सुर्यगढी गापा पूर्ण खोप सुनिश्चितता
बिदुर – सूर्यगढी गाउँपालिकामा रहेको मापदण्ड अनुसारका सवै वालवालिकाहरु पुर्ण खोपको पहुंचमा भएको सुनिश्चित गरि सो गापालार्य पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । गापा कार्यालय चोकदेमा आयोजित विशेष कार्यक्रममा उक्त घोषणा गरिएको हो । सूर्यगढी गापालाई पालिका स्तरीय पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम अन्तर्गत यस वर्ष पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

सुर्यगढी गापा स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सो गापाका ६ वटै वडाका सम्पूर्ण मापदण्ड पुगेका बालबालिका नियमित खोप सेवाको पहुँचमा रहेको सुनिश्चितता गरिएको जानकारी दिइएको हो । सुर्यगढी गापाका प्रमुख प्रशासकीय अधिकृत शैलेशकिरण राईचाम्लिङले पालिकाभित्र रहेका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रम अन्तर्गतका आवश्यक खोप प्राप्त गरिरहेको बताए । उनले यस उपलब्धिलाई दिगो बनाउन सबै सरोकारवाला निकायको निरन्तर सहकार्य आवश्यक रहेका पनि वताए ।

उनले खोप कार्यक्रम बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा पनि कुनै बालबालिका खोप सेवाबाट वञ्चित नहुने गरी अभियानलाई थप प्रभावकारी बनाइनेसमेत वताए । कार्यक्रममा जनस्वास्थ्य कार्यालय नुवाकोटकी प्रमुख डा. अञ्जु कार्कीले स्वास्थ्य सेवामा सो गापाले गरेको कार्यक्रमको सकारात्मक मुल्यांकनसमेत भएको प्रशंसा गरिन् । कार्यक्रममा स्वास्थ्य सम्वद्र्धन कार्यक्रममा भुमिका निभाएका शाखा तथा कर्मचारीहरुलाई सम्मानितसमेत गरिएको छ ।

कार्यक्रममा खोप अधिकृत अमृत महर्जन, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि, पालिकाका स्वास्थ्यकर्मी, विद्यालय नर्स, महिला स्वास्थ्य स्वयंसेविका लगायतको सहभागिता रहेको थियो । पूर्णखोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमले बालबालिकालाई विभिन्न सरुवा रोगबाट सुरक्षित राख्न, समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न तथा स्वस्थ्य समाज प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्य लिइएको छ । सुर्यगढी नुवाकोटको सदरमुकामसंग जोडिएको गापा हो ।

















































