अन्तरबिद्यालय कविता वाचन प्रतियोगिता
बिदुर -विद्यार्थीहरुलाई साहित्य सिर्जनामा जागरुक गराउने उद्धेश्यले नुवाकोटमा कविता लेखन तथा वाचन प्रतियोगिता गरिएको छ । यसले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमासमेत जोड दिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटले २१३औँ भानु जयन्तीको सन्दर्भमा अन्तरविद्यालय कविता प्रतियोगिता सम्पन्न गरेको हो ।

प्रतियोगितामा नुवाकोट ग्लोरी बोर्डिङ स्कुल सूर्यगढी गापा –५ की छात्रा सदिक्षा भट्टराई प्रथम, सेई बोर्डिङ स्कुल, लिखु गापा–६ की राशिका जिसी द्वितीय भइन् ।पायोनियर बोर्डिङ स्कुल, विदुर–७ तुप्चेकी निष्मा रिजालले तृतीय तथा सुभेनियर बोर्डिङ स्कुल, बट्टारकी सुलक्षणा कँडेलले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । नेशनल बेथेल एकेडेमीमा सन्चालित कार्यक्रम प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्याब्सन नुवाकोटका अध्यक्ष अधिकारीले नेपाली साहित्यको संरक्षण र प्रवद्र्धनसँगै विद्यार्थीहरूको अन्तरनिहित प्रतिभा उजागर गर्न आगामी दिनमा प्याब्सन नुवाकोटले विभिन्न साहित्यिक संस्थासंगको सहकार्यलाई थप सुदृढ बनाइने बताए । कार्यक्रममा बालसाहित्य सर्जक अनुराधा शर्मा, साहित्य सङ्गम नुवाकोटकी अध्यक्ष सुमित्रा सुमी, प्याब्सनका पदाधिकारी तथा विभिन्न विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।













































