यस्ता सेवा पाइन्छ हेटौंडाको यातायात कार्यालयबाट

लोकखबर
८ जेष्ठ २०७६, बुधबार १३:१६

मकवानपुर । सवारी चालक अनुमति लिने लगायतका कार्य मकवानपुरको हेटौंडाबाटै शुभारम्भ गरिएको छ । प्रदेश ३ को यातायात व्यवस्था सेवा कार्यालयले हेटौंडा ११ थानाभर्‍याङबाट सेवा कार्य सुरु गरिएको हो ।

यातायात सेवा कार्यालय सञ्चालनमा आएसंगै सवारी चालक अनुमतीपत्र नवीकरण गराउँनका लागि बीरगन्ज र काठमाण्डौ धाउँदै आएका सेवाग्राहीलाई अब सहजता भएको छ । सेवा सुभारम्भको पहिलो दिन आज २६ जनालाई स्मार्ट कार्डको सवारी चालक अनुमती पत्रको नवीकरण गरेर प्रदान गरिएको हो ।

यातायात सेवा कार्यालयले नयाँ सवारी दर्ता, कर नवीकरण, सवारी पन्जीकरण, रुटपरमिट नवीकरण, जाँच पास लगायतका सेवा दिने कार्यालयका शुरेस कुमार चपाईले जानकारी दिए ।

प्रदेश नम्बर ३ का मुख्यमन्त्री तथा भौतिक पूर्वाधार विकाश मन्त्री डोरमणि पौडेलले माधव अधिकारी, रमेशकुमार उप्रेती, ऋषिराम घिमीरे लगायतलाई सवारी चालकको नवीकरणपत्र हस्तान्तरण गरे ।

सेवा शुभारम्भ गर्दै मुख्यमन्त्री पौडेलले यातायात कार्यालयबाट सर्वसाधारण समस्यामा परेको गुनासो आफूलाई आइरहेकाले आगामी दिनमा त्यस्तो गुनासो आउँन नदिने बताए । उनले यातायात क्षेत्रमा कसैले पनि औला नठड्याउने गरी काम गर्न प्रदेश सरकारले काम थालेको समेत बताए। काठमाण्डौं, वीरगन्जमा रहेका यातायात कार्यालयबाट गुनासो आएजस्तो हेटौंडास्थित यातायात सेवा कार्यालयबाट गुनासो नआउनेमा उनी विश्वस्त भए । सवारी अनुमतिपत्रको नवीकरण कार्य चुनौतीका बिच शुभारम्भ गरिएकाले निरन्तरता दिन समस्या आएपनि आफूहरुको सक्रियता रहने उनले बताए । ‘संघीयतालाई पूर्ण रुपमा कार्यान्वयन गर्न नसकिरहेको अवस्थामा यस्ता सेवालाई निरन्तरता दिन पनि समस्या हुनसक्ला ।’ मुख्यमन्त्री पौडेलले भने,‘अब यातायात क्षेत्रलाई पूर्ण रुपमा सुधार गरेर अघि बढाइने छ ।’ सफलतापूर्वक काम सम्पादन गर्नका लागि सबै सरोकारवालाको सहयोग आवश्यक पर्ने उनको भनाई छ ।

कार्यक्रममा प्रदेश ३ को भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कौशलकिशोर झा, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष गोकर्ण पराजुली लगायतले हेटौंडामा सुरु गरिएको यातायात सेवा कार्यालयले सेवाग्राहीलाई सहयोग पुग्ने बताए ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*