कागजपत्र फिर्ता लैजान अनुरोध
बिदुर– विभिन्न समयमा नियन्त्रणमा लिइएका सवारी सम्वन्धि कागजपत्र फिर्ता लैजान नुवाकोट ट्राफिकले सम्वन्धि वयक्तिलाई अनुरोध गरेको छ । १० दिनभित्र जरिवाना तिरेर कार्यालय वा मातहतका अन्य शाखाहरूबाट कागजपत्र फिर्ता लैजान आग्रह गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले विभिन्न समयमा यातायात तथा चालकलाई कारबाहीका क्रममा नियन्त्रणमा लिइएका सवारी चालक अनुमति पत्र (लाइसेन्स) र सवारी दर्ता किताब (ब्लूबुक) लगायतका कागजपत्रहरू फिर्ता लैजान सवारी चालक तथा धनीहरूलाई आग्रह गरेको हो ।

कार्यालयले एक जरुरी सार्वजनिक सूचना जारी गर्दै ट्राफिक नियम उल्लंघन गरेबापत २४ घण्टे पुर्जी पाएर पनि तोकिएको समयभित्र जरिवाना रकम दाखिला नगर्नेहरूलाई लक्ष्यित गर्दै उक्त आग्रह गरेको हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम ट्राफिक चेकिङका क्रममा कारबाहीमा परेकाहरुलाई उक्त अनुरोध गरिएको हो । हालसम्म आफ्नो कागजपत्र लिन नआएका व्यक्तिहरूलाईे १० दिनभित्र जरिवाना बुझाएर कार्यालय वा मातहतका अन्य शाखाहरूबाट कागजपत्र फिर्ता लैजान आग्रह गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक विनोद ढकालको भनाई छ ।

जरिवाना तिर्न बाँकी रहेका सम्पूर्ण सवारी चालक तथा धनीहरूलाई १० दिनभित्र आफुले कानूनी दायित्व पूरा गरी सम्भावित निलम्बन र थप झन्झटबाट बच्न ट्राफिक कार्यालयले अनुरोध गरेको छ । प्रहरी निरीक्षक विनोद ढकालद्वारा हस्ताक्षरित उक्त सूचनामा तोकिएको १० दिनको समयावधिभित्र पनि जरिवाना नबुझाई कागजपत्र फिर्ता नलगेमा कानूनी रूपमा थप कदम चालिने सूचित गरिएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा (५) बमोजिम त्यस्ता कागजपत्रहरू बढीमा १ महिनासम्मका लागि निलम्बन गर्न सकिने कानूनी व्यवस्था रहेकाले सोही प्रक्रिया अनुसार कारबाही अगाडि बढाइने ट्राफिक प्रमुख ढकालले वताए ।











































