संरक्षण पोखरी तथा मुहान निर्माण

– सामुदायिक उपभोक्ताहरुलाई सुविधा
लोकखबर
२०८३ जेष्ठ १४, बिहीबार ००:४३

बिदुर – सामुदायिक वन उपभोक्ताहरुको सुविधाका लागि पहिलो पटक नुवाकोटमा संरक्षण पोेखरी तथा पानीको मुहान संरक्षण योजना निर्माण गरिएको छ । यसवाट सयौं उपभोक्ताहरुलाई सुविधा पुगेको छ । डिभिजन वन कार्यालय नुवाकोटले विभिन्न वन क्षेत्रमा सिमेन्टको प्रयोग विना कलात्मक शैलीमा प्राकृतिक ढुङ्गा र माटो प्रयोग गरी संरक्षण पोखरी र पानीको मुहान संरक्षण कार्य निर्माण अभियान सम्पन्न गरेको छ ।

चालु वर्षमा पांच वटा संरक्षण पोखरी र ६ वटा पानीको मुहान संरक्षण गरि निर्माण सम्पन्न गरिएको डिभिजनल वन अधिकृत प्रदीपनाथ शर्माले जानकारी दिए । उनका अनुसार नुवाकोटका ६ वटै सव–डिभिजन वन कार्यालय अन्तर्गतका संरक्षण पोखरी निर्माण गरिएका हुन् । जसअन्र्तगत बिदुर नगरपालिका ३ स्थित पन्चकन्या सामुदायिक वन, विदुर १० स्थित पात्ले सामुदायिक वन, म्यागङ गापा ३ स्थित कल्लेरी सामुदायिक वन, तादी ५ स्थित सौरेनी सामुदायिक वन र ककनी ५ स्थित निगाले कोषडांडा सामुदायिक वनमा संरक्षण पोखरी निर्माण गरिएको हो ।

ति प्रत्येक पोखरीहरु क्रमशः एकलाख ८० हजार रुपैयाको लागतमा निर्माण सम्पन्न गरिएको हो । यसका साथै पानी मुहान संरक्षणतर्फ विदुर नपा ८ स्थित अदमारा पिडालुवारी सामुदायिक वन, बिदुर १० को पात्ले सामुदायिक वन, बेलकोटगढी नपा ३ स्थित पोखरी श्रृजनशील सामुदायिक वन, ककनी २ स्थित हवेली सामुदायिक वन, म्यागङ ६ स्थित धनेश्वरी सामुदायिक वन र शिवपुरी ५ स्थित मजुवाभुमे सामुदायिक वन रहेका छन् । ति प्रत्येक वनमा ५०/५० हजार रुपैयाको लागतमा पानी मुहान संरक्षण योजना सम्पन्न गरिएका हुन् ।

सिमेन्टको प्रयोग विना कलात्मक शैलीमा प्राकृतिक ढुङ्गा र माटो प्रयोग गरी संरक्षण पोखरी र पानीको मुहानले वर्षाको पानी संकलन गरी वन्यजन्तु, चराचुरुङ्गी तथा वनस्पतिलाई आवश्यक पानी उपलब्ध गराउनुका साथै माटोको कटान (भू–क्षय) रोक्न, भू–जल पुनर्भरण गर्न तथा सुख्खा मौसममा पानीका स्रोत संरक्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने डिभिजनल वन अधिकृत प्रदीपनाथ शर्माको भनाई छ । उनका अनुसार थोरै लागतमा निर्माण गर्न सकिएकाले सो अभियानबाट स्थानीय समुदायले सामुदायिक पक्षको लाभ समेत प्राप्त गर्नेछन् । डिभिजन वन कार्यालय नुवाकोटले यस वर्ष पहिलो पटक विभिन्न सव–डिभिजन वन कार्यालय अन्तर्गतका वन क्षेत्रमा सिमेन्टको प्रयोग विना कलात्मक शैलीमा प्राकृतिक ढुङ्गा र माटो प्रयोग गरी संरक्षण पोखरी निर्माण अभियान सञ्चालन गरेको हो ।


सर्वाधिक रुचाइएको