सेवा, कृषि सेवा तथा पशु सेवावाट सर्वसाधारण लाभान्वित हुने गापा उपाध्यक्ष चमेली गुरुङले जानकारी दिइन् । यस भवनबाट वडा कार्यालयको दैनिक प्रशासनिक सेवा, कृषि तथा पशु सेवा सञ्चालनमा आएको वडाध्यक्ष यमनाथ आचार्यले जानकारी दिए ।

वडासचिव रामहरी आचार्यको अनुसार भवन निर्माणसंगै स्थानीय नागरिकले एउटै स्थानबाट सहज रुपमा विभिन्न सरकारी सेवा प्राप्त गरेका छन् । यसअघि सीमित संरचना र साँघुरो कार्यकक्षका कारण सेवा प्रवाहमा असहजता हुँदै आएकोमा अब नयाँ भवनले सेवाग्राहीलाई थप सहज, छिटो तथा व्यवस्थित सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । स्थानीय तहको पूर्वाधार विकाससँगै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले निर्माण गरिएको यो भवन उत्तरगया गा–५ का नागरिकका लागि महत्वपूर्ण उपलब्धिको रुपमा हेरिएको छ । उत्तरगया पर्यटकिय गापा हो ।


सर्वाधिक रुचाइएको