इद उल फितर मनाइदै, यसरी मनाइन्छ यो पर्व

लोकखबर
२२ जेष्ठ २०७६, बुधबार ०५:४३

मकवानपुर । मकवानपुर लगायत देशभर आज इदुल फितर पर्व मनाइदैछ । इस्लाम धर्मावलम्बीको महान पर्व इल उल फितरका दिन बिहानै नुहाइधुवाई गरी नयाँ लुगा लगाइ मस्जिद तथा खुल्ला ठाउँमा जम्मा भइ सामूहिक प्रार्थना गर्ने गरिन्छ ।

एक महिनासम्म चल्ने व्रत रमजानको समापन गर्दै यो पर्व मनाइन्छ । आजको दिन इस्लामिक पात्रो हिजरी सम्वतको नवौं महिनामा रमजान पर्दछ । यो महिनाभर दिनभरी व्रत (रोजा) बस्ने गरिन्छ ।

लामो उपवास बसेर व्रत अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबीच खुसी साटासाट गरी भाइचारा अभिवृद्धि गर्न सहयोग पुर्याउने पर्व भएकाले मुसलमान समुदायमा विशेष महत्व छ ।

इदुल फितरमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचत, साढे सात तोला सुन वा ५२ तोला चाँदी भए त्यस बराबर चालु बजार भाउ अनुसारको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख छ । यसरी दान गरिएको नगद वा जिन्सी दीनदुःखी एवम् गरिबलाई बाँडिन्छ । यसलाई जकात भनिन्छ ।

इद उल फितरमा प्रत्येक व्यक्तिले आफ्नो गच्छे अनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सत्कार फितर भनिन्छ । यो दान आमाको पेटमा आएको बच्चाको पनि गरिनुपर्छ भन्ने नियम छ । यो दान पनि दीनदुःखी र गरिबलाई नै दिइन्छ ।

इद उल फितरको बिहान सूर्योदयअघि पढिने नमाजलाई फजर भनिन्छ । हातमुख (ओजु) धोएर फजर नमाज पढिन्छ । स्नान गरेर नयाँ कपडा पहिरिई मस्जिद, इदगाह (खुला ठाउँ) मा गएर विशेष नमाज पढिन्छ ।

प्रतिकृया

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*