गुडिरहेको गाडीले हाइटेन्सन लाइन छुँदा २ जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा विद्युतीय सामग्री बोकेर हिडीरहेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीको कोगटेखोला नजिक गुडिरहेको ट्रकमा करेन्ट लाग्दा सिन्धुलीको तीन पाटन ९ का चालक २८ वर्षिय वीरबहादुर मगर र नुवाकोटको बेलकोटगढी गाउँपालिका ७ का ३५ वर्षीय विशाल तामाङको मृत्यु भएकोे मकवानपुर प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाइते हुनेमा सिन्धुली तीन पाटन ९ का २५ वर्षीय गोपाल रामुनी र दाङ घर भइ ललितपुर बस्दै आएका ४५ वर्षीय महेश बस्नेत रहेका छन् । गम्भीर घाइते भएकाहरुलाई उपचारको लागि काठमाडौं पठाइएको मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
बागमतीको पानी प्रयोग गरी विद्युत उत्पादनको तयारी गरिरहेको इन्द्रसरोबर गाउँपालिकाको सिस्नेरीस्थित माण्डु हाइड्रोपावरका लागि विद्युतीय सामग्री बोकेर आयोजनास्थलतर्फ गइरहेको ना ७ ख ९३२६ नम्बरको ट्रकले ११ हजार भोल्टेजको हाइटेन्सन लाइनमा छुँन पुगी करेन्ट प्रवाह भएको थियो ।