पर्यापर्यटन पार्कमा वृक्षरोपण

– जनप्रतिनिधि तथा कर्मचारीले संयुक्त रुपमा रोपे विरुवा
लोकखबर
२०८३ जेष्ठ १४, बिहीबार २३:०९

बिदुर – विरुवा रोपेर वातावरण संरक्षणको योजनासहित नुवाकोटको पर्यापर्यटन पार्कमा विभिन्न प्रजातीका विरुवा सामूहिक रुपमा रोपिएका छन् । १७ औं गणतन्त्र दिवसको अवसरमा जनप्रतिनिधि तथा कर्मचारीहरुले संयुक्त रुपमा विभिन्न प्रजातीका विरुवा रोपण गरेका हुन् । विदुर नगरपालिका १० स्थित पर्यापर्यटन पार्कमा कल्किफुल, सिता अशोका, ज्याकरण्ड, कपुर, हाईव्रिड गुल्मोहर जातका १७ प्रजातीका विरुवाको वृक्षरोपण गरिएको हो ।

डिभिजन वन कार्यालय र भू तथा जलाधार व्यवस्थापन कार्यालय नुवाकोटको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा विदुर नपाका मेयर राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, डिभिजनल वन अधिकृत प्रदीपनाथ शर्मा, वरिष्ठ भू तथा जलाधार व्यवस्थापन अधिकृत महेश पौडेललगायत विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, त्रिशूली अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकी, बिदुर १० का वडाध्यक्ष गणेशकुमार नेपाल, वन अधिकृत कमल घिमिरे तथा पार्क व्यवस्थापन समितिका सदस्यहरुले विरुवा रोपण गरेका थिए । उक्त पार्कको चारैतर्फ फूल–फलफूलको विरुवा लगाई हरियाली बनाउने लक्ष्य अनुसार कल्किफुल, अशोका, ज्याकरण्ड, कपुर, हाईव्रिड गुलमोहर लगायतका विभिन्न जातका फूलका् विरुवाको वृक्षरोपण गरिएको मेयर राजन श्रेष्ठको भनाई छ ।

पार्क क्षेत्रलाई हरियाली तथा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित विभिन्न प्रजातिका फूल तथा विरुवाहरू रोपिएको डिभिजनल वन अधिकृत प्रदीपनाथ शर्माको भनाई छ । स्थानीय तह, सरकारी कार्यालय र स्थानीय समुदायको सहकार्यमा सञ्चालन गरिएको उक्त अभियानले पार्कलाई वातावरणमैत्री तथा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न थप टेवा पुग्ने अपेक्षा गरिएको छ । कार्यक्रममा सामुदायिक वन संरक्षणको अभियानसमेत सन्चालन गरिएको छ ।

 


सर्वाधिक रुचाइएको