समुदायमा आधारित पुर्नस्थापना कार्यक्रम
बिदुर– अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकहरूको लागि नुवाकोटको चारघरेमा परिचयपत्र वितरण शिविर गरिएको छ । समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्तर्गत विदुर नगरपालिका १२ गौरीबेसीमा उक्त कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा ६१ जनालाई जेष्ठ नागरिक परिचयपत्र, एक जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको आयोजक उद्यमशिल तथा सिप विकास अपाङ्ग संघका अध्यक्ष रामप्रसाद धमलाले जानकारी दिए । उनका अनुसार विदुर नपा महिला तथा बालबालिका शाखाको सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।

समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्तर्गत “परिचयपत्र वितरण शिविर” वडा कार्यालयमा सम्पन्न गरिएको हो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिका लागि त्रिशूली अस्पतालका मेडिकल अधिकृत डा. कैलाश विश्वकर्मालगायत स्वास्थ्यकर्मी तथा सम्बन्धित सरोकारवालाको सिफारिसका आधारमा तथा ज्येष्ठ नागरिकका लागि आवश्यक कागजातका आधारमा परिचयपत्र उपलब्ध गराइएको हो ।

सो कार्यक्रममा बिदुर नपाका प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेल, योजना शाखा प्रमुख हरिप्रसाद प्याकुरेललगायतले गाउंमा अपांगता भएकान तथा ज्येष्ठ नागरिकहरुको सुविधाका लागि कार्यक्रम गरिएको वताए । बिदुर नपाको सहयोगमा आगामी दिनमा घुम्ती शिविर, अभिमुखिकरण तथा जिविकोपार्जनका सामग्री वितरण कार्यक्रम समेत सञ्चालन गरिनुका साथै लक्ष्यित वर्गलाई सेवाको लाभ लिन बिदुर नपाले अनुरोध गरेको छ ।

















































